काठमाडौं । पश्चिमी वायुको प्रभावले बुधबारदेखि शनिबारसम्म नेपालको मौसमी प्रणालीमा फेरि हिमपात र वर्षा गराउने भएको छ । मौसम पूर्वानुमान महाशाखाले आज दिउ“सो जारी गरेको हिउ“दे विशेष बुलेटिनअनुसार आज राति पश्चिम नेपालबाट पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गर्न लागेको हो । यसको प्रभावले बुधबारदेखि शनिबारसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा सामान्यदेखि पूर्णतया बदली तथा प्रदेश १ र प्रदेश २ मा आंशिकदेखि सामान्यसम्म मौसम बदली हुनेछ । शनिबारसम्ममा यो प्रणाली देशभर फैलिएर विशेषगरी सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना छ ।
साथै बागमती र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भेगका पनि केही स्थानमा हल्का हिमपात हुने सम्भावना छ । यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुन सक्ने प्रभावबाट जोगिन महाशाखाले अनुरोध गरेको छ । आइतबारबाट मात्र यो मौसम प्रणाली कमजोर हु“दै मौसममा क्रमशः सुधार हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।







प्रतिक्रिया दिनुहोस्