काठमाडौं, २२ पुस । बेलायतमा सिजनल भिसामा नेपालबाट कामदार ल्याउने एजेन्टर कम्पनीबाट लन्डनस्थित नेपाली दूतावासको नाम दुरुपयोग भएको पाइएको छ ।दूतावासका नाममा गलत वक्तव्य प्रकाशित गरी लेटरहेड, छाप र दस्तखत समेतको दुरुपयोग गरिएको दूतावासले जनाएको छ।
दूतावासले विहीबार एक वक्तव्य जारी गर्दै आफ्नो लेटरहेड, छाप र दस्तखत अनाधिकृत रुपमा प्रयोग गरी सूचना निकालिएकोप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
गत पौष १८ गतेका दिन ‘यूके सिजनल भिसा मिति परिवर्तनबारेमा’ भन्दै दूतावासको लेटरहेड, छाप र दस्तखतसहितको एक फर्जी सूचना प्रकाशित भएको थियो ।
उक्त सूचनामा सन् २००२२ का लागि भिसा आवेदन दिएका र अन्तरवार्ताको पालो नपाएका आवेदकहरुको अन्तरवार्ता सन् २०२३ को दोस्रो महिनाको दोस्रो हप्ताबाट सुचारू हुने उल्लेख थियो।
साथै, भिसाको अवधि ८ महिनाको हुने र कार्य क्षेत्रको मौसमअनुसार अन्तरवार्ताको मिति फेरि परिवर्तन हुन सक्ने गलत सूचना पनि वक्तव्यमा थियो।
दूतावासको नाम दुरुपयोग गरी कसले सूचना निकाल्यो भन्ने स्पष्ट नभइसकेपनि सिजनल भिसामा कामदार पठाउने कुनै एजेन्ट वा कम्पनीले आफ्नो स्वार्थअनुसार दुरुपयोग गरेको आशंका दूतावासको छ ।
‘आवेदकहरुलाई गलत सूचना दिएर ठगी गर्ने र आफ्नो स्वार्थ पूरा गर्ने नियतमा दूतावासको लेटरहेड र छाप दुरुपयोग भएको देखिन्छ’, दूतावासका सेकेन्ड सेक्रेटरी रामबाबु नेपालले नेपाली लिंकलाई भने, ‘यो गलत र भ्रामक सूचनाबारे सचेत रहनुहुन हामी सम्बन्धित सबैमा आग्रह गर्दछौं ।’
उनले यस कार्यमा संलग्न समूहको पहिचान गरी आवश्यक कारबाहीका लागि परराष्ट्र मन्त्रालयमा पत्राचार गरिसकिएको पनि जानकारी दिए।









प्रतिक्रिया दिनुहोस्