ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटकीय याम सुरु हुँदै : पर्यटकीय राजधानीमा यस्तो छ तयारी


एबीसी न्यूज

काठमाडौं २६ भदौ । पोखरा यसै पनि विश्वमाझ परिचित पर्यटन गन्तव्य त हुँदै हो त्यहीँमाथि अहिले पोखराले पर्यटकीय राजधानीको उपमासमेत पाएको छ । पर्यटकीय राजधानी घोषणापछि पोखराले एउटा मुख्य पर्यटकीय याम गुजारिसकेको छ भने अर्को मुख्य पर्यटकीय याम असोजदेखि सुरु हुँदैछ । नेपालमा असोज–मङ्सिर र चैत–जेठलाई मुख्य पर्यटकीय यामका रुपमा लिइन्छ । यी दुई याममा पोखरालगायत देशभरका पर्यटकीय गन्तव्यस्थलमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्छ ।

नेपाल भित्रिने विदेशी पर्यटकमध्ये झण्डै आधासहित लाखौँ आन्तरिक पर्यटकको रोजाइमा पर्ने पोखरामा आउँदो पर्यटकीय याममा थप पर्यटक भित्र्याउने योजना के छन् त रु पर्यटकीय राजधानी हुनुले पोखरामा हुने पर्यटकको आवागमनमा यसपालि वृद्धि होला त रु होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भन्नुभयो, “प्रवर्द्धनात्मक कार्यक्रममा हामी बढी केन्द्रित छौँ, पर्यटकीय राजधानी घोषणा लगत्तै होटलमा छुट अफरसहित विभिन्न प्याकेज सार्वजनिक गरेका थियौँ ।”

उहाँले ‘अफ सिजन’मा होटलहरुले ५० प्रतिशतसम्म छुट दिने गरेको बताउनुभयो । “अहिलेको वर्षायाममा पर्यटक आगमन ज्यादै न्यून रह्यो, आन्तरिक पर्यटक पनि पोखरा–मुग्निल राजमार्गको नाजुक अवस्थाका कारण पोखरा आउन चाहेनन्”, सङ्घका अध्यक्ष सुवेदीले भन्नुभयो, “अब असोज लागेपछि पर्यटक आवागमन बढ्छ, पदयात्राका लागि आउने विदेशी पर्यटक पनि यही याममा बढी आउँछन् ।” उहाँले आन्तरिक पर्यटकलाई पोखरा भित्राउन देशका विभिन्न सहरमा ‘जाऔँ है पोखरा’ कार्यक्रम सञ्चालन गर्ने गरिएको बताउनुभयो ।

भारतीय बजारलाई लक्षित गरी ‘चलिए पोखरा’ र चीनमा पनि सोही प्रकृतिको प्रवर्धनात्मक कार्यक्रम बर्सेनि हुँदै आएको उहाँको भनाइ छ । “पोखरामा धेरैभन्दा धेरै पर्यटक कसरी भित्राउन सकिन्छ भनेर होटल सङ्घलगायत पर्यटन सम्बद्ध सङ्घसंस्थाहरु लागिपरेका छन्”, सङ्घका अध्यक्ष सुवेदीले भन्नुभयो, “पर्यटकीय राजधानी घोषणा भइसकेको सन्दर्भमा पोखराको पर्यटन विकासमा राज्यका नियकाले पनि विशेष ध्यान दिनुपर्छ, पूर्वाधारमा लगानी बढाउनुपर्छ ।”

लामो प्रयास र बहसपछि गत चैत ४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गर्नुभएको थियो । घोषणाका क्रममा उहाँले पोखरा प्राकृतिक, सांस्कृतिक तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गमका रुपमा रहेको उल्लेख गर्नुभएको थियो । प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयका पर्यटन शाखा प्रमुख डम्बर जिसीले पर्यटन पूर्वाधार र प्रवद्र्धनका कार्यक्रम भइरहेको बताउनुभयो । पोखरालगायत यस क्षेत्रका गन्तव्यस्थलको वृत्तचित्र र प्रचार सामग्री तयार पारी प्रकाशन÷प्रसारण गरिएको उहाँको भनाइ छ ।

