काठमाडौं १६ माघ । ऊर्जामन्त्री दीपक खड्काविरुद्धको उजुरीमाथि छलफल गर्नका लागि बोलाइएको प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठक स्थगित भएको छ । कोरम नपुग्दा बुधबार साढे ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको समिति सभापति दीपकबहादुर सिंहले जानकारी दिए ।
समितिमा कांग्रेसका ८ जना सांसद सदस्य रहेकोमा दुईजना मात्रै उपस्थित भए । कांग्रेसका राजेन्द्र बजगाईं र कल्पना चौधरी मात्रै उपस्थित भए भने अन्य पार्टीका सांसदहरूको पनि न्यून उपस्थिति रह्यो ।
२६ सदस्यीय समितिमा १२ जना मात्रै सांसदको उपस्थिति थियो । कांग्रेसका सांसदहरू पनि हाजिरी लगाएर एजेन्डामा प्रवेश नगर्दै बाहिरिएका थिए । कांग्रेसका सांसदहरू अमबहादुर गर्बुजा, दिनेशकुमार यादव, प्रतिमा गौतम, मैना कार्की, शंकर भण्डारी र सीता गुरुङ अनुपस्थित रहे ।
मुगु कर्णाली र किमाथांका जलविद्युत आयोजना ठेक्का प्रक्रियामा भएका अनियमितताबारे समितिमा परेका उजुरीमाथि छलफल गर्न बैठक बोलाइएको थियो । यी आयोजना ठेक्का लगाउनका लागि मन्त्री खड्काले अनियमितता गरेको आरोप लगाएर समितिमा उजुरी परेको थियो ।
समितिको बैठकमा अधिकांश एमालेका सांसदहरूको उपस्थिति थियो । एमाले सातजनामध्ये ५ जनाको उपस्थिति थियो । एमालेका सांसद ठाकुर गैरे, गोकर्ण बिष्ट, प्रेमबहादुर महर्जन, निर्मला कोइराला र दयालबहादुर शाही उपस्थित थिए । माओवादीका तीनमध्ये एकजना माधव सापकोटाको मात्रै उपस्थिति थियो । रास्वपाका दुई सांसद नै संसदीय दलको बैठक बसेकाले उपस्थित भएका थिएनन् ।
राप्रपाका सभापति सिंह र सांसद बिना लामा उपस्थित थिए भने जसपाकी शुशिला श्रेष्ठ उपस्थित थिइन् ।








प्रतिक्रिया दिनुहोस्