ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देउवा – दाहाल किन जनमतको अपमान गर्दैछन् ? मिडियामा यस्तो छ मारामार !


एबीसी / संवाददाता

काठमाडौं । हालै सम्पन्न भएको स्थानीय निर्वाचनका बेला सहरिया जनमतले दलहरुप्रति चरम अरुचि प्रकट गरेको छ । गाउँको तुलनामा शहरमा धेरै कम मतदान भएको छ । काठमाडौं र धरानजस्त शहरले अराजनीतिक बाटो समातेको छ । यस्तो कसका कारणले भयो ? जबाफ स्पष्ट छ –मुख्य भनिएका दल र तिने थोपरेका आदेशका कारण । हालै श्रीलंकामा दर्जनौ सांसद सडकमै मारिए । राष्ट्रपति कार्यालय आम जनताले कव्जा गरे । प्रधानमन्त्री कार्यालय जलाइयो । त्यति ठूलो घटना हुँदा कसैले त्यो काम गलत भएको भन्न सकेन । दुई दिन अघि मात्र दुइ दुई पटक इराकको संसद भवन आम जनताले कव्जा गरेका छन् । सरकार र प्रधानमन्त्री तथा मन्त्रीहरु त्राहीमाम भएका छन् ।

विश्वभर आर्थिक मन्दी भएका बेला नेपाल पनि त्यही संकटको दोसाँधमा खडा छ । जसलाई राष्ट्रिय ढुकुटीको जिम्मा दिइएको थियो, उनले नै आफूले मात्र होइन कि देशका विचौलिया, दलाल र कमिशनखोरलाई ढुकुटीको चावी सम्मने अपराध गरे । त्यो अपराध आम रुपमा जनताका नजरमा कुनै हालतमा खण्डन हुनसक्दैन । दिउँसोको घामजत्तिकै तथ्यलाई राज्य आतङ्कमार्फत ढाकछोपको नाटक ‘नाङ्गो वादशाहको सुन्दर लुगा‘ भन्दा बढी केही हुनसक्दैन ।

विधि, प्रक्रिया, विधान र परम्परा सबैलाई च्यातच्युत पारेर कथित ‘क्लिन चिट‘ को नौटङ्कीबाट अघि बढेर उनैलाई पुनः नियुक्ति गर्नु भनेको समग्रमा गणतन्त्रमाथिको भद्धा मजाक हो । जुन कुकृत्य बद्नाम भनिएका राजा ज्ञानेन्द्रले समेत गर्ने धृष्टता गरेका थिएनन् । उनले एकको बदला अर्को पात्र खोज्थे । त्यो आफैंमा सही कृत्य नभए पनि लोकलाजको सम्मान अवस्य थियो । तर यतिबेला यति गहिरो राजनीतिक तथा भूराजनीतिक संकट चुलिंदै गरेका बेलो दल र स्वयं नेताहरुकै विद्रुपीकरण गर्ने काममा यतिबेला देउवा, दाहल र गठबन्धनका मुखियाहरु आँखा चिम्लेर अघि बढेका छन् । यसले गणतन्त्र र जागरुक जनमतकै चिरहरण गरेको छ ।

शर्मालाई पुननियुक्त गरेपछि र पहिले मिडियामा आइरहेको कुनै कुरा पढ्दैनन् । के ति मिडिया सत्ता गठबन्धन विरोधी प्रतिपक्षदलबाट निर्देशित छन् ? यिनै मिडिया होइनन र ओली सरकार र त्यो बेलाको शासकीय प्रवृत्तिको उछितो काढ्ने ? प्रतिपक्षी दलको नजरमा भन्ने हो भने अहिलेको सत्ता गठबन्धन र आम मिडियाको चोचोंमोचो मिलेको भन्ने सम्मको आरोप छ । तर देउवा–दाहालले सन्निकट चुनावलाई समेत ख्याल नगरेर यस्तो बलमिच्याईं किन गरेका छन् ? के शर्मा मार्फत जम्मा गर्ने अकूल कालो धनबाट जनमत सहजै खरिद गर्न सम्भव छ ।