“आउँदो पर्यटकीय यामलाई लक्षित गरी पोखरामा बृहत् सांस्कृतिक कार्यक्रम गर्ने सोच मन्त्रालयले बनाएको छ, अन्य प्रवर्धनात्मक कार्यक्रम पनि तय गरिएको छ”, उहाँले भन्नुभयो, “पोखराको नयाँ गन्तव्यका रुपमा विकास भइरहेको राउण्ड फेवा–भ्यू फेवा ट्रेकिङ ट्रेलको काम आधा सकिएको छ, यो वर्ष थप ५० लाख बजेट उक्त योजना छ ।” प्रदेश सरकारले बेगनास तालमा क्रुज सिप सञ्चालनको योजना पनि अगाडि बढाएको उहाँले बताउनुभयो । प्रदेश सरकारले आधुनिक बसपार्क निर्माण, विमानस्थलदेखि पृथ्वीचोकसम्म सटल बस सेवा, ध्यान केन्दल निर्माणलगायत पर्यटनलक्षित योजना घोषणा गरेको छ ।

पर्यटन व्यवसायी एवं पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले पर्यटकीय राजधानीका रुपमा विश्व पर्यटन बजारमा पोखराको थप ‘ब्राण्डिङ’ भइरहेको बताउनुभयो । “पोखरा यसै पनि पूर्वाधारसम्पन्न पर्यटन गन्तव्य हो, पर्यटकीय राजधानी घोषणाले पोखराको समग्र विकासमा थप मद्दत पुग्छ, तीनै तहका सरकारको वार्षिक बजेट तथा कार्यक्रममा प्राथमिकता दिनुपर्छ”, उहाँले भन्नुभयो, “यो घोषणाले पोखरा मात्रै नभएर सिङ्गो देशकै आर्थिक समृद्धिमा दूरगामी महत्व राख्छ ।”

पोखरामा उल्लेख्य संख्यामा विदेशी पर्यटक भित्राउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान र चीनसँगको कोरला नाका नियमित सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । पोखरा अन्र्तराष्ट्रिय विमानस्थल उद्घाटन भएको दुई वर्ष बित्न लाग्दासमेत अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पर्यटन व्यवसायी श्रेष्ठका अनुसार पोखराको पर्यटनमा झण्डै छ खर्बको लगानी छ । साधारणदेखि पाँच तारेसम्म गरी झण्डै १२ सय होटल पोखरामा सञ्चालित छन् ।

बहुआयामिक विशेषता र सम्भावनाले भरिएको पर्यटकीय राजधानी पोखराको समग्र विकासमा सरकार र निजी क्षेत्रबीच सहयोग, समन्वय र सहकार्य हुनुपर्ने उहाँको भनाइ छ । पर्यटकीय गन्तव्यको पहिचान तथा प्रचारप्रसार, पर्यटकीय पूर्वाधारको विकास र विविधीकरण, मापदण्ड, सेवाको गुणस्तरलगायत २० सूचकमा टेकेर पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको थियो । उक्र घोषणासँगै पोखराको पर्यटन विकासमा तीनवर्षे, पाँचवर्षे र दीर्घकालीन योजना तय गरिएको छ ।

अल्पकालीन रणनीतिअन्तर्गत पूर्वाधार विकास तथा विस्तार, सांस्कृतिक सम्पदाको प्रवर्धन र ‘ब्राण्डिङ’ तथा बजारीकरणमा जोड दिइएको छ । मध्यमकालीन रणनीतिमा विशिष्टीकृत पर्यटन विकास, बसोबासका विकल्पको विविधीकरण र व्यावसायिक जनशक्तिको उपलब्धतालाई समेटिएको छ । दिगोपना, समावेशिता, विद्युतीय पर्यटनलगायत विषय दीर्घकालीन रणनीतिमा उल्लेख छन् । पर्यटनको राजधानी घोषणा गरेर मात्र नहुने भन्दै पूर्वाधार, सेवाको गुणस्तर, दक्ष जनशक्ति र लगानी विस्तारमा सम्बद्ध पक्षको ध्यान जान जरुरी रहेको पर्यटन विज्ञहरुले बताउँदै आएका छन् ।

के हुन् पोखराका आकर्षण ?

