ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नदीको कठ्याङ्ग्रिँदो चिसोले आक्रान्त भूकम्पपीडित


एबीसी न्यूज

काठमाडौं, २१ मंसिर ।  रुकुमपश्चिम छेपारे । एकातर्फ भेरी नदी अर्कातर्फ भेरी करिडोर । नदीको चिसो सिरेटो र सडकको धुलोले भूकम्प प्रभावित छेपारेबासीमा विभिन्न खालका रोग देखा पर्न थालेका छन् । आठबिसकोट नगरपालिका–१४, छेपारे बस्ती भूकम्पबाट पूर्ण रूपमा ध्वस्त भएको बस्ती हो ।

सो भूकम्पमा परी ४६ भन्दा बढी घरधुरी रहेको यो बस्तीका ११ जनाले ज्यान गुमाए । अहिले नदी र सडकको बिचमा सिङ्गो बस्ती त्रिपामुनि ओत लागेर बसेको छ । नजिकैको सडकमा कुनै गाडी गड्यो भने उडेको धुलोले सबै त्रिपाललाई छपक्कै छोप्छ ।

यही बस्तीकी ३० वर्षीया रुद्रकुमारी विक भूकम्प आएपछि बल्लतल्ल भागेर बाँचेकी थिइन् । उनको बुढाबुढी, एक छोरा र एक छोरीसँगै सासू, ससुरा गरी ६ जनाको परिवार थियो । ओत लाग्ने दुईतलाको ढुङ्गामाटोले बनेको कच्ची घर थियो । तर कात्तिक १७ आएको मध्यरातिको भूकम्पले एकै पटक घर तहसनहस बनाइदियो ।

घर भत्किएर च्यापिएका उनीहरूलाई माथिल्लो गाउँबाट आएका युवाहरूले उद्धार गरे । अनि मात्र बाँच्न सफल भयो, रुद्रकुमारीको परिवार । भूकम्पमा परी उनको ११ वर्षीय छोरालाई सबैभन्दा बढी चोट लाग्यो । आफ्नो परिवार भाग्यले बाँचेको बताउँछिन् उनी । अहिले उनको परिवार एउटा त्रिपालमुनि बसेको छ ।

तर अहिले सडकको धुलो र नदीको कठ्याङ्ग्रिँदो चिसोले उनी बिरामी छिन् । उनलाई टाउको दुख्ने, ज्वरो आउनेदेखि खोकी लागिरहेको छ भने सास फेर्न गाह्रो भइरहेको रातोपाटीलाई बताइन् । ‘सास फेर्न निकै गाह्रो हुन्छ, भूकम्पबाट बाल्लतल्ल बाँच्यौँ, चिसोले मर्ने सम्भावना बढ्यो,’ निराश हुँदै उनले भनिन्, ‘घाँटीमा टन्सिल भएको छ ।’

उनी मात्र होइन, चार वर्षीया छोरीलाई पनि यस्तै समस्या छ । वृद्ध ससुरालाई पनि सन्चो छैन । गगनचुम्बी पहाडका बिचमा रहेको सो बस्तीमा हिउँद लागेसँगै दिउँसो १२ बजेपछि मात्रै घाम लाग्छ । केही समयपछि घाम छेलिन्छ । त्यसै पनि मङ्सिरको चिसो त्यसैमाथि नदी किनारको बस्तीमा बेलुका पाँच बजेपछि तुसारोले बस्ती ढपक्कै ढाकिदिन्छ । अर्कातिर दिनभर सडकको धुलोले त्रिपाल ढपक्कै ढाक्छ । धुलो र चिसोले बस्ती आक्रान्त छ ।

श्री नवज्योति आधारभूत विद्यालयमा बालशिक्षा पढाउने शिक्षिका समेत रहेकी रुद्रकुमारीले अहिले पीडित सबैका समस्या एउटै रहेको बताइन् । ‘लामो समयसम्म यही अवस्था रहे बालबालिका र बुढाबुढीलाई बचाउन गाह्रो हुने देखिन्छ,’ उनी भन्छिन्, ‘बालबालिकाहरूमा निमोनियालगायतका समस्या देखा पर्न थालेका छन् ।’

