काठमाडौ १० कात्तिक । दशैँ मनाउन जम्मा भएका युवाहरुबीच कुटपिट हुँदा दैलेखमा एक युवाको ज्यान गएको छ । मंगलवार राति बडादशैँ मनाउन जम्मा भएका युवाहरुबीच दैलेखमा भएको कुटपिटको घटनाका घाइते युवकको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा शुक्रवार ज्यान गएको हो।बडादशैँको दिन दैलेखको जिल्ला सदरमुकाम नारायण नगरपालिका–७ जार्जेखोला कालिमाटी भन्ने ठाउँमा राति ९ बजे भएको जमघटमा कुटपिटबाट घाइते नारायण नगरपालिका–७ किमुगाउँका २५ वर्षीय रोहन शाहीको उपचारको क्रममा शुक्रवार ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।
घटनामा घाइते दुई नारायण नगरपालिका–७ किमुगाउँका रोहन र रोहनका भतिजा २६ वर्षीय धीरेन्द्र शाहीलाई मंगलवार राति प्राथमिक उपचारपछि थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएकोमा रोहनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक कमल आचार्यले बताए ।पीडित पक्षले कुटपिटमा संलग्न नारायण नगरपालिका–७ का ८ जना विरुद्ध किटानी उजुरी गरेकोमा २८ वर्षीय हिक्मत बुढा, ४५ वर्षीय पूर्णबहादुर बुढा, २३ वर्षीय बिमल बुढा र ४४ वर्षीया खगिसरा बुढालाई प्रहरीले पक्राउ गरी घटनाको अनुसन्धान थालेको छ ।
घटनामा संलग्न ४ जना आरोपितहरु भने फरार रहेको प्रहरीले जनाएको छ ।घटना लगत्तै प्रहरीले पक्राउ गरेका र फरार समेतलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाएकोमा शुक्रवार रोहनको ज्यान गएपछि पीडित पक्षले कर्तव्य ज्यान सम्बन्धी पूरक जाहेरी ल्याए अनुसार व्यक्ति हत्या कसूरमा अनुसन्धान शुरु भएको बताए।
यसैबीच गएराति दैलेखको भैरबी गाउँपालिका–४ सिलङ्गी गाउँमा हुलहुज्जत गरेको भनी नियन्त्रण लिइ कुटपिट गरिएको घटनाका घाइते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्रीको उपचारको क्रममा शुक्रवार कर्णाली प्रदेश अस्पताल सुर्खेतमा ज्यान गएको घटनालाई लिएर पीडित पक्षले सुर्खेत–दैलेख सडकको कपासेमा यातायात अवरोध गरेको बताइएको छ ।








प्रतिक्रिया दिनुहोस्