ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थलगत रिपाेर्ट : बाढीपीडित भन्छन् ‘कुकुरसँग बित्छ रात’


एबीसी न्यूज

काठमाडौं १६ असोज ।  हिलाम्मे भुइँमा निता सिजालीले मागेर ल्याएको जुटका बोरा बिच्छ्याउनुहुन्छ । रात परेपछि त्यही बोरामा बाबा, आमा र छोराछोरी लस्करै सुत्नुपर्छ । सुतिरहेको बेला कहिले कुकुर आएर सुत्छन्, कहिले लामखुट्टे कानमा भुनभुनाउन थाल्छन् । कुकुर र लामखुट्टेको डरभन्दा पनि सिजालीलाई छोराछोरीको स्वास्थ्य र सुरक्षाको डरले चिन्तित बनाउँछ ।

आफन्तीको छाप्रोमा आश्रय पाएका सिजालीको परिवार चुक्कुल बिनाको छाप्रोको भुइँमा रात बिताउन बाध्य छन् । “मान्छे र कुकुरमा केही फरक छैन । बाढीले घरबास सबै बगाएपछि अहिले कुकुरसँग रात बित्न थालेको छ । कुकुरलाई धपाउन सकिन्छ, यो वर्षाको समयमा छोराछोरीको स्वास्थ्य, सुरक्षा कसरी गर्ने भन्ने डर लाग्छ”, सिजालीले भन्नुभयो ।

शुक्रबार आएको बाढीले ललितपुरस्थित नख्खु खोला किनारमा रहेको छाप्रो बगाएपछि सिजालीको परिवार विस्थापित बनेको छ । सिन्धुली स्थायी घर भएर काठमाडौँमा मजदुरी गर्ने उहाँको परिवारलाई अहिले न घर जाने अवस्था छ, न यहाँ सुरक्षित बस्ने व्यवस्था नै । बाढीले सबै बगाएर लगेपछि उहाँहरुको शरीरमा एकसरो लुगाबाहेक आफ्नो भन्ने केही छैन । आफन्तीको छाप्रोमा आश्रय पाउनु अहिलेको समयमा सौभाग्य भएको सिजालीले बताउनुभयो ।

खोलाले सुरुको दिन आँगन भिजाएको थियो । केही समयमा पानी सुकेपछि बाढी नआउने विश्वासले उहाँहरु राति मस्त निद्रामा पर्नुभयो । निदाएका बेला अनाचक आएको बाढीले बस्ती बगाएको सिजालीले बताउनुभयो । “खासै पानी नपर्ला भनेर ढुक्कले सुत्यौँ”, उहाँले भन्नुभयो, “खोलाले अचानक झुक्याएर आयो । सबै बगाएर लग्यो ।”

ललितपुरस्थित फूलबारी मार्ग—२५ मा बस्ने नरबहादुर सिजाले मगरको छ जनाको परिवार अलपत्र परेको छ । “कहाँ बस्ने के खाने”, उहाँले प्रश्न गर्नुभयो, “दिनभरि उज्यालोमा डर लाग्दैन । रातपरेपछि खोलामा फेरि बाढी आयो भने छोराछोरी र श्रीमतीको सुरक्षा कसरी गर्ने भन्ने चिन्ताले सताउँछ । रातभरि निद्रै लाग्दैन ।” नख्खुखोला किनारामा छाप्रो बनाएर बस्दै आउनुभएका मगरको परिवार दिनभरि मजदुरी गरेर बेलुका हातमुख जोड्ने स्थितिमा समेत छैन ।

नख्खुखोला किनारमा अस्थायी टहरामा बस्दै आएका चतुरराम माझीलाई यतिबेला गाँसभन्दा बासको चिन्ताले सताएको छ । “वडाले खाना खुवाउँछ तर, कहाँ रात बिताउछाँै भनेर सोध्दैन”, उहाँले भन्नुभयो, “फेरि पानी पर्‍यो भने ओत लाग्ने थलो छैन ।” माझीसँग शरीरमा एकसरो सर्ट र च्यातिएको पाइन्ट मात्रै छ ।

