काठमाडौ १ मंसिर । चिसोका कारण जाजरकोटमा दुई जना वृद्धको ज्यान गएको छ । भूकम्पले घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका भेरी नगरपालिका–२ का ८८ वर्षीय धुलेश्वर कार्की र बारेकोट गाउँपालिका–४ जिरीका नरेन्द्रबहादुर सिंहको ज्यान गएको हो ।
कार्की र सिंह दुवै दमका दीर्घरोगी भएका र चिसोका कारण रोगले च्याप्दै गएपछि दुवैको ज्यान गएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए। उनका अनुसार भूकम्पका कारण घरमा बस्न नमिल्ने भएपछि जाजरकोटका ३४ हजारभन्दा बढी घरपरिवार त्रिपालमुनि बस्दै आएका छन् ।त्रिपालमुनिको बसाइँले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धा बढी प्रभावित भएका छन् ।
बालबालिका र वृद्धवृद्धामा श्वासप्रश्वाससम्बन्धी समस्या देखिन थालेको जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए। उनका अनुसार यसअघि गएको हप्ता नलगाड–४ मा चिसोका कारण दुई जना दीर्घरोगीको ज्यान गएको थियो । प्रजिअ सुनारले चिसोले बालबालिका, सुत्केरी, दीर्घरोगी र वृद्धवृद्धालाई असर पारेकाले त्यसको आवश्यक व्यवस्थापनका लागि पहल भइरहेको जानकारी दिए।








प्रतिक्रिया दिनुहोस्