ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तीतो मेथी र करेलाका मीठा गुण


एबीसी न्यूज

काठमाडौं ३० वैशाख

मेथीको टुसा उमारेर अचार बनाउनु नेवारी खाना परम्परामा निकै पुरानो चलन हो । यो एउटा प्रचलित खाद्यसंस्कृति बनिसकेको छ । नेवार जातिकै कतिपय सदस्यले भने मेथी टुसाको तीतोपन मन नपरेर फालेको पनि देखिन्छ । टुसा उमारेको मेथीको अचार खाँदा अनुभव हुने तीतोपनले शरीर स्वस्थ राख्न महत्वपूर्ण भूमिका खेल्छ ।

अहिले बजारमा सहजै पाइने जंक फुडका कारण घरमै उपलब्ध कतिपय महत्वपूर्ण खानालाई बेवास्ता गरिरहेका छौं । हाम्रा घर वरिपरि वा भान्सामा हुने यस्ता खानाहरू सस्ता मात्र छैनन्, स्वास्थ्यबर्द्धक र पोषणयुक्त पनि छन् । तर हामी यस्ता खानालाई भुल्दै बजारमा बढी चर्चा हुने र विज्ञापनमार्फत प्रचार गरिएका खानाहरूतिर आकषिर्त भइरहेका छौं । यस्ता खाना महँगो मूल्य तिरेपछि सहजै उपलब्ध भए पनि स्वास्थ्य तथा पोषणका दृष्टिले निकै कमजोर हुन्छन् । जंक फुडको अधिक प्रयोगले आजको पुस्ता विभिन्न रोगको सिकार भइरहेका छन् ।

हाम्रा परम्परागत खानामा प्रयोग गरिने र स्वास्थ्य तथा पोषणका दृष्टिले निकै महत्वपूर्ण रहेको मेथी छायाँमा पर्दै गएको छ । हामीमध्ये धेरैलाई यसको प्रयोग कसरी गर्ने भन्ने कुराको ज्ञान तथा हेक्का छैन । परम्परागत रूपमा खानालाई पोषणयुक्त र स्वादिष्ट बनाउन प्रयोग गरिने मेथी आज महत्वहीन बन्दै गएको छ । यसको प्रयोगलाई बढाउन सक्दा हाम्रो परिवारको स्वास्थ्य निकै राम्रो हुन्छ ।

दालमा जीरा, मेथी फुराएर खाने नेपालीको परम्परागत बानी छ । त्यसैगरी मोहीमा मेथी र लसुन फुराएर पनि खाइन्छ । तर हामीहरूमध्ये धेरैजसोलाई मेथीको तीतोपन मन पर्दैन र झानेको दालको पनि मेथी पन्छाएर दाल खान्छौं ।

तर मेथीका गुणहरू के के छन् भनेर थाहा पाइयो भने त सायद मेथीलाई भोेजनको एक अभिन्न अंग नै बनाइन्छ होला ।

केटाकेटीलाई पेट दुख्दा वा पखाला लाग्दा मेथी जाउलो पकाएर खुवाउने चलन छ । अहिले शहरी जीवनशैलीमा यो परम्परा हट्दै गएको भए पनि गाउँघरतिर भने अझै छ । खासगरी घरका हजुरआमाहरूले यसलाई महत्व दिएको देखिन्छ । तर घरका नयाँहरूले घरायसी उपाय अपनाउनु भन्दा हतारिएर औषधि खुवाउन तम्सेको पाइन्छ । मेथी जाउलोले पेटदुखाइमा निकै आराम पुर्‍याएको हुन्छ ।

परम्परागत मेथी जाउलो पकाउने कार्य त्यति गाह्रो छैन । एकमुठी चामल र दुई मुठी दाल मिसाएर यस्तो जाउलो तयार गरिन्छ । पाक्ने बेलामा मेथी र लसुनलाई घिउमा फुराएर राखिन्छ । केही छिन छोपेर अलिकता घिउ हालेर पकाउने गरिन्छ । यसरी पकाएको मेथी जाउलो खाँदा केटाकेटीले पेटदुखाइमा आराम हुनुका साथै जाउलो स्वादिलो पनि हुन्छ ।

जाउलो पकाउने तरिका अनुसन्धान गरेर तयार गरिएको, यो कुनै नयाँ तथा आधुनिक ज्ञान होइन । यो केवल परम्परागत रैथाने ज्ञान हो । मेथीलाई फुराएर खाँदा पेटदुखाइ कसरी कम हुन्छ १ पछिल्लो समय यस्ता रैथाने खानाका बारेमा वैज्ञानिक विश्लेषण हुने गरेको छ । मेथीमा स्वास्थ्यलाई लाभ पुर्‍याउने धेरै प्रकारका गुण हुन्छन् भन्ने कुरा अहिले खोज अनुसन्धानबाट पनि सिद्ध भइसकेको छ ।

