ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सडक व्यापारले धानेको जीवनः ग्राहकले खाए पेट भरिन्छ


एबीसी / संवाददाता
बैशाख ७, २०७८ मंगलबार  १ : ३६ बजे
देउखुरी, ७ वैशाख:
 घामको तातो एकातिर, आगोको राप अर्कातिर । शरीर पसिनाले भिजेको छ, हत्केलामा चिम्टा समाउँदा ठेला परेका छन् । कोइला र खरानीले मुहारमा दाग देखिन्छ । लमही नगरपालिका–५ निवासी प्रेमा वली यस्तै दैनिकीका साथ पाँच वर्षदेखि लमही बसपार्कको छेउमा मकै पोलेर बेच्दै आउनुभएको छ । साठी वर्षीया वलीले आफ्नै पाखुरीले कमाएको पैसाबाट जीवन चलाउनुभएको छ । श्रीमान्ले दोस्रो बिहे गरेर अलग्गै बस्न थालेदेखि आफ्ना दुःखका दिन शुरु भएको उहाँले बताउनुभयो ।
दाङको देउखुरी क्षेत्रमा बाह्रै महिना मकैखेती हुन्छ । उहाँको मकै व्यापार पनि बाहै्र महिना हुन्छ । तातो घाममा आगोको रापमा पसिनाका धारा पुछ्दै मकै पोलेको कमाइबाट छोरालाई १२ कक्षासम्म पढाएको उहाँ बताउनुहुन्छ । “मेरो सहारा भनेको त्यही एउटा छोरो हो । दुःखसुख गरेर छोराले पढेको छ, उसले राम्रो काम पाए त दुई चार रुपैयाँ कमाउँथ्यो तर भने जस्तो काम पाइँदैन”, उहाँले भन्नुभयो, “गरिबको त सहारा पनि कोही हुँदो रहेनछ ।”
उहाँले बिहान किसानले बेच्न ल्याएको मकै खरीद गरेर बेलुकासम्म बेच्ने गर्नुहुन्छ । दिनमा १०० वटा जति मकै बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । पोलेको एउटा मकै रु २५ मा बिक्री हुन्छ भने काँचो मकै बेच्दा रु २० मा बिक्री हुन्छ ।
घोराही उपमहानगरपालिका–१८ निवासी भीमीदेवी मल्ल सडकको किनारामा मकै पोलेर दैनिकी चलाउनुहुन्छ । उहाँ तातो घाम होस्, चाहे पानीको झरी किन नहोस्, आगोमा मकै पोली बटुवालाई कुरेर बसेको भेटिनुहुन्छ । उमेर ७१ वर्ष भयो तर पनि दुुःखले उहाँलाई छाडेको छैन । घोराहीको व्यस्त सडक माध्यमिक विद्यालय रझेना जाने बाटोको छेउमा पीपलको चौतारीमुनि मकै पोलेर आफ्नो गुजरा चलाउनुभएको छ । आम्दानीको स्रोत नभएपछि मकै पोलेर भएको दुई चार रुपैयाँले खर्च चलाएको उहाँ बताउनुहुन्छ । बिहानको खाना खाएर मकै खोज्न गाउँतिर जाने र दिउँसो १२ बजेदेखि बेलुका ७ बजेसम्म मकै पोल्ने गरेको उहाँले बताउनुभयो ।
घर खर्च र बिरामीले थला परेका श्रीमान्को उपचार खर्च मकै पोलेर आएको पैसाबाट चलेको उहाँले बताउनुभयो । उहाँका श्रीमान् दानबहादुर मल्ल दुई वर्ष अगाडिदेखि उच्च रक्तचापका कारण बिरामी हुनुहुन्छ । हातगोडा चल्दैनन् । काम गर्न सक्नुहुन्न । दिनरात विछ्यौनामा ढलिरहनुहुन्छ । श्रीमान्को औषधि खर्च र खाने खर्च सकिएपछि काममा हिँडेको भिमी बताउनुहुन्छ । उहाँका दुई छोरा र एक छोरी छन् ।
गत वर्ष कोरोनाको मध्य समयबाट जीविका चलाउन मकै पोलर बेच्न थालेको यस वर्ष पनि सोही व्यापार चलिरहेको छ । कोरनाको डर पनि लागेन, भोकले मर्नुभन्दा रोगले मर्नु जाति भनेर मकै पोलेर बेच्न थालेको मल्ल बताउनुहुन्छ । “दिनमा ३०÷४० घोगा मकै पोलेर बेच्ने गरेको छु, एउटा मकै १५ देखि २० रुपैयाँमा बिक्री हुन्छ । राम्रोसँग मकै चपाउने आफ्ना दाँत छैनन्, अरुलाई खुवाएर आफ्नो पेट पाल्न सजिलो भएको छ”, उहाँले भन्नुभयो ।