पोखरा हिमाल र तालतलैयाको सहरले चिनिन्छ । हिमशृङ्खलाको अवलोकन, डुङ्गा सयर, अन्नपूर्ण आधार शिविर, मर्दी हिमाललगायतको पदयात्रा, प्याराग्लाइडिङ, जिपलाइन, अल्ट्रालाइट, बञ्जी जम्प, केबुलकार, चरा अवलोकन, विभिन्न सांस्कृतिक मेला, महोत्सलगायत पोखराका पर्यटकीय गतिविधिमा पर्छन् । फेवा, बेगनास, रुपालगायत मनमोहक ताल यहीँ पर्छन् ।

प्राकृतिक, भौगोलिक र सांस्कृतिक विविधतायुक्त सौन्दर्यले पोखरा सुसज्जित छ । प्राचिन कला, सभ्यता र सांस्कृतिक पर्यटनका दृष्टिबाट पनि उत्तिकै वैभवशाली छ पोखरा । यहाँका जातीय पर्व, परम्परा र रीतिरिवाजले पनि पर्यटकलाई लोभ्याउने गर्छ । परम्परा झल्काउने गीत, नाच र झाँकी पोखराका सांस्कृतिक धरोहर हुन् । साहसिक पर्यटन गतिविधिमा पनि पोखराको नाम अघि आउँछ ।

पर्यटकस्तरका पाँच सयभन्दा बढी सुविधायुक्त होटल, पोखरा वरपरका डाँडाकाँडामा रिसोर्ट, घरबास ९होमस्टे०, सुविधायुक्त रेष्टुराँ, कफी सप, बार, लाउन्ज बार, सभा–सेमिनारका लागि सभाकक्ष र प्रदर्शनीस्थल पोखरामा छन् । हवाई र सडक दुवै मार्गबाट सहज रुपमा पोखरा आउजाउ गर्न सकिने सुविधा छ ।

पर्यटकको सहजताका लागि पर्यटक बस, ट्याक्सीलगायतको यातायात सेवा पोखरामा उपलब्ध छ । पर्वतारोहण र पदयात्रामा निस्कने पर्यटकका लागि चाहिने उपकरण, पोशाक आदि किनमेलका लागि पसल र डिपार्टमेन्टल स्टोर पनि पर्याप्त छन् । बैंक, एटीएम सेवा, विदेशी मुद्रा सटहीका लागि काउण्टर उपलब्ध छन् । सङ्कटमा परेका पर्यटकको उद्धार र राहतका लागि हेलिकप्ट सेवासहित स्तरीय अस्पताल पोखरामै सञ्चालित छन् ।

पर्यटकहरुको सेवाका लागि सञ्चालित ट्राभल्स एजेन्सी, ट्रेकिङ एजेन्सीलगायत व्यावसायिक सङ्गठनहरु क्रियाशील छन् । पर्यटन क्षेत्र हेर्ने राज्यका निकाय पनि पोखरामै केन्द्रित छन् । प्रदेश सरकारमा छुट्टै विभागीय मन्त्रालय छ । नेपाल भित्रने विदेशी पर्यटकमध्ये झण्डै आधा पर्यटकले पोखरा घुम्ने गरेको सरकारी तथ्याङ्कले देखाउँछ ।

आन्तरिक पर्यटनको पनि ठूलो हिस्सा पोखराले ओगट्छ । बर्सेनि करिब दस लाख आन्तरिक पर्यटकले पोखरा घुम्ने गरेको अनुमान गरिन्छ । फ्रान्सेली नागरिक मौरिस हर्जगले सन् १९५० मा पहिलोपटक अन्नपूर्ण हिमाल आरोहण गरेसँगै पर्यटनमा बामे सरेको पोखरा ७५ वर्षको दौरानमा पर्यटकीय राजधानी बन्न सफल भएको छ ।