मेथीमा रहेको रेसादार पदार्थले कब्जियत घटाउन मद्दत गर्छ । साथै चिनी रोग र उच्च रक्तचाप भएका व्यक्तिलाई पनि यसको सेवनले फाइदा गर्छ । यस्तो समस्या भएका व्यक्तिले औषधि छोडेर केवल मेथीको सेवन गरेर मात्रै चिनी रोग निको हुने चाहिं होइन ।

विभिन्न खाद्य वस्तुहरूको प्रयोगले रोग लाग्न नदिन र रोगलाई नियन्त्रण गर्न मद्दत गर्छन् । तर यस्ता खाद्यवस्तु खाँदैमा आफूखुशी औषधि छोड्नु चाहिं हुँदैन । मधुमेह लगायत कुनै पनि रोगको औषधि खाने, छोड्ने वा घटाउने भन्ने सम्बन्धमा सम्बन्धित डाक्टरको राय लिनु नै सही कदम हुन्छ ।

सुत्केरी आमालाई मेथीको दानाको खीर बनाएर दिने चलन पनि छ । कतिपयलाई ‘ल मेथीको खीर पनि कसरी खाने होला रु तीतो पो हुन्छ’ भन्ने परिरहेको हुन्छ । तर मेथीलाई भिजाएर त्यसको पानी निचोरेर दूधमा पकाएर खाँदा त्यसको तीतोपन धेरै कम हुन्छ । साथै बानी लागिसकेपछि त त्यही तीतो नै मीठो लाग्छ ।

मेथीको विभिन्न तरिकाले प्रयोग गर्दा सुत्केरी आमाको दूध बढी आउँछ । गर्भवती र सुत्केरी महिलालाई स्वस्थ राख्न अनेक किसिमको महँगो र बजारिया खानेकुरा किन्नै पर्दैन । घरमा नै भएका खानेकुराले स्वस्थ रहन सकिन्छ । तीमध्ये मेथीको प्रयोग पनि गर्भवती र सुत्केरी महिलालाई स्वस्थ राख्ने एक उपाय हो ।

गर्भवती महिलालाई कब्जियत आम समस्या हो । बजारका अनेकौं औषधि प्रयोग गर्नुभन्दा भिजाएर टुसा उमारेको मेथीको सलाद खाँदा कब्जियत समाधान गर्छ । साथै मेथीमा रहेको लौह तत्वले रगत बढाउन मद्दत गर्छ । सलाद बनाउँदा यसमा कागती हालेपछि मेथीमा रहेको लौह तत्व शरीरमा राम्रोसँग मिल्छ । यो रक्तअल्पता हुनबाट रोक्न मात्र नभएर शरीरमा रगतको मात्रा बढाउनका लागि पनि निकै उपयोगी छ ।

सजिलै पाइने र घरमै विभिन्न प्रकारका परिकार बनाएर खान सकिने बहुगुणकारी मेथीको बारेमा हाम्रा धेरै ग्रामीण महिला अनभिज्ञ हुन्छन् । मेथीको महत्व बारे थाहा पाएमा महिलाको स्वास्थ्य राम्रो पार्न सहज हुन्छ । धेरै नेपाली महिलामा अहिले रक्तअल्पताको समस्या देखिन्छ । मेथीको महत्व थाहा भएमा र यसको प्रयोग गरेमा यो समस्या घटाउन सकिन्छ । साथै विभिन्न रोगको संक्रमणबाट बच्न पनि सहयोग पुग्छ ।

मेथीलाई विभिन्न परिकारमा मिसाएर वा परिकार बनाएर खान सकिन्छ । मेथीलाई मसिनो गरी पिसेर सलादमा छर्केर खाएमा पनि फाइदा गर्छ । मेथीमा रहेको अनेकथरीका गुणलाई बुझेर नै होला, दक्षिण भारतमा बालिकालाई पहिलोपल्ट महिनावारी हुँदा सक्खर हालेर बनाइएको मेथीको लड्डु महिनाभरि दिने त्यहाँको निकै पुरानो चलन हो । यसले किशोरीको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने गरेको पाइएको छ । यो चलनलाई हामीले पनि परम्पराको रूपमा अपनाउन सके यसले किशोरीहरूको रक्तअल्पता कम गर्न निकै सहयोग पुग्ने थियो ।

मेथीको दानाको स्वाद पहिलो चोटि खाँदा तीतो लाग्छ । विस्तारै स्वाद लिन पहिले मेथीको धुलो सलाद वा सुपमा प्रयोग गर्दै यसलाई खाने बानी गर्न सकिन्छ । त्यसैगरी रोटी बनाउँदा आँटामा अलिकता मेथीको धुलो हालेर पकायो भने गहुँको रोटीको गुण वृद्धि हुन्छ । यस्तैगरी दाल वा सुप पकाएर निकाल्दा अलिकता मेथीको धुलो हालेर एक छिन छोपिदियो भने दाल र सुपको पोषिलो गुण पनि बढ्न जान्छ ।

