काठमाडौ २१ मंसिर । उच्च अदालत पाटनमा नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको विषयमा मङ्सिर २८ गते सुनुवाइ हुने भएको छ । यसअघि उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलबीच खाणलाई धरौटीमा रिहा गर्ने कि थुनामै राख्ने भन्नेमा राय बाझिएको थियो ।
पाण्डेले खाणलाई ३० लाख धरौटीमा छाड्नुपर्छ र खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएका थिए ।दुई न्यायाधीशको राय बाझिएपछि निवेदन तेस्रो न्यायाधीशको इजलासमा पठाउने आदेशअनुसार २८ गते एकल इजलासमा सुनुवाइ गर्ने तय भएको हो ।
त्यस दिन गोलाप्रथाबाट छानिएका न्यायाधीशको इजालासले खाण थुनामै रहने कि धरौटी वा साधारण तारेखमा रिहा हुने भन्ने विषयमा आदेश दिनेछ ।गएको शुक्रवार उच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेकामध्ये ९ जनालाई थुनामै राख्ने, ६ जनालाई धरौटीमा रिहा गर्ने र चार जनालाई साधारण तारेखमा रिहा गर्ने फैसला गरेको थियो।








प्रतिक्रिया दिनुहोस्