काठमाडौ ३ असोज । बहुप्रतिक्षित संघीय शिक्षा ऎन संसदमा पेश भएसङै यसको चौतर्फी बिरोध र अनेकन टिकाटिप्पणी हुन थालेको छ । राजनीतिक तहबाट केहीले यसको समर्थन र बिरोधमा आफ्नो धारणा सार्वजनिक गरिरहेका छन भने धेरैजसो मौन छन ।
लोकप्रियताको राजनीति गर्नेले आन्दोलनको क्रममा देशव्यापी कस्तो माहोल बन्छ त्यही अनुसार आफ्नो अभिव्यक्ति दिने अनुमान लगाउन सकिन्छ भने केही सम्भावना भएका युवा नेताहरु र नयाँ भनिएका दलहरुले समेत राष्ट्रिय चासोको यती महत्त्वपूर्ण विषयमा मौन बस्नु रहस्यपुर्ण देखिन्छ ।
ऎनमा भएका केही राम्रा पक्षहरुको आवरणमा शिक्षकको सामान्य पेशागत मर्यादालाई समेत ख्याल नगरी ऎन शिक्षकको पेशागत आत्मसम्मानप्रति र देशको समग्र शैक्षिक भविष्यप्रति निर्मम बनेको देखिन्छ । शिक्षकको पेशागत स्थायित्वको विषय, पद समायोजनको विषय सरुवा र कार्यसम्पादन मूल्यांकनको विषयमा शिक्षकलाई पिडित बनाउन खोजेको छ भने दुर्गममा भत्ताको विषयमा शिक्षकलाई दोश्रो दर्जाको कर्मचारीको रुपमा राखेको देखिन्छ ।
निजिश्रोतको शिक्षक लगायत अन्य अस्थायी प्रकृतिका सबैखाले शिक्षकलाई संविधानले नै तोकेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था गर्नुपर्ने कुरा समेत यो ऎनले छुटाएको छ । औषधि उपचार खर्चको सवालमा त पहिल्यै दिइदै आएको सुबिधा यो ऎनले कटौती गरेको छ । त्यस्तै बिधालयको अनुमति रद्द गर्ने तथा बन्द गर्ने अधिकार स्थानीय तहलाई दिने र स्थानीय तहलाई शिक्षक बर्खास्ती सम्मको अधिकार दिने कुराले सामुदायिक बिधालयलाई थप राजनीतिकरण गर्न खोजेको छ ।
स्थानीय तह राजनीतिक पार्टीको हुने र शिक्षकको गतिविधि सहजै नियालिरहेको हुने हुनाले शिक्षकले सधैं बर्खास्तीको डरमा बस्नुपर्ने हुन्छ । जसले सिङ्गो देशको शैक्षिक उपलब्धिमा प्रतिकुल प्रभाव पर्ने छ । यस्तै यो ऎनले बिधालय कर्मचारी , कार्यालय सहयोगीलाई त झनै सम्बोधन गर्न नसकेको देखिन्छ ।
केन्द्रिय सरकारले वजेट नपठाइ स्थानीय तहलाई नै श्रोत जुटाएर दिनु भन्दा कतिपय पालिकामा श्रम ऎनले तोकेभन्दा पनि पारिश्रमिक कम गरिराखेको पाइन्छ । यसरी समग्र पक्षबाट शिक्षक र सामुदायिक बिधालयलाई प्रतिकुल ऎन बन्दा यसैपनी आकर्षण नरहेको शिक्षक पेशालाई थप आकर्षण घटाएको छ । जसले बिश्वविधालयका उत्कृष्ट उत्पादनहरु शिक्षण पेशामा झनै विकर्षित हुने निश्चित छ ।
शिक्षकले देशको राजनीतिक, आर्थिक, प्रशासनिक, व्यवसायिक, कर्मचारी देखि श्रमिक वर्ग सम्मको जनशक्ती उत्पादन गर्नुपर्ने हुन्छ हालको देशको राजनैतिक , प्रशासनिक लगायत देशको समग्र व्यवस्थापन बाट आजित भएर लाखौंको सङ्ख्यामा युवाहरु स्थायी रुपले नै पलायन भैइरहेका छन । आज देश नै खुल्ला जेल जस्तो बनेको छ। विश्वका राम्रा देशहरुले भिषा खुकुलो पार्ने हो भने र त्यस्ता देशहरुमा सहजै स्थायी बसोबास पाउने हो भने केही समयमै सिङ्गो देश नै खाली हुने अवस्था बनेको छ ।
यो सबै रोक्न र भविष्यमा देश बन्ने आशा जगाउन पनि देशका उत्कृष्ट जनशक्तिलाई शिक्षण पेशामा जोडेर दुरदर्शी राजनीतिज्ञ, कुशल प्रशासक , सेवामुखी व्यवसायी, सभ्य नागरिक उत्पादन गरेर ब्यबस्थित र देश सभ्य समाज निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता बनेको छ ।तसर्थ सुन्दर देश निर्माणको लागि यो ऎन संसोधन गरेर शिक्षण पेशालाई आकर्षक र गर्व गर्न लायक बनाएर बिधालयलाई सुन्दर देशको निर्माण गर्न सक्ने जनशक्ति उत्पादन गर्ने थलोको रुपमा विकास गरौ ।








प्रतिक्रिया दिनुहोस्