प्रदेश राजधानीसमेत रहेको पोखरा आउँदा आसपासका जिल्लामा रहेका गन्तव्यमा समेत पुग्न सकिन्छ । पोखरामा फेवाताल, बेगनासताल, रुपाताललगायत विश्व रामसार सूचीमा सूचीकृत नौ ताल छन् । पोखरा आउने पर्यटक तालतलैया, हरिया डाँडाकाँडा र हिमाल देखेर लोभिन्छन् । हिमशृङ्खला, अन्नपूर्ण आधार शिविर, पातले छाँगो, विश्व शान्ति स्तुपा, महेन्द्र गुफा, विन्ध्यवासिनी मन्दिर आदि कास्कीका प्रमुख पर्यटकीय गन्तव्य हुन् ।

पोखरादेखि दुई घण्टाको दूरीमा पर्ने बागलुङका गन्तव्यस्थल पनि पर्यटकको रोजाइमा पर्ने गरेका छन् । त्यहाँ कालिका भगवती मन्दिर, ढोरपाटन सिकार आरक्ष, विश्वशान्ति सर्वसिद्धिधाम पञ्चकोट, शालिग्राम सङ्ग्रहालय, घुम्टेको लेक, गलकोट दरबार, गाईघाट झरना, भैरवस्थान मन्दिर, भकुण्डे, गाजाको दहलगायत छन् ।

तिलिचो ताल, अन्नपूर्ण पदमार्ग जस्ता प्राकृतिक सम्पदा, हिमाली जनजीवन र संस्कृतिका कारण मनाङ पर्यटकको रोजाइमा पर्छ । हिमालपारिको जिल्ला मुस्ताङमा प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ, दामोदरकुण्ड, लोमान्थाङ दरबार, प्राचिन गुफा, कलाकृति, ढुम्बा ताल, कागबेनीलगायत चर्चित गन्तव्यस्थल छन् । म्याग्दी पनि प्राकृतिक पर्यटनका दृष्टिबाट अगाडि छ । धवलागिरि हिमाल, धवलागिरि आधार शिविर, पुनहिल, घोरेपानी, रुप्से छहरा, अन्ध गल्छी, खोप्रा लेक, गलेश्वरधाम आदि त्यहाँका मुख्य पर्यटकीय गन्तव्य हुन् ।

पर्वतका पर्यटकीय गन्तव्यमा जलजला, हम्पाल, कालान्जर पर्वत, पञ्चासे, गुत्तेश्वर गुफा, सेतीवेणीलगायत पर्छन् । अग्ला र लामा झोलुङ्गे पुलले पनि पर्वतलाई चिनाउँछ । निजी क्षेत्रको लगानीमा सञ्चालित बञ्जी जम्पलगायत साहसिक पर्यटन गतिविधिले पनि पर्वतको आकर्षण बढेको छ । पर्यटकीय गाउँ सिरुबारी, कालभैरव मन्दिर, आलमदेवी, छायाँक्षेत्र, शाल्मे–डाँडा जस्ता गन्तव्यस्थल स्याङ्जाको पर्यटनका आधार हुन् । राम्दीघाट, मिर्मी जस्ता पर्यटकीय आकर्षणका ठाउँ स्याङ्जामा छन् ।

व्यास क्षेत्र, तनहुँसुर दरबार, देवघाटधाम, बन्दीपुर, ढोरबराहीलगायत धार्मिक तथा पर्यटकीयस्थल तनहुँमा छन् । मौलाकालिका मन्दिर, त्रिवेणी गजेन्द्र मोक्षधाम, देवचुली जस्ता ठाउँ नवलपुरका आकर्षण हुन् । लमजुङमा ऐतिहासिक लमजुङ दरबार, राइनासकोट, इलमपोखरी, घलेगाउँ, भुजुङ गाउँ, काउलेपानीलगायतका पर्यटकीय गन्तव्य छन् । ऐतिहासिक गोरखा दरबार, गोरखा सङ्ग्रहालय, मनकामना मन्दिर, मनाश्लु हिमाल, मनाश्लु संरक्षण क्षेत्र जस्ता गन्तव्यले गोरखाको पर्यटकीय आकर्षण बढाएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पश्चिममा विस्फोटक पदार्थ सेना द्वारा निष्क्रिय

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सम्बन्धित

जेन्जी आन्दोलन : परिवर्तनको नाममा दोहोरिँदै गएको भागभण्डाको राजनीति

लगातार तीन दिन कीर्तिमान बनाएको सुनको भाउ आज सामान्य घट्यो

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com