काठमाडौं ६ असार । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वतखण्डमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ । पर्वतको फलेवास नगरपालिका–६ देवीस्थान र फलेवास नगरपालिका–१० कुर्घा भएर बग्ने लमाए खोलामा निर्माणाधीन पुल गए रातिको बाढीले बगाएको हो ।
दुवैतर्फको संरचना निर्माण सकिएर स्ल्याब ढलानको तयारीमा रहेको पुलका सबै निर्माण सामग्री बगाएको पाल्पास्थित कालीगण्डकी करिडोर आयोजना कार्यालय जनाएको छ । उक्त पुलको स्ल्याब भोलि शुक्रबार ढलान गर्ने तयारी गरिएको थियो । बाढीले निर्माणस्थलमा रहेको सयौँ बोरा सिमेन्ट, बालुवा, रड, फर्मा, पाइप र अन्य टेवा सामग्री पूरै बगाएको निर्माण कम्पनी नयाँबाटो गौचन जेभीका प्रतिनिधि दिनेश थापामगरले जानकारी दिए । बाढीबाट निर्माणाधीन पुल बगाउँदा डेढ करोड बराबरको क्षति भएको छ ।
यो पुल दुई वर्षमा सम्पन्न हुने गरी २०७४ असार २८ गते सम्झौता भई २०७५ पुस १९ गतेदेखि निर्माण सुरु भएको थियो । अहिलेसम्म जम्मा ६० प्रतिशत मात्र काम सकिएको छ । ०७६ असार मसान्तभित्र सम्पन्न हुनुपर्ने पुल गलत डिजाइन र निर्माण व्यवसायीको लापर्वाहीका कारण पूरा हुन नसकेको स्थानीयले बताउँदै आएका छन् ।
५ करोड ८९ लाख ८९ हजार दुई सय ७७ को लागतमा बन्ने पुल निर्माणको जिम्मा नयाँबाटो गौचन जेभी निर्माण कम्पनीले पाएको थियो । तर उक्त कम्पनीले सहायक ठेकेदार दीपज्योति निर्माण सेवालाई जिम्मा लगाएको थियो । २५ मिटर लामो र ११ मिटर चौडाइको पुल निर्माण सम्पन्न नहुँदा कालीगण्डकी लोकमार्गमा सीधा यातायात सञ्चालन हुन सकेको छैन ।








प्रतिक्रिया दिनुहोस्