हालै भारतका विभिन्न राज्यका मन्त्रीहरुका घरबाट बरामद भएका करौंडौ रकमले जनआक्रोश मत्थर पार्न सक्यो र ? श्रीलंकाको राष्ट्रपति भवनमा थुपारिएको धनले राजापाक्षले देशमा समेत बस्ने एक इन्च जमिन नदिएको घटनाबाट किन सिक्दैनन् हाम्रा शासकहरु ? के देउवा–दाहालले यी समाचार पनि हेरेका छैनन् ? नेपाली जनतामा श्रीलंकाली जनतामा भन्दा बढी नेता र दलप्रति आक्रोश छ भन्ने कुरा जतिबेलाम्म यी शासकले बुझ्न ढिला गर्छन्, त्यति नै उनीहरुले आफ्नै बचेखुचेको औचित्य पनि समाप्त गर्ने निश्चित छ ।

शर्मालाई देउवा–दाहालले चोख्याएपछि सामाजिक सञ्जाल र मिडियामा व्यक्त केही प्रतिनिधिमूलक प्रतिक्रिया हेरौं देशको हालत कस्तो छ ?

सबैभन्दा पहिले त शर्मालाई पुनः नियुक्ति गरेपछि देउवा र दाहालले नै सार्वजनिक रुपले बधाई भन्न सकेनन् । उनीहरुका ट्विटर र फेसबुपेज मृत जस्ता देखिएका छन् । आफ्नै कृत्य आफैले भन्न नसक्ने काम किन गर्दैछन् शासकहरुले ? के देउवा दाहाल र उनीहरुका कार्यकर्ता कसैले पनि आमसञ्चार माध्यम र सामाजिक सञ्जालको आक्रोश देख्दैदेख्दैनन् ? शर्मालाई पुनः नियुक्ति गर्न दाहाल र देउवासँग दबाब दिन जानेहरुको इतिहास कस्तो छ ? त्यो समेत हेक्का राख्न किन जरुरी ठानिएन् ? स्वयं प्रचण्डको मनमा एउटा बुझाई र व्यवहारमा ठिक विपरित काम गर्न किन विवश छन् ? कतै जब्बर ‘प्रभावकर‘ ले प्रचण्डलाई पत्तक्कै लत्रने कसरी बनाए ? यस बारेमा माओवादी पार्टीको जीवन्तता चाहने कसैले सोचेको छ ?

सामाजिक सञ्जालमा फेशनका रुपमा र उनकै कथित गुटका केही भाइबैनीहरुले बाहेक कसैले पनि फेसबुक फेस देखाउन नसक्ने अवस्थाले के संकेत गरिरहेको छ ? यी गम्भीर प्रश्नमाथि जबसम्म मसिनो तरिकाले विमर्श हुँदैन । तवसम्म सत्यानाशको बाटोमा लत्रनु बाहेक के नै विकल्प होला र ?

अब हेरौं जनार्दनको पुन नियुक्ति पछि देखिएका आम प्रतिक्रिया । कांग्रेस नेतृ डिला संग्रौला शर्माको पुननियुक्तिमा भन्छिन् – अर्थ मन्त्री मा पुन शर्मा न हर्ष न बिस्मात जिज्ञासा‘ ।

कांग्रेस नेता गुरु घिमिरे ट्विट गर्छन् – ‘अर्थमन्त्रीको रुपमा जनार्दन शर्माको पुनर्नियुक्ती राष्ट्रिय अपराधप्रतिको नजरअन्दाज र उदासिनता हो । हाम्रो समाजमा समान्य चोरी÷डकैतीलाई सख्त कारवाही गर्ने कानूनी प्रबन्ध छ । तर आज राष्ट्रमा गम्भीर अपराध गर्ने शर्माको पुनरागमन लोकतन्त्रमाथिको उपहास हो । लोकतन्त्रमा जे पनि गर्न पाइन्छ र ? ‘ घिमिरे नेकाका पूर्व केन्द्रीय सदस्य तथा प्रदेश नं. १ का अध्यक्ष हुन् । घिमिरेले नै यति भनिसकेपछि अरुले केही बढी भनिरहनु पर्ने नै देंिखंदैन ।

