काठमाडौं ३१ जेठ । जनता समाजवादी पार्टी नेपालको पदाधिकारी चयन प्रक्रिया चुनावबाट नगरी सहमतीय आधारमा गर्ने भएको छ। बिहीबार मध्यान्ह चुनाव गर्ने कार्यतालिका थियो।
सोही अनुसार बुधबार १९ पदाधिकारीका लागि ७५ जनाको उम्मेदवारी मनोनयन भएको थियो। जसपा नेपालको ११३५ प्रतिनिधि सहभागी छन्।
तर, केहीबेरअघि अध्यक्ष उपेन्द्र यादवले चुनावी प्रक्रिया स्थगित गरी सहमतीय आधारमा नेतृत्व चयन गर्ने प्रक्रिया स्थगित गराएका हुन्।
चुनाव गर्ने भनेपछि उम्मेदवारहरुले महाधिवेशनस्थल धनुषामा व्यापक प्रचार–प्रसार गरेका थिए। तर, चुनाव सुरु हुनु केहीबेरअघि मात्र सो प्रक्रियाबाट उपेन्द्र पछि हटेका हुन्।
अन्य कसैको उम्मेदवारी नपरेपछि उनी बुधबार नै जसपा नेपालको अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेका छन्। तर, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्षमा तीव्र प्रतिस्पर्धा देखिएको थियो।
‘चुनावको कार्यतालिका सबै स्थगित भयो, भोटिङ गर्ने प्रक्रिया स्थगित भयो। किनभने, जतिपनि प्रतिनिधि छन्, उनीहरुबाट सहमति गरेर नेतृत्व चयन गर्ने समझदारी जुट्यो,’ अध्यक्ष यादवका स्वकीय सचिव महेश चौरसियाले भने, ‘अध्यक्ष उपेन्द्र यादवज्यूलाई यसको जिम्मा दिइएको छ। उहाँले जो– जो शीर्ष नेताहरु छन्, उहाँहरु सम्मिलित ५र७ जनाको टीम बनाउनुहुनेछ। त्यसले पदाधिकारीदेखि केन्द्रीय सदस्यसहित जति जनाको उम्मेदवारी परेको छ, त्यो सबै पदमा सहमतिबाट चयन भएको निर्णय गर्नुहुनेछ।’
भोटिङ गर्ने प्रक्रियामा नगएर सहमतिबाट निर्णय गर्ने निर्णय भएपछि अहिले उपेन्द्रले आफूसहितको टीम बनाइरहेका छन्। त्यसले १९ पदाधिकारीसहित २०१ केन्द्रीय सदस्य चयन गर्न सहमती जुटाउनेछ।








प्रतिक्रिया दिनुहोस्