काठमाडौं, २७ भदौ । मधेश प्रदेशमा आगामी चुनावको सरगर्मी बढ्दो छ । मधेशमा देशका प्रमुख राजनीतिक दलहरुदेखि मधेश केन्द्रीत दलहरुबीच रोचक प्रतिस्पर्धा हुने गरेको छ । यो समय सत्ता साझेदार दल जनता समाजवादी पार्टी विभाजन भई महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी छुट्टै चुनावमा जाँदैछ भने डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी गठन भएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउतले पनि यो पटक मधेशमा पुराना नेताहरुलाई चुनौती दिदैछन् ।
मधेश प्रदेश अन्तर्गत जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सप्तरीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिस भए । उनी यसअघि २०७४ मा पनि सप्तरी २ बाट विजयी भएका थिए । जसपाको सप्तरी १ बाट हाल सासद रहेका डा. सूर्यनारायण यादव सिफारिस भएका छन् । नेपाली कांग्रेसका प्रमुख सचेतक चित्रलेखा यादव, पूर्व कोषाध्यक्ष सीतादेवी यादव लगायतका नेतृहरुले यसअघि सिरहाबाट सांसद बनेका थिए । लोकतान्त्रिक समाजवादी पार्टीले धनुषा क्षेत्र नम्बर २ बाट प्रमुख सचेतक तथा पूर्वमन्त्री उमाशंकर अरगरियाको नाम सिफारिस गरेको छ । यसअघि २०७४ को निर्वाचनमा अरगरियाले संघीय समाजवादी फोरमबाट १४ हजार मतान्तरले विजयी भएका थिए । उनीविरुद्ध एमाले र माओवादी गठबन्धनका उम्मेदवार रामचन्द्र झा पराजय बने । यो पटक पाँच दलीय सत्ता गठबन्धनका दलहरु चुनावी तालमेल गर्ने कसरतमा छन् ।
जसपाले धनुषा ४ प्रतिनिधिसभा क्षेत्रका लागि १२ जना उम्मेदवार सिफारिस गरेको छ । सिफारिसमा पर्नेमध्ये दुई जना जनकपुरधामकै मेयरमा पराजित उम्मेदवार पनि छन् । कांग्रेसले धनुषाबाट ११७ जनाको नाम सिफारिस गरेको छ भने नेकपा माओवादी केन्द्रले ३२ जनाको नाम सिफारिस गरेको छ । माओवादीले धनुषा १ बाट मातृकाप्रसाद यादव र धनुषा २ बाट योगकुमार बरबरियाको नाम सिफारिस गरेको छ । माओवादीले धनुषा क्षेत्र नम्बर ३ बाट सौखिलाल पासवान, युगेश्वर यादव र ४ बाट देवसागरको एकल नाम सिफारिस गरेको छ ।
जनमत पार्टीका अध्यक्ष सीके राउत सप्तरी २ बाट यसपटक पहिलो चोटि संसदीय निर्वाचन लड्दैछन् । जेलमा रहेको मोहम्मद अफताव आलमलाई कांग्रेसले रौत्हट क्षेत्र नम्बर २ बाट उम्मेदवार सिफारिस ग¥यो । क्रुर घटनामा जेल परेका आलमको टिकट सिफारिसबारे चर्को आलोचना भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने धनुषा ३ बाट जुलीकुमारी महतो, धनुषा ४ बाट रघुवीर महासेठ, रौतहट १ बाट अजय गुप्ता, रौतहट ३ बाट प्रशु साहको नाम सिफारिस गरेको छ । यसैगरी, एमालेले बारा २ बाट बलबीर चौधरी, बारा ४ बाट देवनारायण चौधरी, सिरहाबाट लिलानाथ श्रेष्ठ र पर्सा ३ बाट राजकुमार गुप्ताको नाम सिफारिस गरेको छ । वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा जस्तै संघ र प्रदेशको निर्वाचनमा पनि एमालेले एक्लै लड्नेगरी तयारी अगाडि बढाएको छ । यद्दपि, पछिल्लो समय लोसपाले एमालेप्रति केही झुकाव बढाएको बुझिन्छ ।
लोसपाका अध्यक्ष महन्थ ठाकुर बारा क्षेत्र नम्बर ४ बाट सिफारिस भएका छन् । तात्कालीन राजपा नेपालका अध्यक्षमण्डलका नेता ठाकुर यसअघि महोत्तरी ३ बाट भारी मतान्तरले विजयी भएका थिए । नेपाली कांग्रेसका सहमहामन्त्री उमाकान्त चौधरी बारा क्षेत्र नम्बर १ बाट सिफारिस छन् । जसपाबाट पर्सा १ मा वन तथा वातावरण मन्त्री प्रदीप यादवको नाम सिफारिस छ । २०७४ यता मधेश केन्द्रीत दलहरु विभाजन भएका छन् र नयाँ दलहरु गठन भएका छन् । यसर्थ पनि, मधेश प्रदेशमा यसअघिको भन्दा आगामी निर्वाचन थप रोचक हुने देखिएको छ ।








प्रतिक्रिया दिनुहोस्