उता एकजना ट्विर प्रयोगकर्ता विश्वदिप लामिछाने नेका नेताहरुलाई व्यंग्य गर्दै लेख्छन् – ‘अर्थ मन्त्री नियुक्त भएको उपलक्ष्यमा आज त कांग्रेसले उर्दि जारिगरेर घर घर दिपावली मनाउन लगाउनु पर्ने हो ।‘

खगेन्द्र संग्रौलाले ट्विट गरे – कुनै जादुमयी रहस्यले सिसी टिभी फुटेज मेटिदियो ।

सत्ताको डणडाले विवेक हरण गरी अर्थका नोकरशाहलाई सुगा बनाइयो ।’

सत्ताको घोेडे साबुनले जस्तोसुकै दुष्कर्म पनि धोइएर शासक चोखिँदो रहेछ । नपत्याए,मान्यवर, पुनः बहालउन्मुख अर्थमन्त्री माननीय जनार्दन शर्माको विजयी मुस्कान नजर होस् ।’ यिनै संग्रौला सहितको नागरिक आन्दोलन ओली सरकार विरोधी मोर्चा थियो । त्यसकै जगष यी कमाण्डर अर्थमन्त्री भइरहेका छन् । विचरा संग्रौलाहरु ट्विटरमा रोइरहेका छन् । संग्रौला शर्मा पुन नियुक्ति हुनु अघिल्लो दिन नै यो ट्विट गरेका थिए । पुन नियुक्ति भएपछि कान्तिपुरमा छापिएको टिप्पणी ’हुल्लडबाज प्रवृत्ति’को पुनरोदय‘ (यो घटनाले स्पष्ट भएको छ– शर्मा मन्त्री भएदेखि विगतमा गरेका काममा उनी एक्लै थिएनन् । देउवा र दाहालको निर्देशन उनले पालना गरेका थिए ।) जो सम्पादक सुधिर शर्माले ट्विट गरेका थिए, त्यसैलाई रिट्विट गरेर काम चलाएका छन् ।

लेखक शंकर तिवारी चिन्ता गर्छन् – अर्थमन्त्री जनार्दन शर्माको पुनर्वहाली गणतन्त्र माथिको कालो धब्बा हो ।‘ चर्चित अघिवक्ता भिमार्जुन आचार्य लेख्छन् – के गठबन्धन भित्र अर्थमन्त्री बन्न सक्ने क्षमता भएका अरू कोही सांसद जीवित थिएनन ? एउटा व्यक्तिको लाज र अपराध छोपीदिन यो हदसम्मको भद्दा प्रहसन गर्न सरकार र संसदले कसरी सकेको होला? सरकार, संसद र सम्वद्द दललाई गहिरो खेद‘ । पूर्व माओवादी नेता तथा लेखक मुमाराम खनाल ट्विट गर्छन् – प्रम शेरबहादुर देउवा र माके अध्यक्ष पुष्पकमल दाहालले जनार्दन शर्मालाई होइन, ’लोकतन्त्र’लाई ’लास’ बनाएर अर्थमन्त्रालय पठाएका हुन् । देउवा/पुकदा लोकतन्त्रको पार्थिव शरिरमा श्रद्धान्जली दिए हुन्छ ।‘ पत्रकार नारायण वाग्ले दिक्क मानेर ट्विट गर्छन् – देऊ बा शासनमा सुशासन फेरि डिलिट भो‘

