काठमाडौं, १ पौष । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समाचारमा केन्द्रित भएर मात्र अब ‘प्रिन्टेड मिडिया’ सञ्चालन हुन नसक्ने बताएकी छन् । आइतबार काठमाडौंमा दी राइजिङ नेपालको ५८औँ वार्षिकोत्सव कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
‘न्युज बेस’ भएर प्रिन्टेड मिडिया सञ्चालन हुन नसक्ने भएकाले अबका दिनमा विशेष विषयवस्तुको ‘लिडिङ’ गरेर प्रिन्टेड मिडिया सञ्चालन गर्न आवश्यक रहेको उनले औँल्याइन् । उनले सूचना तथा प्रविधिमा आएको परिवर्तन हेरेर त्यसैअनुसार अघि बढ्न जरुरी रहेकामा जोड दिइन् ।
मन्त्री शर्माले सरकारले गरेका निर्णयहरू जनतासम्म पुर्याउने काम पनि सञ्चारमाध्यमको भएको बताइन् ।
“।।।अबका प्रिन्टेड मिडिया न्युज बेसिसमा गएर चल्दैनन् । न्युज त हाम्रो हातहातका मोबाइलमा जान्छ । अनलाइनहरू, युट्युबहरू छन्, त्यसबाट हेर्छौँ,” उनले भनिन्, “मिनेट–मिनेटका न्युज हातका मिडियाबाट हेर्छौँ । न्युज बेसिसमा गएर प्रिन्टेट मिडिया चलाउन सकिँदैन । खास विषयवस्तु, कुनै न कुनै विषयवस्तुको लिडिङ कार्यक्रम मिडियामा चाहिन्छ । त्यो प्रिन्टेट मिडियाले लिड गर्न सक्नुपर्छ ।”
कार्यक्रममा गोरखापत्र संस्थानका अध्यक्ष विष्णु सुवेदीले पुरानो ढाँचालाई छोडेर अब प्रविधिसँग नयाँ ढाँचाको विकास गर्न जरुरी रहेको बताए । समाचार विश्वसनीय र गुणस्तरीय बनाउँदै लैजानुपर्ने चुनौती अहिले देखिएको र त्यसमा गोरखापत्र संस्थानले काम गरिरहेको उनले उल्लेख गरे । उनले समाचारका निम्ति २४ घण्टा किन कुर्ने भन्ने कुरा नै अहिलेको चुनौती रहेको बताए ।








प्रतिक्रिया दिनुहोस्