काठमाडौं, २० मंसिर । पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई कोशी प्रदेशमा ‘प्रवेशमा रोक लगाउने’ भन्दै गरिएको प्रचारप्रति नेकपा एमाले कोशी संसदीय दलले तीव्र विरोध गरेको छ।
बुधबारको प्रदेशसभा बैठकमा दलको तर्फबाट विशेष समय लिएर बोल्दै एमाले सांसद तिलकुमार मेन्याङ्बोले मुलुकका पूर्व प्रधानमन्त्री एवम् पार्टी अध्यक्षलाई प्रवेशमै निषेध गरिनेछ भन्ने चर्चा दुःखद् र संविधानविरोधी कदम भएको बताएका हुन्।
एमाले यतिबेला मेची महाकाली यात्रामा छ। त्यसक्रममा कोशी प्रदेशको पुनः नामकरण गर्नुपर्ने भन्दै प्रदेशमा आन्दोलनरत संघ संस्थाहरुले ओलीलाई प्रदेशको पहाडी भू–भागमा प्रवेश निषेध गर्ने बताउँदै आएका छन्।
उनीहरुको यस्तो भनाइ संविधान प्रदत्त अधिकारको उल्लघन भएको एमालेको ठहर छ।
‘मुलुकभित्रै आवतजावत गर्न पनि निषेध गरिनेछ भन्ने चर्चा दुखद् छ। यस किसिमको अलोकतान्त्रिक कदम अगाडि नबढाउन म आग्रह गर्दछु,’ मेन्याङ्बोले भने।
सांसद मेन्याङ्बोले एमाले मुलुकको समृद्धिका लागि पहाडी क्षेत्रलाई अझै उन्न्त तुल्याउन मेची महाकाली यात्रामा रहेका बेला अलोकतान्त्रिक कदम नचाल्न आन्दोलनकारीलाई भनेका छन्।
‘लोकतान्त्रिक विधि र प्रक्रियाबाटै सबै अघि बढ्नुपर्छ। अलोकतान्त्रिक रुपमा अघि बढेर हुँदैन’, उनले आग्रह गरेका छन्।
कोशी नाम खारेजीको माग गर्दै ‘प्रदेश नं १ पुनः नामांकन संयुक्त संंघर्ष समिति’ ले कोशी नामका पक्षमा मतदान गर्ने प्रदेशका नेताहरुलाई विभिन्न ठाउँमा प्रवेश निषेध गर्ने बताउँदै आएको छ। त्यसबाहेक एमालेका नेताहरूमाथि ठाउँ–ठाउँमा आक्रमण गर्दै आएको छ। केही अघि ताप्लेजुङमा एमाले सचिव योगेश भट्टराईमाथि पनि आक्रमण भएको थियो।








प्रतिक्रिया दिनुहोस्