देशको सवैभन्दा ठूलो मिडिया हाउस कान्तिपुर मिडिया ग्रुपको नेपाली दैनिक कान्तिपुरले ‘ देउवा–दाहालको निर्लज्ज शासन‘ नामक विशेष सम्पादकीय लेखेको छ । ‘आर्थिक अपराधको संगीन आरोप लागेको व्यक्तिलाई संसदीय छानबिनको नौटंकी–मञ्चमा चोख्याएको अभिनय गराई पुनः जिम्मेवारी सुम्पिएर उनीहरूले स्वेच्छाचारी राजको झल्को दिएका छन् । यसबाट पूर्वकार्यकालमा आफूले गरेका हर्कतका निम्ति अर्थमन्त्री शर्मा निमित्त नायक मात्र थिए, खास सूत्रधार त देउवा र दाहाल नै रहेछन् भन्ने देखिएको छ । नेताद्वयमा देखिएको ‘हामीले जे गरे पनि हुन्छ’ भन्ने यस्तो बलमिच्याइँ लोकतन्त्र तथा उत्तरदायी शासन व्यवस्थाको श्रीवृद्धिका निम्ति सर्वथा घातक छ ।‘

सम्पादकीयको आशय हो । अर्को हिसाबले भन्यो भने सहरिया जनमतको वास्तविकता भावना समेत हो । आजकल देउवा–दाहाललाई यस्ता कुराको मतलव नै छैन । अघिल्लो दिन कान्तिपुरले नै एक टिप्पणी मार्फत् ‘प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष दाहालले उल्टै शर्मालाई रेडकार्पेट विच्छ्याएर अर्थतन्त्रमा लामोहात गर्ने पुनः अवसर दिए । यसको कारण हो– देउवा–दाहालबीच विस्तार भइरहेको ’वित्तीय गठबन्धन’ र त्यसको सहजीकरणमा शर्माको भूमिका ।‘ टिप्पणी लेखेको थियो ।

कान्तिपुरले मुख्य समाचार शीर्षक ‘अधुरा काम फत्ते गर्न फर्काइए शर्मा‘ समाचारमा लेखेको छ सत्ताको बलमा संसदीय छानबिन समितिलाई विफल बनाएर शर्मालाई ‘चोख्याउँदै’ मन्त्रालयमा फिर्ता गरिएको हो । आफ्ना स्वार्थ पूरा गर्न देउवा दाहालले शर्मालाई अर्थ मन्त्रालयमा फर्काएका हुन् भन्नेमा कांग्रेस र माओवादीका नेता स्पष्ट छन् । ‘तपाईं फेरि पनि अर्थमन्त्री हुनुपर्छ भनेर शर्मालाई हाम्रै अध्यक्षले उक्साउनुभएको हो,’ माओवादीका एक नेता दाबी गर्छन् । ती नेताका अनुसार दाहालले शर्मामाथि लागेका आरोपको प्रतिवाद गर्ने आश्वासनसमेत दिएका छन् ।

ती नेताले भनेझैं संसदीय छानबिन समितिले गत शुक्रबार संसद्मा प्रतिवेदन बुझाएकै दिन दाहालले शर्मा निर्दोष रहेको दाबी गरेका थिए । ‘सबैतिरबाट बजेट राम्रो छ भन्दै थिए, राति १२ बजे अनधिकृत मान्छेलाई ल्याएर, करका दर हेरफेर ग¥यो अर्थमन्त्रीले, यसलाई कारबाही गर्नैपर्छ भनेर प्रचार गरियो,’ उपत्यकामा आयोजित एक कार्यक्रममा दाहालले भने, ‘त्यसपछि हामीले, अझ मैले नै छानबिन गरौं भनें । खाएको विष पो लाग्छ, नखनाएको विष त लाग्दैन । छानबिन समितिले प्रतिवेदन बुझायो, केही प्रमाण भेटिएन । उहाँ निर्दोष हुनुहुन्छ ।’

