भक्तपुर २६ भदौ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशको आर्थिक स्थिति बलियो बनाउनका लागि कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताएका छन् ।आईतवार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशको आर्थिक विकासको मुख्य मेरुदण्ड कृषि नै भएको बताएका हुन् ।
उनले देशको अर्थतन्त्र झनै पछाडी धकेलिँदै गएको भन्दै अर्थतन्त्रलाई बलियो बनाउन कृषिमा आधारित उद्योगहरुको विकास गर्नुपर्ने बताए ।उनले कृषिमा गरिने लगानी देशको लागि आवश्यक भएको बताए । अध्यक्ष प्रचण्डले कृषिपछि जलविद्युत, पर्यटन, जडिबुटी र खनिजको विकासले पनि देशको अर्थतन्त्रमा टेवा पुग्ने बताए ।उनले भने, ‘देशको लागि, समाजको लागि र हामी सबैको लागि आवश्यक कुरा भनेको कृषि नै हो । कृषिमा आत्मनिर्भर हुने कुरा र कृषिमा आधारित उद्योगहरुको विकास गर्ने कुरा नेपाल र नेपालीहरुको लागि सबैभन्दा महत्वपूर्ण कुरा छ । यो हामी सबैको लागि ठूलो चिन्ताको विषय हो । ५०÷६० वर्ष अगाडि हामी खाद्यान्नमा आत्मनिर्भर थियौँ । हामी सबैचिज निर्यात गर्न सक्ने अवस्थामा थियौँ ।’








प्रतिक्रिया दिनुहोस्