“अलि रात प¥यो भने आँखाले देख्दैन, झिसमिसे साँझमै घरमा पुग्नुपर्छ । दिनभरि आगोमा मकै पोल्दा साँझ आँखा पिरो भएर धमिलो हुन्छ । दिनभरि घरमा एक्लै छोडेको श्रीमान्को स्याहारमा जुट्न्पर्छ”, उहाँले भन्नुभयो, “उता श्रीमान् भोकाएर मेरै बाटो कुरेर बसेका हुन्छन् । कहिले खाना बनाउन जाँगर लाग्छ र पकाउँछु, जाँगर नलागेको दिनमा दिउँसो बचेको एक, दुई घोगा मकै खाएर रात कटाउने गर्छु । बिरामीले मकै खान सक्नुहुन्न, दूध र पाउरोटी खान दिएर सुत्छौँ ।”
लमही नगरपालिका–६ की ३५ वर्षीय रुपा भण्डारीले लमही भालुवाङ सडक छेउमा मकै पोल्न थालेको तीन वर्ष भयो । लमहीमा मकै सधैँ सहजैरुपमा पाइन्छ । पूर्वपश्चिम सडकमा गाडी बिसाउने ठाउँमा मकै बेच्ने गरेको देखेर यात्रु आफैँ गाडी रोकेर मकै किन्न आउने गरेको उहाँले बताउनुभयो । घरमा कमाउने कोही छैन, साँझ÷बिहान खानाको समस्या हुने गरेको छ”, रुपाले भन्नुभयो, “दिनभरि मकै बेचेर आएको पैसाले घरमा खानेकुरा लगेर गुजारा चलाउने गरेकी छु ।”
लमही बजारमा मकैको राम्रो व्यापार हुने गरेको र मकै बेचेको पैसाबाट चार जनाको परिवार पालिएको उहाँले बताउनुभयो । उहाँले दैनिक रु ४०० देखि ७०० सम्म आम्दानी हुने गरेको बताउनुभयो । बिहान ९ बजेदेखि मकैको व्यापार शुरु हुन्छ, गर्मीमा तातो घाम, वर्षाको झरीको कुनै प्रवाह नगरी मकै बिक्री गर्ने गरेको उहाँ बताउनुहुन्छ । अन्य काम गर्नुभन्दा मकै पोलेर बेच्ने काम सजिलो लागेर यता लागेको उहाँ बताउनुहुन्छ ।
घोराही, तुलसीपुर, लमहीका मुख्य सडकमा तातो घाममा मकै पोलेर धेरै महिलाले सङ्घर्ष गरेर जीवन निर्वाह गरिरहेका छन् । यस क्षेत्रमा अन्य आम्दानीको बाटो नभएपछि मकैको सहाराले जीवन चलाउनेको सङ्ख्या धेरै छ ।
पोलेको मकै खाँदा स्वादिलो मात्र होइन स्वास्थ्यवद्र्धक तथा पोषणयुक्त हुन्छ । यसमा प्रोटिन तथा कार्बोहाइडे«ट जस्ता पौष्टिक तत्व पाइने चिकित्सकको भनाइ छ । मकैमा प्रशस्त मात्रामा फाइबर पाइने भएकाले पाचन क्रियालाई सन्तुलित बनाउने गरेको प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेण्ट डा मीनचन्द्र अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “मकैले कोलेस्टोरको मात्रालाई नियन्त्रण गर्नुका साथै मुटुरोगको सम्भावनासमेत कम गर्छ । पोलेको मकै खाँदा हड्डी बलियो हुन्छ, स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।”
लमही नगरपालिका उपप्रमुख देवका बेलवासेले सडक छेउमा व्यापार गर्नेलाई व्यवस्थित गर्ने कामको थालनी गरिएको बताउनुभयो । सबैले व्यापार गरेर खानलाई सजिलो होस् भनेर सुरक्षित तरिकाको बस्ने ठाउँको बन्दोबस्ती नगरपालिकाले गरेको उहाँ बताउनुहुन्छ । “गरिखाने वर्गलाई लक्षित गरेर व्यापार गर्ने ठाउँको व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “लमहीमा महिला पुरुष दुवै जनाले विभिन्न व्यापार गर्नुभएको छ, गरिखानलाई नगरपालिकाले व्यवस्थित ठाउँको प्रबन्ध गरेका छौँ ।”
(रासस)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

७२ वर्ष पुगेँ, अझै केही वर्ष भिड्छु : प्रचण्ड

चुनावी मैदानबाहिर देउवा समूह : मौनता, असन्तुष्टि र ‘इनभिजिबल रोल’ को राजनीति

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com