काठमाडौं, ४ चैत्र । नेपालकम्युनिष्ट पार्टी एमालेको नेपाल पक्षले कर्णाली प्रदेशका सरकारमाथि दिएको समर्थन फिर्ता लिने निर्णयप्रति असहमति प्रकट गरेको छ ।
दिउँसो संसदीय दलको बैठक बस्दै ओलीपक्षले मुख्यमन्त्रीमाथि दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । तर हाल कर्णाली प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री रहेका नेपाल समूहका नेता प्रकाश ज्वालाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उक्त निर्णय आधिकारिक नभएको बताउनुभएको छ ।
प्रदेशसभा दलको नाममा गुटगत बैठकबाट गरिएको उक्त निर्णय कानुनसम्मत नभएको भन्दै नेता ज्वालाले सरकारको समर्थन कायमै रहेको स्पष्ट पार्नुभएको छ ।
‘आज मिति २०७७ चैत्र ४ गते नेकपा (एमाले) प्रदेशसभा दलको नाममा गरिएको भनिएको गुटगत बैठकप्रति हाम्रो ध्यानाकर्षण भएको छ। यस्तो गुटगत बैठक प्रचलित कानुन, विधि र प्रक्रियासम्मत नभएको प्रष्ट पार्न चाहन्छौँ।औपचारिक सूचना नदिएर बोलाइएको गुटगत बैठकले गरेका भनिएका निर्णयहरुप्रति हाम्रो असहमति छ। यो नेकपा (एमाले) प्रदेशसभा दलको आधिकारिक निर्णय नभएको जानकारी गराउँदछौँ। कर्णाली प्रदेश सरकारप्रति नेकपा (एमाले) प्रदेशसभा दलको समर्थन कायमै रहेकोसमेत अवगत गराउँदछौँ,’ ज्वालाले लेख्नुभएको छ ।
ओली समूहले बुधबार गरेको प्रदेशसभा संसदीय दलको बैठकबाट सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो।









प्रतिक्रिया दिनुहोस्