काठमाडौं १८ असार । सत्ता परिवर्तन हुने सूचनासँगै आइतबार कारोबार खुल्नासाथ आक्रामक भएको नेप्से १ घण्टापछि संयमित बनेको छ।
११ बजेर १ मिनेटमा ४ प्रतिशतले नेप्से बढेपछि पहिलो मिनेटमै पहिलो सर्किट लागेको थियो। यसअघि पनि विष्णु पौडेललाई सेयरबजारमैत्री मान्ने लगानीकर्ता अर्थमन्त्रीमा पौडेल आउने हल्लापछि बजार बढ्छ भन्ने मनस्थितिमा उत्साहित बन्न पुगेका थिए।
फलस्वरुप कारोबारमा आएको पहिलो १ मिनेटमा पहिलो सर्किट र त्यसपछि २० मिनेट रोकिएर ११ बजेर २१ मिनेटमा खुलेको एक मिनेटमै दोस्रो सर्किट लागेको हो।
सत्ता परिवर्तनसहित एमाले र कांग्रेसको गठबन्धन सरकार बन्ने सहमति जुटेको खबरसँगै सेयरबजारका लगानीकर्ता उत्साहित बनेका हुन्।
पहिलो एक घण्टामा बजारमा १०२ अंकको वृद्धि भएपछि त्यसपछि भने बजार संयमित बनेको हो। नेप्से सूचक आक्रामक रुपमा बढेमा वा घटेमा नेपाल स्टक एक्स्चेन्जले लगानीकर्तालाई संयमित बनाउनका लागि सर्किट लगाउने गर्छ।








प्रतिक्रिया दिनुहोस्