कान्तिपुर दैनिकले शर्मा अर्थमन्त्री भएपछि के के बद्माशी गरे भन्ने सवस्तिार लेखेको थियो । यसरी अर्थमन्त्री बनेपछि शर्माका मुख्य १३ कर्तुत शिर झुकाउने दर्जन कर्म १.बजेटको अघिल्लो मध्यरात अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराएर करका दर हेरफेर २. अनधिकृत व्यक्तिलाई सरिक बनाएको विषयमा प्रश्न उठेपछि प्रमाण मेटाउन सीसीटीभी फुटेज नै गायब ३. अछाम घर भएका पृथ्वी शाह, परिवार र कम्पनीका नाममा विदेशबाट आएको शंकास्पद रकम निकासा दिन राष्ट्र बैंकलाई अनधिकृत निर्देशन ४. शंकास्पद रकम खुलाउन अर्थमन्त्री नै सक्रिय भएको समाचार सार्वजनिक भएपछि उल्टै गभर्नरमाथि छानबिन र निलम्बन ५. सिमेन्टदेखि स्टिलसम्मका उद्योगमा आउने ठूला लगानीको आयस्रोत नखोजिने विवादास्पद व्यवस्था ६. ठूला स्टिल उद्योगले प्रयोग गर्ने स्पन्ज आइरन आयातमा शून्य कर, बिलेट मगाउने साना उद्यमी मर्कामा ७. निजी जलविद्युत् आयोजनालाई विभिन्न शीर्षकमा २१ वर्षसम्म कर छुट ८. एसेम्बल गरी यातायात साधन उत्पादन गर्ने कम्पनीलाई कर छुट, तर उपभोक्तालाई आयात बराबरकै मूल्य ९. हिमालयन पुनर्बिमा कम्पनीलाई लाभ दिने नीति १०. जग्गा हदबन्दी खुला गरी ठूला कारोबारीलाई प्रोत्साहन ११. विद्युतीय सवारीसाधनमा अन्तःशुल्क तथा भन्सार वृद्धि १२. सेनिटरी प्याड, पाम तेल, विद्युतीय तारमा विदेशबाट आयात हुने सामग्रीमा भन्सार छुट, स्वदेशी उद्योगलाई बढी कर

शर्माको राज्य विरुद्धको बद्मासीलाई विज्ञापनको रुपमा बाहिर ल्याएको अन्नपू्र्ण दैनिकले भने शर्मा पुनःनियुक्ति प्रकरणमा आश्चार्यजनक मौनता जस्तै देखाएको छ । केवल शर्मा स्क्यान्डलको पर्दाफास गर्ने रिपोेटर सुरेन्द्र काफ्लेको एक समाचार टिप्पणी बाहेक ।

अन्नपूर्णले यस अघि शर्मा स्क्यान्डलका बारेमा यस्ता समाचार र टिप्पणी प्रकाशित गरेको थियो ।

– बिहानी प्रहर जब पूर्वनासुले बजेट चलाए… – अर्थ मन्त्रालय भन्छ : १३ दिनमै सीसीटीभी फुटेज मेटियो, कानुन भन्छ ः तीन महिना सुरक्षित नराखे कारबाही अर्थ मन्त्रालयले मेट्यो सीसीटीभी फुटेज – अर्थमन्त्रीज्यू, सीसीटीभी फुटेज गायब गर्ने को हो ? (फोटोफिचर) – सीसीटीभी फुटेज मेटाउने अर्थमन्त्रालयका अन्य व्यक्तिलाई पनि कारवाही गर्नुपर्छ : योगेश भट्टराई – अर्थमन्त्री जनार्दन शर्मामाथि छानविन गरेको विशेष समितिको प्रतिवेदनमा के छ ? (पूर्णपाठ) – जनार्दन शर्मा र रघुनाथ घिमिरेको ‘किन चाहियो’ कल डिटेल ? – छानबिन ‘अपूर्ण’

