काठमाडौं १२ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जिल्ला अदालत कास्कीमा बयान सकिएको छ।
बिहीबार दिउँसोदेखि न्यायाधीश नितिज राईको इजलासमा उनको बयान सुरु भएको थियो। शुक्रबार दिउँसो साढे ४ बजेतिर बयान सकिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए।
रविसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा १ अर्व ५१ करोड ४० लाख रुपैयाँ बिगो कायम गर्दै मुद्दा दायर भएको छ।
लामिछानेलाई सूर्यदर्शन सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार रुपैयाँ बिगो कायम गरिएको छ। सम्पत्ति शुद्धीकरणको कसुरमा झण्डै २८ करोड बिगो कायम गर्दै मुद्दा दायर भएको छ।
यसअघि जिल्ला सरकारी वकिलको रोहबरमा पनि प्रहरीले बयान गराएको थियो। तर यसअघि बयान भएपनि अदालतले छुट्टै बयान गराउँछ र थुनछेक बहसपछि आदेश हुन्छ।
जिल्ला सरकारी वकिल कार्यालयले गत आइतबार दायर गरेको अभियोगमा सहकारीबाट लिएको व्यक्तिगत ऋण एक करोड, स्वेट सेयर लिनको लागि प्रयोग भएको ७५ लाख रुपैयाँ र गोर्खा मिडिया नेटवर्क प्राइभेट लिमिटेडमा उनी खातावाला भएको खातामा गएको रकमको सञ्चालकको हैसियतले हुने सामूहिक दायित्व एक करोड ६२ लाख ६५ हजार रुपैयाँको बिगो कायम गरिएको छ।
लामिछानेले जीबीसँग मिलेमतो गरी सहकारी ऐन, नियमविपरित रकम अपचलन गर्नका लागि कृतिम कारोबार, कृतिम व्यक्ति, काल्पिनिक ठेगाना उल्लेख गरी अपराधबाट उम्कन पूर्व योजना अनुसार झुठा विवरण उल्लेख गरी आर्थिक लाभ लिएको अभियोग छ।
उनले गोर्खा मिडियाबाट विभिन्न कम्पनी तथा व्यक्तिलाई चेकमार्फत भुक्तानी गरेको, सेयर बिक्री गरेर अलग भइसकेको भने पनि त्यसपछि पनि चेकमार्फत भुक्तानी दिएको भेटिएको छ।
रवि र उनकी पत्नी निकिता पौडेलका नाममा रहेको सम्पत्ति पनि जफत गर्न माग गरिएको छ। लामिछानेले इजलासमा पनि यसअघिकै जस्तो बयान दिएका छन्।
सूर्यदर्शन सहकारीबाट आफ्नो नाममा एक करोड ऋण देखाइएको कुरा अहिले मात्र थाहा पाएको, गोर्खा मिडियामा सहकारीबाट रकम ल्याउने कुरा आफूलाई थाहा नभएको बयान दिएका छन्।
गोर्खा मिडियामा रकम के कसरी आयो भन्ने कुरा वार्षिक लेखा परीक्षण प्रतिवेदनको क्रममा लगानीको स्रोत देखाउँदा थाहा पाएको बताएका छन्।
सहकारीको रकम अपचलन गर्नमा आफ्नो संलग्नता नभएको कुरा संसदीय छानबिन विशेष समितिले पेश गरेको प्रतिवेदनमा समेत स्पष्ट भइसकेको उनको बयान छ।
यो कसूरमा कहीँ कतै, कुनै पनि तवरबाट संलग्न नभएको जिकिर उनले गरेका छन्। उनको हस्ताक्षरमा चेक काटिएको विषयमा समेत उनले विश्वासमा हस्ताक्षर गरेर छोडेको खाली चेकहरूको दुरुपयोग भएको बताएका छन्।
अब आइतबारदेखि अन्य प्रतिवादीहरुको बयान हुनेछ। सोमबारसम्ममा सबैका बयान सक्ने र त्यसपछि थुनछेक बहस सुरु गर्ने अदालतको तयारी छ।








प्रतिक्रिया दिनुहोस्