काठमाडौ ९ असोज । नेपाल आयल निगमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरेको छ । मङ्गलवार नेपाल एलपी ग्यास उद्योग सङ्घको २८ औँ वार्षिक साधारणसभामा निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले यो जानकारी दिएका हुन। कार्यकारी निर्देशक थानीले धितोपत्र निष्कासन नियमावली २०७३ जारी भएपछि २०८० मा आउँदा ७ औँ पटक संशोधन भएको र नियमावलीमा दुई आर्थिक वर्षमा नाफामा गएको हुनुपर्ने भएकाले सर्वसाधारणका लागि आईपीओ जारी गर्न समय लागेको बताए। सर्वसाधारणको समेत स्वामित्व हुने गरी निगमले आईपीओ जारी गर्ने उनको भनाइ छ ।
उनले भने, ‘सर्वसाधारणका लागि आईपीओ जारी गर्न निगम प्रतिबद्ध छ । कम्तीमा दुई वटा आर्थिक वर्षको फाइदा भएपछि मात्रै आईपीओ जारी गर्न मिल्ने अवस्था भएकाले समय लागेको हो । सधैँभर नेपाल आयल निगमलाई गाली गरेर हुँदैन । सबैले स्वामित्व लिनका लागि पनि आईपीओ जारी गर्नुपर्छ ।’कार्यकारी निर्देशक थानीले ग्यास व्यवसायीहरूप्रति आयल निगम निर्मम हुने सोचमा नभएको बताए।
उनले सरकारले व्यवसायीहरूका माग समयसापेक्ष रूपमा चाँडै सम्बोधन गर्ने प्रतिबद्धता जनाए । देशको अर्थतन्त्रमा टेवा पुर्याउने हिसाबले निगमले विसं २०८० असार ३१ गतेदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको बताए ।
स्वचालित मूल्य लागू गरेपछि निगम अलिकति भए पनि नाफामा रहने उहनको भनाइ छ ।कार्यक्रमम नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष कुलप्रसाद मल्लीले डिजल, पेट्रोलको जस्तै एलपी ग्यासको पनि स्वचालित मूल्य लागू गर्न माग गरे। उनले एलपी ग्यासको मूल्य अचानक बढ्दा व्यवसायीहरूलाई समस्या भइरहेको बताए । व्यवसायमा लागतअनुसारको मुनाफा आवश्यक हुने भन्दै उनले आयात गर्ने र निर्यात गर्ने मूल्य सरकारको नियन्त्रणमा हुँदा एलपी ग्यास उद्योगले विभिन्न समस्या भोग्नुपरेको गुनासो गरे।








प्रतिक्रिया दिनुहोस्