काठमाडौं, १६ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनले न्यायपालिकालाई आफ्नो विभागजस्तो बनाउन खोजेको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै उनले एमालेले न्यायपालिकालाई गठबन्धनको विभाग बन्न नदिने जिकिर गरे ।
‘तपाईहरुले न्यायापालिकालाई स्वतन्त्र न्यायपालिका रहन नदिएर गठबन्धनको विभाग बनाउन खोज्या होला सम्भव छैन, हामी पनि छौं यो देशमा’, ओलीले भने, ‘हामी न्यायालयलाई स्वतन्त्र सम्मानित मर्यादित न्यायापालिकाको रुपमा राख्न चाहन्छौं तपाईंहरुको विभाग बनाउन दिँदैनौं ।’
जिल्ला न्यायाधीशको परीक्षामा फेल भएका र गत निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने व्यक्ति न्यायाधीश नियुक्त भएको ओलीले टिप्पणी गरे । त्यस्तै आफूविरुद्धको संसद विघटनको मुद्दामा बहस गर्ने वकिललाई पनि न्यायाधीश बनाएको ओलीले आरोप लगाए ।
‘मेरा विरुद्धको मुद्दामा उफ्री उफ्री बहस गर्ने फर्मका सहयोगी वकिललाई न्यायाधीश बनाउनुपर्ने रहेछ । एक वर्ष हुन आँट्यो निर्वाचनको गुन अझै सम्झिरहेको रहेछ’, ओलीले न्यायाधीश नियुक्तिबारे टिप्पणी गरे ।








प्रतिक्रिया दिनुहोस्