काठमाडौं २४ असार । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले संविधान संशोधनको बहानामा आफ्नो नाम रहस्यमयी रुपमा चर्चामा ल्याइएको गुनासो गरेका छन्।
कांग्रेस र एमालेबीच सत्ता गठबन्धन गर्ने क्रममा यी दुई दलले संविधान संशोधन एजेण्डा अघि सारेका छन्। दुई ठूला दलको सहकार्य सत्ताका लागि मात्रै नभई ‘संविधान संशोधन’का लागि पनि भएको कांग्रेस एमालेका नेताहरुको दाबी छ।
कांग्रेसले औपचारिक रुपमा दुई दलको सहकार्य ‘संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मंक व्यवस्था र समावेशीतालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न’ भनेको छ। र, संविधान संशोधनका लागि सुझाव पेश गर्न पूर्वप्रधानन्यायधीश श्रेष्ठको संयोजकत्वमा सुझाव आयोग बनाउने दाबी गरिएको छ।
श्रेष्ठ भने त्यसबारेमा आफूलाई अहिलेसम्म कसैले केही नभनेको र आफ्नो नाम रहस्यमय ढंगले चर्चामा ल्याइएको बताउँछन्।
आइतबार देश सञ्चारसँग कुरा गर्दै श्रेष्ठले भने, ‘म घर बसेको मान्छेलाई कसैले केही सोधेको छैन। मिडियामा मेरो नाम आएको देख्छु। यसको रहस्य तपाईं नै बताइदिनुहोस्। मलाई थाहा छैन।’
उनले दलका नेताहरुले आफ्नो नाम एक वचन नसोधी मनगढन्ते ढंगले लिएको गुनासो गरे। ‘त्यतिकै मेरो धारणा बताउँछन्। साहित्यकारले जस्तो कल्पना गरेर मेरो नाम लिएका छन्, ‘ श्रेष्ठले भने।
उनले दलका नेताहरुले आफ्ना लागि ‘मेरो नाम’ लिएको बताए। श्रेष्ठले भने, ‘उहाँहरु बन्ने जति आफू, चर्चा र अपजस जति हामीलाई दिनुहुन्छ।’
कांग्रेस एमालेले राष्ट्रिय सहमतिको सरकार बनाएर ‘संविधान संशोधन’ गर्ने भने पनि संसदीय अंकगणित र राजनीतिक हिसाबले सहज देखिन्न।








प्रतिक्रिया दिनुहोस्