शायद यस्तै प्रवृत्तिलाई नजिकबाट नियालेका पत्रकार विजय पाण्डेले रोचक ट्विट गरेबाट राजनीति मात्र होइन मिडिया पनि उस्तै उस्तै त भएको छैन भन्न सकिने प्रशस्त ठाउँ देखिन्छ । पत्रकार विजय पाण्डे मिडिया र शर्मप्रति कटाक्ष गर्दै ट्विट गरेका छन् – न फुटेज फेला पर्यो। न फोटो छाप्न सक्यौ। अब लाजै नमानी बिशेष सम्पादकीय , लेख आदि लेख्न अघि यस ट्वटिको शिरानमा राखिएको एष्ललभम ट्विट फेरी पढनु। सेठजीहरु हास्दै थिए। फोटो छापिएन भनेर । ट्विटर प्रयोगकर्ता टेकराजुवेदी रुटिन अफ नेपाल वन्दले मागेको मतमा प्रतिक्रिया जनाउंदै भन्छन् – चि मुसि चि मुसाले खायो सिसिटभि खै मुसा? मन्त्रालय छिर्याे‘ अर्का ट्विटर प्रयोगकर्ता – ‘खासमा यीनको पार्टीमा यिनी मात्रै अर्थशास्त्र पढेको रैछन आरु सबैले अप्सनल म्याथ पढेको रैछन भन्ने निष्कर्ष पाईयो‘ भन्दै माओवादी नेताहरुको कमजोर शैक्षिक स्तरप्रति व्यंग्य गरेका छन् । अर्का ट्विटर प्रयोगकर्ता प्रदीप खनालको वितृष्णा यस्तो छ – मान्छे भएसी अलिकती लाज, सरम, घिन भन्ने चिज पनि हुनुपर्छ“ भन्थे, नभएनी हुने रैछ‘ । पत्रकार सुजित महत अजातशत्रु नामक ट्विटर ह्याण्डलबाट नेपाली नेताहरुको वास्तविक मनोदशालाई प्रष्ट्याउनेगरी लेखेका छन् –‘शेरबहादुर–प्रचण्डले ’हामी हाम्लाई जे मन लाग्छ गर्छौ, मु…..कथित जनता हो जे ख्याँस्न सक्छौ ख्यँस’’भन्दिए । आगे …जी जनताको मर्जी ।‘ वास्तवमै गठबन्धनको गन्जागोलमा उनीहरुले एक वर्षमा गरेको क्रिकलाप यही प्रवृत्तिको प्रहसन मात्र देखिएको तथ्यलाई कसैले नकार्न सक्दैन ।

‘कस्तो फोहोर मिस्सिएको आँखा होला एमालेको । अझै सत्य देख्न सक्दैन । बधाई छ धैर्यवान जनार्दन लाई‘– रामनारायण विडारी ।

फुटेज ड्यामेज गरेर कल डिटेल नदिएर सत्ताको चरम दुरुपयोग गरेर मा. वकिल समेत लागेर अपराध र कुकर्म संरक्षणको नजिर बन्यो यो प्रकरण । – सरेश नेपाल, एमाले नेता ।

‘देशको चेतना निःशब्द भयो । प्रमको पुरै मंत्रिमंडल र नेकामा प्रमलाई अभिनन्दन गर्ने सबैका लागि परमार्थ प्राप्तिको एक मात्र उपयुक्त मार्ग भने अब अरूण नदीको भीरमा उभिएर ‘मनीषी’ योगमायाको बाटो अबलम्वन गर्ने देखियो । धिक्कार छ । –पूर्व मन्त्री जयप्रकाश गुप्ता ।

