वीरगञ्ज, २३ भदौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले न्यायोचित तवरमा सिटको बाँडफाँट नगर्ने हो भने गठबन्धनको अर्थ नभएको बताएका छन् ।वीरगञ्जमा स्थापना भएको मधेस विश्व विद्यालयको कार्यालय भवनको उद्घाटन गर्दै अध्यक्ष यादवले भने ‘तालमेल गर्दा न्यायोचित हिस्सा र भागेदारी भएन भने यस खालका गठबन्धनको कुनै अर्थ रहँदैन । सब दललाई वीन वीन हुने गरी अगाडि बढ्नुपर्छ ।’गठबन्धनमा जसपाले ३२ सिट दाबी गरेको पनि उनले बताए । ‘हुन त हाम्रो दाबी ३२ सिटमा छ ।
यो छलफल र समझदारीको विषय हो, समझदारी गर्दा कहाँ गएर टुंगिन्छ । त्यसलाई स्वीकार गरेरै अघि बढ्छौं’, उनले भने ।सिट बाँडफाँट कार्यादललाई प्रतिवेदन बुझाउन भनिएको बताउँदै उनले त्यो प्रतिवेदन आएपछि नेताहरुसँग बसेर छलफल गरी बाँकी बाँडफाँट टुंग्याउने उनले बताए ।बुधबार मधेस विश्व विद्यालयको स्थापना सभामा सरिक भएका यादवले बिहीबार बिहान नेशनल ट्रेडिङमा रहेको कार्यालयको उद्घाटन गरेका थिए ।
नेसनल ट्रेडिङको १५ कठ्ठा जमिन लिएर विश्व विद्यालयको कार्यालय स्थापना गरिएको छ । पर्सा जिल्लामा १ सय विघा जमिन खोजेर विश्व विद्यालयका लागि अन्य पूर्वाधार निर्माणको काम अघि बढाउने तयारी छ ।








प्रतिक्रिया दिनुहोस्