काठमाडौं, २१ असोज । फूलपातीको दिन (१६ असोज)यता बिहीबारसम्म मात्रै देशभर ५५६ वटा सवारी दुर्घटना भएका छन् । नेपाल प्रहरीकाअनुसार बितेका ५ दिनमा भएका सवारी दुर्घटनामा ५४ जनाले ज्यान गुमाइसकेका छन्, १ हजार ५७ जना घाइते भएका छन् । प्रहरीले गत वर्षसम्म तुलना नगरेपनि यो वर्ष गत वर्षको दशैंमाभन्दा बढी दुर्घटना भएको अनुमान गरेको छ । नेपाल प्रहरी प्रवक्ता टेकप्रसाद राईका अनुसार फूलपातीयताको ५ दिनमा दुर्घटनाको दर ह्वात्तै बढेको छ । ‘फुलपाती यता १ हजार ५३० सवारीलाई ट्राफिक नियम उल्लंघनमा कारवाही गरेको प्रहरीले जनाएको छ । यो तथ्यांकले यो वर्ष पनि दशैंको यात्रा सुरक्षित गराउने सरकारको प्रतिवद्धता पुरा नभएको देखाएको छ ।
प्रवक्ता राईका अनुसार दशैंमा यात्रुको चाप उत्तिकै छ, सडक र राजमार्गभरि खाल्डा खुल्डी उतिकैछन्, यस्ता जीर्ण सडकमा यान्त्रिक परीक्षण नगरी तीव्र गतिमा दौडिरहेका सवारी राजमार्गमा दशैंको समयमा दुर्घटनामा परिरहेका छन् । बिहीबार हेटौंडा–अमलेखगञ्ज खण्डको ३ नम्बर पुलनजिकै ब्रेक फेल भएको बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भयो । गत सोमबार मात्रै यही सडक खण्डको चुरीयामाई मन्दिर नजिक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ३६ जना घाइते भएका थिए । दशैंकै बीचमा यो वर्ष पनि यस्ता अनेकन दुर्घटनाहरु भएका छन् । जसमा धेरै अंगभंग पनि भएका छन् । दशैंमा दुर्घटना बढ्ने जोखिम भएरै सरकारले काठमाडौं उपत्यकाबाट बाहिरिने लामो तथा छोटो दुरीमा चल्ने सवारी साधनले अनिवार्य यान्त्रिक परीक्षण गराउनु पर्ने नियम बनाएर सूचना जारी गरेको थियो । तर, बनावटी सूचनाले दशैंको समयमा सम्भावित दुर्घटना टार्न सकेन ।
लामो दुरीका सवारी साधनमा दुईजना चालक अनिवार्य राख्नुपर्ने, सवारी साधनमा सरोकारवालाको फोन नम्बर यात्रुले देख्ने गरी राख्नुपर्ने, टाइम कार्ड पालना गर्नुपर्ने र गाडीमा झुण्डिएर र छतमा बसेर यात्रा गर्न नपाइने व्यवस्थाले पनि दशैंमा ठूला दुर्घटना टार्न सकेन ।बिहीबार घटना भएको क्षेत्रमा पनि टाइम कार्ड लागू थियो । तर, टाइम कार्डको व्यवस्था प्रभावकारी नभएका कारण पनि दुर्घटना घट्न सकेन ।प्रहरी प्रवक्ता राईका अनुसार सडक र गाडीको अवस्था जीर्ण भइसक्दा पनि दौडाइरहने प्रवृत्तिका दुखद परिणाम यस्ता दुर्घटना हुन् । राजमार्ग र ग्रामीण क्षेत्रमा चल्ने यात्रु कोचेर धेरै सार्वजनिक सवारीको प्राविधिक अवस्थाले कुनै पनि बेला दुर्घटनामा पर्न सक्ने खतरा रहेको प्रहरीको निष्कर्ष छ ।








प्रतिक्रिया दिनुहोस्