आफन्तीकहाँ आश्रय लिएर रात कटाउँदै आउनुभएका माझीले अहिले राहतको नाममा आश्वासनबाहेक केही नपाएको बताउनुभयो । “सरोकार भएका निकायले आश्वासन मात्र नदिएर तत्काल हामी जस्ता पीडितलाई राहतको व्यवस्था गर्नुपर्छ । यही अवस्था रहिरहे हाम्रो स्वास्थ्यमा पनि समस्या आउन थाल्नेतर्फ सचेत हुनपर्ने आवश्यकता छ”, उहाँले भन्नुभयो ।

ललितपुरस्थित आदिनाथ मार्ग घर भएका आनन्द दासले खोलाले बगाउने चिन्ता हटे पनि घरमा भएका सामान चोरी हुने चिन्ताले सताउन थालेको बताउनुभयो । बाढीले घर डुबानमा परेपछि आमासँगै उहाँलाई हेलिकप्टरले उद्धार गरेर सुरक्षित स्थानमा ल्याएको थियो । आफूहरु सुरक्षित भए पनि घरमा रहेका सामान असुरक्षित भएका भन्दै उहाँले ग्यासको सिलिन्डर चोरी भएको जानकारी पाएको बताउनुभयो ।

“बाढीको हिलो र माटो पसेर ढोका बन्द गर्न मिल्दैन । हिलोले सबै डुबेको छ । राति ग्यास चोरी भएछ”, दासले भन्नुभयो । बाढीले थलिएको बस्तीका सर्वसाधारण सबै त्रासमा रहेका बताउँदै उहाँले सरोकार भएका निकायले तत्काल पीडितलाई उचित बासको व्यवस्था गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

रामेछाप घर भएकी सरस्वती बस्नेत बुधबार डोजरले खन्दै गरेको बस्तीका सामान कोट्याउँदै हुनुहुन्थ्यो । घर र सात वटा गाईसहितको गोठ बगर बनेपछि उहाँको पेट पाल्ने आधार खोसिएको छ । “डोजरले खनिरहँदा केही सामान भेटिन्छ कि भनेर दिनभरि कुरेर बसेँ, केही हात लागेन”, उहाँले भन्नुभयो, “सातमध्ये चारवटा गाई मृत भेटिएका छन् ।” सरस्वतीको परिवारले दुई वर्ष अघि गाईपालन व्यवसाय सुरु गरेको थियो । रु। १४ लाख ऋण लिएर गाईपालन थालेको भन्दै उहाँले लगानीसमेत उठ्न नपाउँदै गाई बगरमा मिसिएका बताउनुभयो ।

“बिमा गरेको १३ दिन मात्र भएको थियो । स्वदेशमा आयआर्जन गरेर जीविकोपार्जन गर्ने योजना बनाएर गाईपालन सुरु गरेका थियौँ । सबै सपना र रु। १४ लाखको लगानी बाढीले बगाएको छ”, सरस्वतीले भन्नुभयो । अब ऋण तिर्नका लागि मुग्लान पस्नुपर्ने उहाँले बताउनुभयो । “दुई चार रुपियाँ कमाएर स्वदेशमा बस्ने रहर पलाएको थियो”, उहाँले भन्नुभयो, “अब केही रहेन । ऋण तिर्न विदेशिनु बाहेक अरु विकल्प पनि छैन ।”

नख्खुखोला किनार घर भएकी निर्मला धामी बगरमा दराज खोज्दै हुनुहुन्थ्यो । पाँच तोला सुनका गहनासहित दराज खोलाले बगाएको भन्दै भेटिन्छ कि भन्ने आशले खोजी गरेको धामीले बताउनुभयो । जीवनभरको कमाइ माटोमा विलीन भएको भन्दै अब कसरी जीविकोपार्जन गर्ने भन्ने चिन्ता लाग्न थालेको उहाँले गुनासो पोख्नुभयो । “बाढीबाट बाँचियो, अब के खाएर जीवन निर्वाह गर्ने”, उहाँले प्रश्न गर्नुभयो, “दसैँको मुखमा सुकुम्बासी हुनुपर्‍यो ।” रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com