काठमाडौं / निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले तीन घण्टा बयान लिएको छ। बिहीबार सिंहदरबारस्थित समितिको बैठकमा गएर बजेट निर्माणमा अनाधिकृत व्यक्तिको संलग्नता भएबारे अस्वीकार गरेका छन्।
छलफलपछि बाहिरिने क्रममा शर्माले सञ्चारकर्मीसँग भने, ‘मैले उहाँहरूले सोधेको प्रश्नको जवाफ दिएको छु। बाँकी कुरा उहाँहरूले भन्नुहुन्छ।’ तर, छलफलमा उनले आफूमाथि लागेको आरोप अस्वीकार गरेको समितिका एक सदस्यले बताए।
उनको भनाइलाई उदृत गर्दै एक सदस्यले भने, ‘उहाँले संसदमा जेजस्तो कुरा राख्नुभएको थियो। यहाँ पनि त्यही दोहोर्याउनु भएको छ।’
उनले सिसिटिभी अहिलेसम्मको दृश्य रहन्छ भन्ने आफूलाई थाहा नभएको दाबी गर्दै सुरक्षाकर्मी र मर्यादापालकलाई त्यसबारे सोध्न सकिने बताए। बजेट निर्माणमा कुनै बाह्य व्यक्त्रिको संलग्नता नभएको दाबी गरे। बजेट विधिअनुसार नै बनाएको उनको भनाइ छ।
चालू आर्थिक वर्षको बजेट सार्वजनिक गर्ने अघिल्लो राति मन्त्रालयमा बोलाइएका अनधिकृत व्यक्तिमाथि छानबिन गर्नुपर्ने चौतर्फी दबाबकाबीच सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय छानबिन समिति गठन गरेका थिए।
तत्कालीन अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९र०८० को बजेट बनाउने क्रममा जेठ १४ गते अनाधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप लागेको छ।
यही मुद्दालाई उठाएर प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले नियमित संसद बैठक अवरुद्ध गरेपछि तत्कालीन अर्थमन्त्री शर्माले पदबाट राजीनामा दिएका थिए।








प्रतिक्रिया दिनुहोस्