काठमाडौं, १९ जेठ । नेकपा एमालेको झलनाथ खनाल– माधव नेपाल पक्षले केन्द्रीय समितिको बैठक बोलाएको छ। पछिल्लो राजनीतिक घट्नाक्रमबारे छलफल गर्न भोलि बिहान ११ बजेका लागि बैठक बोलाएको नेता निरज आचार्यले जानकारी दिनुभयो। उहाँका अनुसार कोभिड–१९ का कारण भर्चुअल रुपमा बैठक बस्नेछ।
अध्यक्ष ओलीका कारण एमाले एकता टर्दै गएको निष्कर्षमा पुगेको सो समूहका नेता माधव नेपालले सोमबार यता विभिन्न जनवर्गीय संगठनका कार्यकर्तासँग भर्चुअल छलफल गरेका थिए। छलफलका क्रममा नेता नेपालले अप्ठ्यारोमा पर्दा केपी ओलीले वार्ताको कार्ड फाल्ने गरेको कार्यकर्तालाई बताउनुभएको थियो ।
जनसंगठनको भर्चुअल बैठकमा बुधबार नेता नेपालले पार्टीबाट कारवाहीको डण्डा चलाउने र जब अप्ठ्यारो परिस्थिति सृजना भयो तब वार्ता र छलफलको कुरा गर्ने ओलीको बानी भएको आरोप लगाउनुभएको हो । उहाले पार्टी एकताको पक्षमा आफू पनि रहेको बताउँदै ६ बुँदे प्रस्ताव कार्यान्वयन भए अझै पनि पार्टी एकता हुनसक्ने बताउनुभयो । ‘हामी एकताको विपक्षमा छैनौं। तर ६ बुँदे प्रस्ताव कार्यान्वयन हुने सम्भावना देखिंदैन,’ बैठकमा उहाले भन्नुभएको थियो । बैठकका सहभागीले दोस्रो पुस्ताका कतिपय नेता अझै वार्तामा अल्झिएको भनेर आक्रोश पोखेका थिए। उनीहरूले नेता नेपाललाई वार्ताको नाममा धेरै अलमल गरिन नहुने भनाई राखेका थिए।








प्रतिक्रिया दिनुहोस्