‘अब एमालेले कतै बाटो वा घरतिर सिसि क्यामेरा देख्ने बत्तिकै एकपटक माओवादी ईमान्दारीता सम्झिएर झस्कने छ‘ अनि त्यो बिरामी बिदामा बसेका अर्थ सचिबले अब सुत्केरी बिदा लिन्छन कि के गर्लान ? किनकी माओवादी नेता प्रभाकर गर्वका साथ मन्त्रालय आईसके‘.. बधाई छ मन्त्री जनार्दन शर्मालाई – माओवादी निकट पत्रकार निर्मल ज्ञवाली । एमाले सचिव तथा नेकपाकालमा प्रचण्ड निकट युवा नेता योगेश भट्टराईले मर्मस्पर्शी कविता लेख्दै भनेका छन् । ‘प्रिय कमरेड सिएमः जुन ईनिङमा छक्का ! चौका हान्ने अबसर थियो प्रत्येक बलमा विकेट लिने अबसर थियो खेल मैदान भात्काईयो, ब्याट भाँचियो खेलको नियम उलङ्घन गरे बापत रेस्टिकेटमा परियो मौका गुम्यो कमरेड सिएम अब अर्को ईनिङ खेल्ने रहर त लागेको छ छक्का÷ चौका हान्ने र विकेट लिने चाहना छ तर के गर्नु शरीरमा तागत छैन, हातमा बल छैन खेल मैदानको सिमाना नै टाढा देखिन्छ क्याच गर्न खोज्यो चिप्लिहाल्छ । कुनै वेला फुटवल खेलाडी भएर आफ्नै पोस्टमा आत्माघाती गोल पनि गरियो त्यसैले प्रिय कमरेड सिएम अब पेभेलिएनमा बसेर मैदानका खेलाडीको हौसला बढाउनु नै बेस होला रोजाइ यहाँ कै । रिसानी माफ पाउँ ।

ट्विटर प्रयोगकर्ता पुस्कर कंडेल अझ निराशापूर्वक भन्छन् – ‘कांग्रेस खतम पार्न देउवा त कम्न्युनिष्ट खतम पार्न प्रचण्ड प्रयोग गरिएका पात्र हुन भन्ने थियो तर त्यतिमात्र होइन रहेछ यिनीहरू त लोकतान्त्रिक गणतन्त्रसँगै देश नै खतम पार्न प्रयोग गरिएका पात्रहरू रहेछन् । यसर्थ देउवा प्रचण्डहरूबाट देशसँगै लोकतान्त्रिक गणतन्त्र पनि जोगाउनु पर्ने भयो ।‘

मानवी पौडैल भन्छिन् – ‘जनार्दन शर्माले राजिनामा नदिउन्जेल मन्त्रालय नफर्किने बाचा गरेर बिदा बस्नुभएका अनि जनार्दनको राजिनामा सँगै कार्यालय फर्किनुभएका अर्थ मन्त्रालयका सचिवको पो एकाएक चिन्ता लागेर आयो‘ ‘यो पाँच वर्ष पुरानो अर्थात तत्कालीन प्रन्या सुशिला कार्कीमाथि महाभियोग लगाउँदाताकाको हो । र, यो आजका दिन पनि सान्दर्भिक छ । हे हरि …’ भन्दै पत्रकार प्रशान्त अर्यालले आफू सम्पादक रहेका बेला ५ वर्ष अघि नेपाल म्यागजिनमा गरेको कभर स्टोरीको सम्झना गर्दै कभर पेज शेयर गरेका छन् ट्विटरमा ।
पत्रकार लेखनाथ पाण्डे लेख्छन् – ‘पत्रकारिता कसरी थेत्तरो बन्दैछ भन्ने बुझ्न धेरै मेहनत गर्नुपर्दैछ। करको दर हेरफेर र एम. अधिकारी काण्डमा मिडिया अनुसन्धान र कभरेजबाट स्पष्ट हुन्छ। मिडियाले नै यी काण्ड पर्दाफास गरे पनि मुद्दाको गहिराइमा पुगेर यथार्थ प्रस्तुत गर्न सञ्चार जगत असमर्थ देखिए। मुद्दालाई पानी फोका सावित गर्ने प्रपञ्च भइरहँदा त्यसलाई तथ्यसहित कटाक्ष गर्न सक्नुपथ्र्यो। ओपन सेक्रेट हो, मुद्दा डिसमिस गर्न बलियो गठजोड छ। मिडिया यसमा अनभिज्ञ छैन, तर त्यो स्थापित गर्नका लागि सशक्त पहरेदारी गर्न नसक्दा मिडियाप्रति जनविश्वास पनि कमजोर बन्दैछ ।‘

