काठमाडौं, ११ मंसिर । सभामुख देवराज घिमिरेले संसद् र समितिका काम–कारबाही अतिरिक्त समयमा सञ्चालन गर्न सरकारले बजेट विनियोजनमा नियन्त्रण गरेको बताएका छन् । सोमबार संसदीय समितिका सभापतिहरूसँग सिंहदरबारमा छलफल गर्दै उनले यस्तो बताएका हुन् ।
उनले संसद् र संसदीय समितिका बैठक कार्यालय समयमै राख्न अर्थमन्त्री डा। प्रकाशशरण महतले आग्रह गरेको जानकारी गराए । नियमित समयबाहेक बैठक राख्दा अतिरिक्त सुविधा नदिइएको गुनासो कर्मचारीले गरेको उनले सुनाए ।
विगतमा संसद्लाई विभिन्न विदेशी एवं दातृनिकायबाट सहयोग प्राप्त हुने गरेको उनले बताए । पछिल्लो समय सहयोग घट्दै गएको उनले उल्लेख गरे । कतिपय सहयोग नेपालका निम्ति उपयुक्त नभएकाले पनि कम बन्दै गएको उनको भनाइ छ ।
बजेटको अभावमा सभा प्रभावकारी हुन नसकेको भन्दै उनले सरकारले संसद्लाई चलायमान र प्रभावकारी बनाउन आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए ।
विगतका बैठकमा कर्मचारीलाई अतिरिक्त समयको भत्ता दिन नसकिएको भन्दै उनले यसलाई व्यवस्थित नगरिए संसद् र संसदीय समिति चल्न कठिन रहेको बताए ।
सभामुख घिमिरेले संसदीय समितिहरूमा विषयवस्तु दोहोरिने र कार्यक्षेत्र स्पष्ट नहुने समस्या रहेको पनि बताए । कार्यक्षेत्र र विषयवस्तुमा समस्या भए छलफल गरी समाधान गर्नुपर्नेमा सोच्न उनले समिति सभापतिहरूलाई निर्देशन दिए ।








प्रतिक्रिया दिनुहोस्