नदीको चिसो र सडकको धुलोले नागरिकहरू आक्रान्त परेको दुःखान्त उनले पोखिन् । सडकको धुलो सीधै भान्समा पुग्ने गरेको उनले बताइन् । ‘घर भएको बेला घरभित्र खाना पकाएर खाँदा त चुल्होसम्मै धुलो जान्छ,’ उनी भन्छिन्, ‘अहिले त्रिपालबाहिर खाना पकाएर खानु पर्छ, सीधै खानामै धुलो पर्छ । यसले हामीलाई निकै समस्या दिएको छ, हामीले यसबाट कहिले मुक्ति पाउने होला ।’

एकातिर घरबास भत्किएको वियोग अर्कातिर बाँचेकाहरू पनि मर्ने हुन् कि भन्ने चिन्ताले रुद्रकुमारी अहिले निराश छन् । उनको विद्यालयमा कार्यरत कार्यालय सहयोगीको चार जनाको परिवारको मृत्यु भयो । जसमा तीन जना बालबालिका परे । उनकै स्कुलमा पढ्ने बालबालिकाको मृत्यु भएपछि अहिले उनलाई विद्यालयमा गएर अध्यापन गराउन पनि मन लाग्दैन भन्छिन् ।

बालबालिकाको मानसिक अवस्था नै पहिलेको जस्तो हुन नसकेको उनको भनाइ छ । रुद्रकुमारीले सिङ्गो परिवार एउटा त्रिपालमा बस्नुपर्दा निकै कठिनाइ भइरहेको पनि बताइन् ।

उनी बस्ने एउटै त्रिपालमा सासू, ससुरालगायत ६ जनाको परिवार बस्छ । ‘एउटै त्रिपालमा बस्नुपर्दा कम्ती असहज छैन,’ उनी भन्छिन्, ‘के गर्नु, बाध्यताले बस्नुपर्दो रहेछ । टन्नै पैसा हुने परिवार भए पनि आफैँ किनेर बसौँ भन्नु, त्यस्तो पनि छैन । हामीलाई यसभन्दा पहिला घरखर्च पनि चलाउन धौधौ हुन्थ्यो ।’

रुद्रकुमारीका अनुसार घरमा केही गरगहना पनि थिए । ती सबै टुटेफुटेको अवस्थामा निकालिए । घरका सबैका मोबाइल पनि फुटे । प्रयोग गर्न मिल्ने गरी कुनै सामग्री नरहेको उनले बताइन् । ‘भूकम्प आएबेला जुन कपडा लगाएका थियौँ, त्योबाहेक अरू केही पनि लत्ता कपडा, भाँडावर्तन निकाल्न पाएनौँ, सबै पुरिए,’ उनी भन्छिन्, ‘अहिले पन्छाउँदा सबैमा क्षति पुगेको र प्रयोग गर्न नमिल्ने भएका छन् ।’

घरहरू भए पनि उत्पादन हुने जमिन यहाँ कसैको छैन । यो बस्ती खाद्यान्नका लागि पूर्ण रूपमा बजारसँग आश्रित छ । अहिले राहतमा निर्भर रहेको यो बस्तीमा खाद्यान्नको अभाव हुँदै गएको रुद्रकुमारी बताउँछिन् । यस्तै चिसो भइरहे बालबालिका र बुढाबुढीको ज्यान जोगाउन कठिन भएको उनले बताइन् । यो बस्तीमा १८ वर्षमुनिका ७२ जना बालबालिका छन् ।

यहाँका भूकम्पपीडितले अनुदानमा पाउने भनिएको रकम अहिलेसम्म पाउन सकिरहेका छैनन् । विभिन्न राजनीतिक दलका स्वयंसेवकहरूले भग्नावशेष घरहरू पन्छाएर अस्थायी आवास बनाउन थालेका छन् । तर जस्तापाता लगायतका सामग्रीको अभावले आवास हस्तान्तरणको कुनै ठेगान छैन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com