ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा दोस्रो ‘दलित राष्ट्रपति’ को चर्चा


admin

अन्तरराष्ट्रिय आलेख सेवा
(एकराज पाठक)

काठमाडौंँ, ७ साउन । विश्वको ठूलो प्रजातन्त्र भनिने भारतको राष्ट्रपति भएपछि उहाँको पहिलो प्रतिक्रिया थियो, ‘मैले यो कहिल्यै नसोचेको जिम्मेवारी पाएँ । म गरिबमात्र होइन कि तल्लो भनिने वर्गको नागरिक पनि हुँ । र मुलुकको सबैभन्दा ठूलो पदमा निर्वाचित भएर म त्यही बर्गका समग्र हिन्दुस्तानीको प्रतिनिधित्व गर्दै राष्ट्रपति भवन छिर्न लागेको छु ।’

‘मैले राष्ट्रपति बन्ने लक्ष्य कहिल्यै पनि लिएको थिइन’ भावुक हुँदै उहाँले भन्नुभयो, ‘नसोचेको जिम्मेवारी पाएँ अब देश र जनताको सेवामा अझ बढी लाग्ने प्रण गर्छु । मैले जुन जातिको प्रतिनिधित्व गर्दछु उनीहरुको हकअधिकारलाई मनन् गर्नु पनि मेरो धर्म हो । आज भारतको समग्र दलित आन्दोलनको जित भएको महसुश मलाई भएको छ ।’

बिहीबार साँझ भारतको १४औँ राष्ट्रपति निर्वाचित भएका रामनाथ कोविन्दका भावना हुन् यी । राष्ट्रपतिमा कोविन्दले ६५ प्रतिशतभन्दा केही बढी मत प्राप्त गरेको सार्वजनिक गरेलगत्तै सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै आफ्ना भावनाहरु यसरी पोख्नुभयो । त्यस समय उहाँले पूर्व राष्ट्रपतिहरू डा.राजेन्द्र प्रसाद, एपीजे अब्दुल कलाम र के.आर.नारायणन्को पनि स्मरण गर्नुभयो ।

डा.राजेन्द्र प्रसाद र एपीजे अब्दुल कलामको स्मरणगर्दै उहाँले भन्नुभयो, ‘उहाँहरुजस्तो विद्वानको उत्तराधिकारी हुन पाउँदा गौरव महसुश भएको छ ।’ त्यसैगरी उहाँले स्मरण गरेका अर्का पूर्व राष्ट्रपति हुनुहुन्थ्यो के.आर.नारायणन् । ‘मजस्तै दलित भनिने बर्गको प्रतिनिधित्व गरेर आजभन्दा धेरै वर्षअघि भारतको यो सबैभन्दा उच्च पदमा पुग्नुहुने उहाँको योगदान पनि यो देशमा कम्तीको छैन’ उहाँको भनाइ थियो ।

नवनिर्वाचित राष्ट्रपति कोविन्दको अझबढी कृतज्ञता आफूलाई विश्वास गरेका मतदाताहरूप्रति थियो । भन्दै हुनुहुन्थ्यो ‘मलाई त अझैपनि बिहारको कानपुर गाँउमा नै छु जस्तो लाग्छ, तर तपार्इँहरुले मजस्तो एक गाँउले किसानको छोरोलाई यो गरिमामय पदमा पु¥याइदिनुभयो । म अब भारतीय जनताको सर्वोत्तम हितका लागि मात्र काम गर्ने सपथ तपाईहरुसँग लिन्छु, यो मेरो प्रतिबद्धता हो ।’

यता दलित समुदायका राष्ट्रपति देशले पाएको सगर्व घोषणा भइरहँदा पराजित उम्मेदवार पनि दलित नै हुनुहुन्थ्यो । दलित समुदायकै र त्यो पनि महिला । अनि त्यतिमात्र नभएर यसअघि यसअघि सभामुख नै चलाइसक्नुभएकी महिला हुनुहुन्थ्यो मिरा कुमार । आफूसँग पराजित उहाँलाई पनि धन्यवाद दिन कोविन्दले छुटाउनुभएन । उहाँले भन्नुभयो, ‘भारतीय दलित आन्दोलनमा उहाँको ठूलो योगदान छ मिरा कुमारलाई मेरो धन्यबाद र शुभकामना छ ।’ भारतीय काँग्रेसको गठबन्धनकी उहाँले करिब ३५ प्रतिशत मत प्राप्त गर्नुभयो ।

सम्वाददातासँग मिरा कुमार भन्दै हुनुहुन्थ्यो, ‘म पराजित भएपनि मेरो विचारधाराको लडाई जारी नै छ । जातीय विभेद विरुद्ध मेरो संघर्ष जारी रहन्छ र सामाजिक न्याय, पारदर्शिता र धार्मिक निरपेक्षता सहितको मुलुक मेरो चाहना हो । उहाँले यो प्रतिक्रिया दिइरहँदा विश्लेषकहरु भन्दैथिए ‘दलित समुदायका राष्ट्रपति त भारतले पहिले नै पाइसकेको थियो, दलित महिलालाई पनि बनाएर नयाँ इतिहास भारतले रचेको भए राम्रो हुन्थ्यो ।’

कानुनको राम्रो ज्ञाता, गरिब किसान एवम् दलित समुदायबाट प्रतिनिधित्व गर्ने कोविन्द उत्तर प्रदेशबाट राष्ट्रपति हुने पनि पहिलो व्यक्ति हुनुहुन्छ । सत्तारुढ दलले दलित समुदायबाट उम्मेदवार बनाएपछि प्रतिपक्षी दल भारतीय काङ्ग्रेसले पनि पूर्व सभामुख मीरा कुमारलाई अघि सारेको थियो । दुवै गठबन्धनबाट उम्मेदवार घोषणा भइसकेपछि भारतीय टेलिभिजन आजतकले भनेको थियो ‘भाजपाले दलितलाई अघि सार्यो भने काँग्रेस गठबन्धनले झन एक कदम अघि बढेर दलित महिलालाई नै उठायो ।’

