काठमाडौं २४ असार । नारायणी नदीमा यस पटक इतिहासकै ठुलो बाढी आए पनि तटबन्धका कारण नदी किनारका बस्ती जोगिएका छन् । भरतपुर–१, नारायणगढ निवासी रमेश खड्की नारायणी नदीमा यस पटक आएको बाढी इतिहासकै ठुलो बाढी भएको दाबी गर्नुहुन्छ । नारायणी नदी किनारमा आइतबार बिहानै भेटिनुभएका खड्कीले भन्नुभयो, “मलाई लाग्छ त्यो २०१८ साल थियो । यस्तै प्रकृतिको बाढी आएको थियो । अहिलेको रेडव्रmस चोकमा कच्ची सडक थियो त्यहाँसम्म पानीको छाल आएको थियो ।”
५० वर्षदेखि नारायणगढमै सुनचाँदी व्यवसाय गरी बस्दै आएका विद्यामान शाक्य यस्तो बाढी आफूले अहिलेसम्म नदेखेको बताउनुहुन्छ । उहाँले पुरानो कुरा बिर्सिने र तत्काल भएका घटनालाई ठुलो मान्ने मानवीय स्वभाव भए पनि नारायणी यसरी माथिसम्म उर्लिएको आफूले नदेखेको बताउनुभयो ।
भरतपुर–२, क्षेत्रपुरका नन्दलाल पौडेलको तर्क पनि उस्तै छ । २०३८र३९ सालदेखि भरतपुर–२, मिल्स एरियामा बस्दै आएका उहाँले भन्नुभयो, “नारायणी लिफ्ट सिँचाइमा बाँधबाट नै पानी कटेको मैले अहिले पहिलो पटक देखेँ । हामी नारायणी बढ्यो भनेपछि जोगिन पहिला त्यही ठाउँमा पुग्ने गर्दथ्यौँ ।”
भरतपुर–२, पोखरा बसपार्कका बद्री अधिकारी पनि आफूले यस्तो नदीको पानी माथि उकासिएको यसभन्दा अगाडि कहिल्यै नदेखेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नदी उकासियो या पहिलेको भन्दा पानीको मात्रा बढी भयो रु दुई कुरामा एउटा हुनु पर्छ ।” नदी किनारको दियालो परिवार नामको गैरसरकारी संस्थाको संस्थापकमध्ये एक अधिकारीका अनुसार नदीसँगै जोडिएको उक्त संस्थाको भवन २२ वर्षअगाडि बनेको हो । उहाँले भन्नुभयो, “अहिलेसम्म नदीले भवनको जग हल्लाउला भन्ने हामीले सोचेका पनि थिएनौँ । यस पटक हिजो ४ बजेदेखि रातिसम्म त्राहिमाम् भइयो ।”
स्थानीय बासिन्दाको भनाइलाई आधार मान्दा सामान्यतया यो कुरा पुष्टि हुन्छ । नारायणी लिफ्ट बन्नुपूर्व अधिकांश नारायणगढवासी सोही लिफ्टको मुहान क्षेत्रबाट नारायणी नदी नारायणगढ बजार क्षेत्रमा प्रवेश गर्न सक्ने आकलन गर्दथे । २०३७÷३८ सालतिर बनेको उक्त लिफ्ट सिँचाइको क्षेत्रमा यसअघि यसरी पानी नाघेर गएको देखिएको थिएन ।
आइतबार बिहान ७ः१० बजे गरिएको पानीको सतह मापनमा सतह केही कम देखिएको छ । जलमापन केन्द्रले देवघाटमा गरेको मापनमा आठ मिटर ७० सेन्टिमिटर छ भने नारायणी नदी पुलमा गरिएको मापनमा ११ मिटर ६९ सेन्टिमिटर छ । जबकि देवघाटमा शनिबार अपराह्न ४ बजेदेखि राति अबेरसम्म नदीको सतह खतराको अवस्थामा थियो । शनिबार साँझ ६ः५० बजेको मापनमा देवघाट स्टेसनमा नदीको सतह १० मिटर ४६ सेन्टिमिटरसम्म पुगेको थियो । उक्त स्टेसनमा नदीको सतह नौ मिटरभन्दा माथि भए खतराको सङ्केतका रूपमा लिने गरिन्छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पनि स्थानीय बासिन्दाको भनाइलाई आधार मान्दै यति ठुलो बाढी इतिहासमा पहिलो पटक आएको भन्ने आफूले सुनेको बताउनुभयो । उहाँले नदी किनारामा बनेको तटबन्धनका कारण यस पटक चितवनतर्फको भूभाग कटान र डुबानको ठुलो समस्या अहिलेसम्म नदेखिएको बताउनुभयो तर पनि भरतपुर–१७, गोब्रेनी क्षेत्रका १७ घरधुरी र भरतपुर–३ को हाम्रो घर नामको संस्था रहेको नगरवन क्षेत्रमा नदीको पानी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा लग्नु प¥यो । नदीमा आएको बाढीले भरतपुर–३, नगरवन जाने नारायणी नदीको भँगालो पार गर्न बनाइएको झोलुङ्गे पुल बगाएको छ । उक्त पुल झन्डै २० वर्षअगाडि निर्माण गरिएको थियो ।
तटबन्धन नबन्दाका बखत भरतपुर–३, ४, १६, १७, २६, २७ र २८ का नदी किनारका बस्ती नारायणी नदीमा आएको बाढीले कटान र डुबानमा पर्दै आएका क्षेत्र हुन् ।
जलस्रोत तथा सिँचाइ विभागले नारायणी नदी व्यवस्थापन आयोजनामार्फत चितवन र नवलपरासी क्षेत्रमा गरी झन्डै आठ अर्ब रुपियाँको लागतमा नारायणी नदीमा तटबन्धनको काम गरिरहेको छ ।








प्रतिक्रिया दिनुहोस्