काठमाडौं २७ असार । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले भोलेन्टियर्स नेसनल नेटवर्क बनाउने घोषणा गरेका छन्।
समाज परिवर्तनको प्रयासलाई सचेत ढंगले अघि बढाउनका लागि पार्टीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेसनल नेटवर्क बनाएर परिचालन गर्न चाहेको ओलीको भनाइ छ।
एमालेले हालै सम्पन्न गरेको राष्ट्रिय महिला भेलामा महिलाहरूलाई मात्रै भोलेन्टियर्सको रूपमा परिचालन गरेको थियो। आइतबार पार्टी मुख्यालय च्यासलमा उनीहरूको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै ओलीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेसनल नेटवर्क बनाउने बताएका हुन्। त्यसमा सहभागी हुनेले जंगी अनुशासनमा रहेर समाजलाई लयमा अघि बढाउन सहयोग गर्ने ओलीको दाबी थियो।
‘हामी जानीबुझी सचेत ढंगले कुनै अलमलमा नपरी, दुविधा नभई अन्धविश्वासमा होइन, विश्वासमा र भ्रममा होइन, स्पष्टतामा यो लोक, यो देश सपार्नका लागि आफ्नो सेवा दिइरहेका छौँ,’ ओलीको भनाइ थियो, ‘विभिन्न संगठनहरूमार्फत खास गरी हाम्रो पार्टी नेकपा एमाले र यसका वरिपरि रहेको जनमतलाई हामीले विभिन ढंगले संगठित गरेर परिचालन गरिरहेका छौँ। र यसले समाज परिवर्तनका लागि सही विचारमा संगठित शक्तिलाई अगाडि बढाइरहेको छ। यस प्रसंगमा स्वाभाविक रुपमा स्वयंसेवा अत्यावश्यक हुन्छ।
अध्यक्ष ओलीले एमालेले यसअघि नै पिपुल्स भोलेन्टियर्स, युथ फोर्सजस्ता संस्थाहरूलाई स्वयंसेवी संगठनको रूपमा परिचालन गरेको पनि स्मरण गरेका थिए।








प्रतिक्रिया दिनुहोस्