काठमाडौं १८ असार । नेकपा माओवादी केन्द्र का प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले कांग्रेस—एमाले मिलेर सरकार बनाउने कुरा असंवैधानिक भएको जिकिर गर्नुभएको छ ।
मङ्गलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा ९माओवादी केन्द्र०को पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई दलबिचको सहमति अप्रत्याशित भएको र संवैधानिक नरहेको बताउनुभयो । उहाँले लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित भएर कांग्रेस र एमालेबिच सहमति नभएको बताउनुभयो ।
देशका पहिलो र दोस्रो ठुलो पार्टी मिलेर बन्ने भन्नेकुरा नै प्राकृतिक नभएको जिकिर उहाँको थियो । कांग्रेस र एमाले मिलेर सरकार बनाउने कुरा अग्रगमनतिर भन्दा पश्चगमनतिर जाने सङ्केत देखापरेको जिकिर गर्नुभयो ।
प्रवक्ता सापकोटाले भन्नुभयो, ‘‘हामीलाई के लागेको छ भने अप्रत्याशित रुपमा जुन खालको घटनाक्रमहरु अघि आएका छन् । यो त्यति स्वभाविक र संवैधानिक छैन । लोकतान्त्रिक मूल्य, मान्यतामा आधारित भएर आएको जस्तो लाग्दैन । देशका पहिलो र दोस्रो ठुलो पार्टी मिलेर बन्ने भन्नेकुरा नै प्राकृतिक जस्तो लाग्दैन । बाहिर कुरा आइरहेको छ, संविधान संशोधनसम्मका कुरा छन् । संविधान संशोधनमा पनि समानुपातिकका कुरा छन् । अग्रगमनतिरभन्दा पश्चगमनतिर जाने सङ्केत देखापरेको छ । यो बेठिक छ ।’’
प्रवक्ता सापकोटाले सामाजिक न्याय र सुशासनमा सरकारले राम्रोसँग काम गरेको दाबी गर्नुभयो ।








प्रतिक्रिया दिनुहोस्