काठमान्डौ २२ असार
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका बन्दीसहितका ५ वटा रिट निवेदनमा सुनुवाइ सकिएको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा शुक्रबार सुनुवाइ भएको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान थालेपछि मीनबहादुर गुरुङ, सुधीरकुमार शाह, धर्मप्रसाद गौतमले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।
यस्तै यही प्रकरणमा पक्राउ नगर्नू भनी सर्वोच्चले १७ जना प्रतिवादीका नाममा अन्तरिम आदेश दिएको रिट पनि सँगै पेस गरिएको छ। टीकाराम घिमिरेसहित १७ जनाले गत साउन १९ गते ईश्वरप्रसाद खतिवडाको इजलासले अन्तरिम आदेश जारी गरेको थियो।
उक्त आदेश खारेज गर्न माग गर्दै प्रहरी प्रधान कार्यालयले पनि सर्वोच्चमा रिट दायर गरेको छ। यी सबै रिटको सुनुवाइ आज सकिएको हो।
मीनबहादुर गुरुङसहितलाई थुनामुक्त गर्न माग गर्दै सर्वोच्चमा पूर्व महान्यायाधिवक्ताद्वय सुशील पन्त, रमनकुमार श्रेष्ठ, वरिष्ठ अध्यक्ष हरिहर दाहाल लगायतले बहस गरेका थिए।
सरकारी वकिलले भने उनीहरुलाई हिरासतमै राखेर अनुसन्धान गर्न माग गरेका छन्।








प्रतिक्रिया दिनुहोस्