ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३० हजार भारुसम्म पारिश्रमिक पाइने आशमा क्याफेको जागिर छाडेर भारत पुग्दा….


एबीसी न्यूज

भारत, ८ चैत्र ।  पोखराकी १६ वर्षीया किशोरी उमा (नाम परिवर्तन) पोखराकै एक कफी पसलमा काम गर्दै थिइन् । केही महिना अगाडि उनलाई आयुष आर्यन नाम उल्लेख रहेको फेसबुक आईडीबाट मित्रताको प्रस्ताव आयो । उनले स्वीकार गरिन् । च्याटमा कुराकानी हुन थाल्यो । त्यस क्रममा आफ्नो व्यक्तिगत र पारिवारिक विवरण सेयर गरिन् । आर्थिक अवस्था कमजोर रहेका कारण पढाइ छाडेर काम गर्नुपर्ने बाध्यता रहेकोसमेत म्यासेन्जरमै सुनाउन भ्याइन् ।आयुषले आकर्षक आम्दानी हुने जागिरको प्रस्ताव गर्न थाले । दिल्लीमा ब्युटीपार्लरको जागिर हुने र महिनाको ३० हजार भारुसम्म पारिश्रमिक पाइने उनले बताए । १० हजार रुपैयाँ त्यो पनि मुस्किलले पाइने क्याफेको जागिर खाइरहेका बेला उनी आयुषको प्रस्तावमा लोभिइन् । लामो संवाद र केहीसँगको सल्लाहपछि उनी कामका लागि दिल्ली आउने निर्णयमा पुगिन् ।

आयुषले दिएको एक महिलाको फोन नम्बरमा सम्पर्क र संवादपछि उमा काठमाडौं पुगिन् । आयुषले ती महिला आफ्नी आमा रहेको उमालाई बताएका थिए । तिनै महिलाको साथ लागेर उनी र अन्य दुई किशोरी नेपालगन्ज हुँदै भारत छिरे । उनीहरूलाई चोरबाटो हुँदै सीमा कटाइएको थियो । ‘सीमा कटाएपछि एउटा ट्याक्सीमा हालेर हामीलाई दिल्ली ल्याए,’ उमाले सुनाइन् ।

दिल्ली आइपुगेको भोलिपल्टै उमालाई यौन ग्राहककहाँ जान भनियो । सुरुमा त उनले कुरा बुझिनन् । फ्ल्याटमा सँगै रहेका अन्य युवतीले प्रस्ट्याइदिएपछि उनी झसंग भइन् अनि रोइन् । तर उपाय थिएन । उनलाई दिल्ली ल्याइपुर्‍याउने महिला र फ्ल्याटकी ‘मालकिन’ दुवै नेपाली हुन् । उनीहरूले धाकधम्की दिँदै यसमा लागे महिनाको एक लाख भारु कमाइ हुने प्रलोभन देखाए । अञ्जान ठाउँमा एक्लो परेकी उमालाई भाग्न पनि डर भयो । ‘कहाँ जाने, कसलाई भन्ने केही उपाय नै भएन । पार्लरमा काम गर्न आएकी मलाई सेक्स वर्कर बनाइयो,’ १० कक्षासम्म पढेकी उनले भनिन् ।

उमालाई दिनहुँ ग्राहककामा पठाउन थालियो । दिनमा ६ जनासम्मकहाँ जानुपरेको उनले सुनाइन् । बिरामी हुँदा र महिनावारी भएका बेला पनि आराम पाइनन् । ‘पैसा पनि दिएका छैनन् । यस्तो नारकीय जीवनबाट मुक्ति पाउँछु भन्ने आशा मारिसकेकी थिएँ,’ शनिबार साँझ उद्धार गरिएकी उमाले भनिन् । दिल्ली प्रहरी, किन इन्डिया र शक्ति समूहको संयुक्त टोलीले उमालगायत ९ किशोरीलाई एकै दिन उद्धार गरेको हो । एउटै फ्ल्याटबाट उद्धार गरिएका उनीहरू १६ देखि १८ वर्षसम्मका छन् ।

उद्धार गरिएकी खोटाङकी चिमा (नाम परिवर्तन) ले महिनाको एक लाख भारु पाइने भनिए पनि चार महिना भइसक्दासम्म आफूले पैसा नपाएको सुनाइन् । ‘लोभमा परेर दिल्ली आइहालियो, भाग्ने कुनै उपाय नलागेपछि बाध्यतावश दुष्कर्ममा लागियो,’ उनले भनिन्, ‘हामीले पाएको टिप्ससमेत दलालले खोसेर लान्थे । तिम्रो यति पैसा जम्मा भएको छ सधैं भनिरहन्थे, एकसुको पनि दिएनन् ।’ मासिक एक लाख भारु पाउनलाई १ सय ८० पटक यौन कार्यमा संलग्न हुनुपर्ने ‘टार्गेट’ तोकिएको उनले सुनाइन् ।