मेथीको दाना मात्रै होइन मेथीको साग पनि स्वास्थ्यको लागि अति नै उपयोगी हुन्छ । बालबालिकालाई खानामा मेथीको साग समावेश गर्न अनेक तरिका अपनाउन सकिन्छ । मेथी र आलुको सुप बनाएर वा दाल पकाउँदा मेथीको साग काटेर दालमा नै हाल्न सकिन्छ । यसरी खाँदा स्वाद पनि मीठो हुन्छ ।

भिटामिन ‘ए’ले भरिएको मेथीको साग बालबालिकालाई दिंदा त उनीहरूको आँखा र छाला राम्रो हुनुको साथै रोगसँग लड्ने शक्ति पनि बढ्छ । मेथीको सागलाई मसिनो पारेर पीठोमा मिसाई परोठा पकाउन सकिन्छ । स्कुल जाने केटाकेटीलाई बिस्कुट, चाउचाउ जस्ता महँगा तथा पोषणहीन खाजाको सट्टा मेथीको साग मिलाएर बनाएको रोटी, तरकारी दिनु निकै लाभप्रद हुन्छ ।

टुसा उमारेको मेथीमा काँक्रो, गोलभेंडा, हरियो धनियाँ, कागती र काँचो तेल र विरेनुन हालेर खाँदा अझ धेरै स्वादिष्ट लाग्न सक्छ । टुसा उमारेको मेथीमा तीतोपन पनि धेरै नै कम हुन्छ ।

मेथीको प्रयोगले कपाल र छालालाई पनि स्वस्थ बनाउँछ । मेथीमा रहेको लेसिथिन नामक विशेष तत्वले कपाललाई चम्किलोपन दिन्छ । त्यसैले त विभिन्न सौन्दर्य सम्बन्धी काम गर्ने व्यक्तिहरूले मेथीको धुलो दहीमा मिलाएर कपालमा लगाउन सल्लाह दिन्छन् । कपालको चाया हटाउन पनि धेरै महिलाले मेथी पिसेर दहीसँग भिजाएर कपालमा लगाउँछन् ।

यस्तैगरी हामीले तीतो भनेर प्रायः खान गाह्रो मान्ने तर स्वास्थ्यको दृष्टिले महत्वपूर्ण रहेको अर्को खाद्य वस्तु हो करेला । करेलालाई तेलमा फ्राई गरेर खाने गर्दा पौष्टिक तत्व नष्ट हुने र शरीरलाई आवश्यक पर्ने भन्दा बढी तेल खाइने हुन्छ । यसको सट्टा करेलालाई उसिनेर अचार बनाउन, रस राखेर तरकारी र अन्य तरकारीमा मिसाएर तरकारी बनाउन सकिन्छ, पौष्टिक गुण नष्ट हुँदैन र खाँदा पनि स्वादिष्ट हुन्छ ।

गर्मी याममा करेला खानु निकै लाभदायक मानिन्छ । यसले पाचनशक्ति बलियो बनाउँछ र भोक जगाउने काम गर्छ । मधुमेह भएकाहरूका लागि यसले शरीरमा भएको चिनीको मात्रालाई नियन्त्रित गर्न र रगतमा हेमोग्लोबिनको मात्रा बढाउन सहयोग गर्छ ।

मेथी र करेला स्वभावैले तीतो भएतापनि यसबाट पाइने लाभ निकै महत्वपूर्ण छन् । जुनसुकै खाद्य वस्तुहरू पनि खाने बानी परेपछि मीठो लाग्दै आउँछ । यी वस्तुहरूमा औषधीय गुणहरू पनि रहेका छन् ।

बालबालिकालाई करेला र मेथी जस्ता वस्तुहरूको विभिन्न परिकार बनाएर खुवाउन सके यसबाट विभिन्न सूक्ष्म पोषक तत्व पाउन सकिन्छ । यी खाद्यवस्तुहरू वयस्क लगायत सब उमेर समूहका मानिसका लागि उपयोगी छन् । त्यसकारण बजारिया खानाहरू भन्दा यस्ता खाद्य वस्तुहरूको उपयोगमा ध्यान दिन आवश्यक छ ।डा। अरुणा उप्रेती

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

आज ‘गाईजात्रा’ पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

घिस्लेन म्याक्सवेल जेफ्री एप्स्टाइनको एकमात्र सहयोगी नभएपनि उनलाई मात्र किन जेल ?

अटिजम स्पेक्ट्रम डिसअर्डर

आधुनिकतावादी वास्तुकलाको मक्का: के तपाईलाई थाह छ ?

हामी किन अप्रिय कुराहरू गर्छौं

ट्रम्प म्याकिन्लेसँग किन यति धेरै मोहित छन्?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com