माओवादी पोलिटव्युरो सदस्य सूर्य सुवेदी भन्छन् – ‘बधाई, अब नैतिकताको बल प्रतिपक्षको कोर्टमा‘ विचरा सुवेदीले के वाध्यताले यस्तो लेखे । प्रतिपक्षले त आजै १६ गतेबाट देउवा–दाहल गठबन्धनको भण्डाफोर अभियान बसन्तपुरबाट शुरु हुँदैछ ।

डा. रामेश कोइराला जो ओली शासनभन्दा देउवा र कांग्रेसी शासन ठिक भन्न अप्ठ्रो मान्दैनथे, उनलाई पनि ट्टिर प्रयोगकर्ता शर्मा पुननियुक्ति प्रकरणमा व्यंग्य गरिरहेका छन्, त्यसैले उनी ट्विट गर्छन – अहिले जे भइरहेको छ, बहुमत काँग्रेसीले चाहेबमोजिम भइरहेको छैन भन्नु ती महाधिवेशन प्रतिनिधिहरूको विवेकमा प्रश्न गर्नुका साथै ती बक बन्द भएका २ प्रतिशत केन्द्रीय समिति पदाधिकारी र सदस्यप्रति अविश्वास गर्नु हो। ती १ प्रतिशत लाई पनि हराइदिएको भए बल्ल रामराज्य हुन्थ्यो, गलत ग¥यौ काँग्रेसीजन १

शर्माको पुननियुक्ति लगत्तै अनलाइनखबरका प्रधानसम्पादक शीव गाउंलेले टिप्पणी लेखे – ‘जनार्दनले पाए, देउवा–दाहालले गुमाए‘ (बलियो राष्ट्रिय अर्थतन्त्रको निर्माण, अर्थतन्त्रका बाह्य र आन्तरिक चुनौती सामना गर्न वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति समेतलाई ख्याल गरेर अघि बढ्न अर्थ मन्त्रालयमा सार्वजनिक जीवनमा पत्याइएको योग्य र विश्वसनीय व्यक्ति पुग्ने अवसर थियो, त्यो पूरा भएन ।) अघिल्लो दिन सोही अनलाइनखबरले

‘जनार्दन शर्मालाई फेरि अर्थ मन्त्रालय नपठाऊ‘ शीर्षकमा सम्पादकीय लेखेको थियो ।

यी केही प्रतिनिधिमूलक प्रतिक्रिया र सावधानीबाट नजोगिने हो भने ‘राजनीतिक चुनावी गठबन्धनबाट वित्तिय गठबन्धन‘ मा पुगेको सत्तारुढ गठबनधन भारतको युपीए जस्तै नहोला भन्न सकिन्न । यही हो मौका बल गर एमाले, होस्टेमा हैंसे‘ भनिरहेर बसन्तपुरमा पुग्ने प्रतिपक्षलाई गज्जब मसला मिल्यो । नेपाली जनताको स्मरण शक्ति कमजोर छ । ओलीका अनगिन्तिी अलङ्कारिक कुरा विर्सिसके । केवल एमाले नै सवैभन्दा ठूलो र राम्रो पार्टी रहेछ बरु भन्ने धारणा बन्दैछ है । ख्याल गर ! “ब्रिटेनमा कोभिडको रूल मिचेर पार्टी गरेको निउंमा प्रमको पद नै जाने भो। त्यो पो संसदीय प्रजातन्त्र। हामी कहाँ त पार्टी नेतालाई कस्ले छुने ? ख़ै हुति ?” भन्द्र बुद्धिजीवी रुद्र पाण्डे अझै संसदीय लोकाचारको मार्यादाका आशा गर्छन विचरा !

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com