११ कक्षासम्म पढेकी चिमाले काठमाडौंमा केही अवधि एउटा फाइनान्स कम्पनीमा काम गरेकी थिइन् । बुबाको निधन भइसकेको र आमा अर्कैसँग हिँडेपछि आफू काठमाडौं छिरेको उनले सुनाइन् । काठमाडौंमा सेन्जी तामाङ नामकी महिलासँग चिनजान भएको र उनले दिल्लीमा क्याफेमा महिनाको २५ हजार भारु पाइने बताएपछि उसैको साथ लागेर हिँडेको उनको भनाइ छ । यौन कार्यमा लाग्नुपर्ने भएपछि प्रतिवाद गर्दा पनि नसकेको उनले बताइन् । ‘भाग्नलाई उपाय पनि गरें तर केही लागेन,’ उनले भनिन्, ‘एक प्रकारको औषधि खुवाएर भए पनि जबर्जस्ती ग्राहककोमा पठाइन्थ्यो । एकपटक बाटामा भेटिएका प्रहरीलाई सुनाएकी थिएँ, मालिकसँग मिल्दा रहेछन्, झन् कडाइ गरे ।’

काठमाडौंबाट हराएका चार युवतीको खोजतलासका लागि नेपालबाट दिल्लीस्थित नेपाली दूतावासलाई पत्राचार भएको थियो । तीन सातायता दूतावासले खोजतलासका लागि दिल्ली प्रहरी र सामाजिक संस्थासँग समन्वय गर्दै आएको थियो । दिल्ली प्रहरी, किन इन्डिया र शक्ति समूहसँग मिलेर खोजी गर्ने क्रममा ९ किशोरी र एक शिशुको उद्धार भएको दूतावासका काउन्सिलर नेपाल प्रहरीका एसएसपी उमाप्रसाद चतुर्वेदीले बताए । ‘किसनगढस्थित एक फ्ल्याटमा दिल्ली प्रहरी, किन इन्डिया र शक्ति समूहको संयुक्त टोलीले शनिबार साँझ छापा मार्दा उनीहरू भेटिएका हुन्,’ उनले भने ।

उद्धार गरिएमध्येकी नुवाकोटकी ईशा ९नाम परिवर्तन० ले फेन्सी पसलमा मासिक ३५ हजार भारु हुने काम पाइने लोभमा आफू र आफ्नी देउरानी एक दिन अगाडि मात्रै दिल्ली आइपुगेको सुनाइन् । ‘हामीलाई धेरै कुरा थाहा थिएन । देउरानीकी दुईमहिने छोरी रहेकाले उसको स्याहारमा पनि थियौं,’ उनले भनिन्, ‘आइपुगेको भोलिपल्टै प्रहरी आउँदा हामी अलमलमा पर्‍यौं । पछि पो थाहा भयो, दुष्कर्मबाट जोगिएछौं ।’

किन इन्डियाका प्रमुख नवीन जोशीले शंकास्पद फ्ल्याटमा छापा मार्दै जाँदा उनीहरू फेला परेको सुनाए । उनका अनुसार दिल्ली ल्याइपुर्‍याएका महिलालाई केही महिनापछि भारतकै अन्य सहरमा पुर्‍याउने प्रवृत्ति देखिएको छ । ‘अर्को ठाउँका ग्राहकका लागि नयाँ पनि हुने र प्रहरीको छापाबाट बच्ने पनि हुनाले त्यस्तो उपाय गरिएको पाइन्छ,’ उनले भने, ‘मालिकले पनि आफ्नो परिचय फरक फरक दिने गरेका हुन्छन् । फोन नम्बर पनि बदलिरहन्छन् । त्यही कारण उद्धारका लागि बढी मिहिनेत गर्नुपर्छ ।’

एसएसपी चतुर्वेदीका अनुसार युवतीसँग सम्पर्क बढाउने, प्रलोभन दिने, सीमा कटाउने र दिल्लीमा यौन धन्धामा लगाउने कार्यमा नेपालीकै संलग्नता देखिएको छ । ‘यस्तो कार्यलाई रोक्न परिवार, स्थानीय तह, स्थानीय सामाजिक संघसंस्थालगायत सबै सक्रिय हुन आवश्यक छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com