एकहत्तर बर्षीय पूर्व वकील तथा राज्य सरकारका गभर्नर भइसक्नु भएका सिमान्तकृत दलित समुदायका कोविन्दलाई राष्ट्रपतिको उम्मेदवारका रूपमा प्रधानमन्त्री नरेन्द्र मोदीको सत्तारुढ दल भारतीय जनता पार्टी गठवन्धनका तर्फबाट उहाँको नाम मनोनयन भएको थियो । विपक्षी गठबन्धनका उम्मेदवारलाई झण्डै दोब्बर मतान्तरले पराजित गर्दै भारतीय जनता पार्टीका नेता कोविन्द भारतको १४औं राष्ट्रपतिमा निर्वाचित हुनु भएको हो ।

कोविन्द राष्ट्रपतिमा निर्वाचित भएसँगै भारतमा एक अभियानको निकै प्रचार के गरिएको छ भने जस्तो कि भारतीय जनता पार्टीका हिन्दूबादी आलोचनालाई केही हदसम्म भए पनि यसले सकारात्मक जवाफ दिने भएको छ । भारतीय जनता पार्टी हिन्दूबादी पार्टी हो र भारतमा अहिले पनि कतिपय स्थानामा कायमै रहेको छुवाछुतको अवस्था बढी त हिन्दू कट्टरपन्थीहरुमा छ ।

त्यसैले पनि भारतका २० करोडभन्दा केही बढी दलितमा भारतीय काँग्रेस पार्टीले धर्म निरपेक्षता र हिन्दू कट्टरपन्थको अन्त्यको नारा अघि सारेको थियो । दलित समुदायमा भाजपाको हिन्दू कट्टरपन्थको अपहेलना भएको आरोप काँग्रेसको रहेकोमा दलितलाई नै राष्ट्रपतिमा जिताएपछि भारतमा यो नयाँ विषयले चर्चा पाएको हो । त्यसैले यतिखेरका भारतीय सञ्चारहरुमा एक खालको चर्चा छ–भारतमा दोस्रा दलित राष्ट्रपति भनेर ।

यो जितसँगै सत्तामा तथा आगामी संसदीय निर्वाचनमा समेत अब प्रधानमन्त्री नरेन्द्र मोदीको थप बलपुग्ने विश्वास समेत विश्लेषकहरूले व्यक्त गरिरहेका छन् । कोविन्दलाई राष्ट्रपति बनाएसँगै अछुत भनिने भारतीय दलित समुदायलाई भाजपाले महत्वपूर्ण सन्देश दिएको उनीहरुको दाबी छ । भारतको करिब एक अर्व ३० करोड जनसङ्ख्यामा करिब २० करोड जनसंख्या गरीब दलित समुदायको रहेको छ ।

उहाँ भारतीय इतिहासमा दलित समुदायबाट राष्ट्रपति बन्ने दोस्रो व्यक्ति हुनुहुन्छ । यसअघिका राष्ट्रपतिमा यसै समुदायबाट के.आर. नारायणन् हुनुहुन्थ्यो । नारायणन् भारतका नवौँ राष्ट्रपति हुनुहुन्थ्यो । उहाँ सन् १९९७ मा भारतको नवौँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको थियो । भारतीय कूटनीतिक सेवामा कार्यरत उहाँ कैयौँ देशको राजदूत समेत हुनुभएको थियो । पछि इन्दिरा गान्धीको अनुरोधमा राजनीतिमा आउनुभएका उहाँ लोकसभा सदस्य निर्वाचित हुनुभयो । काँग्रेसको प्रस्तावमा नै नारायणन् राष्ट्रपति हुनुभएको हो ।

सन् १९४५ को अक्टोबर १ मा उत्तर प्रदेशको कानपुरमा जन्मिनुभएका कोविन्द साधारण किसानका छोरा हुनुहुन्छ । कानपुर विश्वविद्यालयबाट कानुन विषयमा स्नातक गर्नुभएका उहाँले वकालत पेसामा नै धेरै समय ब्यतित गर्नुभएको थियो । उहाँ वकिल हुदैदेखि भारतमा छुवाछुतविरुद्धको आन्दोलनमा लग्नुभएको थियो । उहाँ एकजना दलित नेताका रुपमा पनि स्थापित हुनुहुन्छ । साथै उहाँले भारतीय प्रधानमन्त्री मोरारजी देशाईँको स्वकीय सचिवका रुपमा पनि काम गर्नुभयो । उत्तर प्रदेशबाट दुई पटकसम्म राज्य सभाको सदस्य रहेका उहाँ बिहारका गभर्नर हुनुहुन्थ्यो ।

विपक्षीमा रहदा मात्र राजनीतिक दलहरुले दलितका मुद्दा उठाउने तर सरकारमा पुगेपछि भने दलित मुद्दा र हक अधिकारमा मौनजस्तो रहने भन्दै अहिले पनि दलितले आवाज उठाउने गरेका छन् । त्यस्तै दलहरुले एकाध व्यक्तिलाई उच्च पदमा पुर्याउने र उदाहरणका रुपमा देखाउने गर्नाले पनि भारतमा दलित समुदायको उत्थान र हक अधिकारको रक्षा हुन नसकेको विश्लेषकहरु बताउछन् । भारतीय सञ्चारले यतिखेर पनि यो विश्लेषणमार्फत पनि सरकारको ध्यानाकर्षण गराइरहेका छन् । रासस
––––––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com