ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इस्लामिक गणतन्त्रमा संरक्षित छन् हिन्दु र बौद्ध धर्मसम्बद्ध पुरातात्विक सम्पदाहरू (भिडियोसहित)


एबीसी न्यूज

इस्लामिक गणतन्त्र पाकिस्तान । नेपालको मित्रराष्ट्र । पाकिस्तानसँग नेपालको सधैंभर मैत्रिपूर्ण सम्बन्ध रहँदै आएको छ । भारतीय उपमहाद्वीपमा कुनै समय यौटै विशाल मुलुक रहेपनि वर्तमानको पाकिस्तान र भारतबीच भने शत्रुतापूर्ण सम्बन्ध रहिआएको छ । तर, धर्मका आधारमा देश विभाजन भए पनि धार्मिक भाइचाराको सम्बन्ध भने भारत र पाकिस्तानबीच कतै न कतै रहँदै आएको छ । यसको यौटै कारण हो, पाकिस्तानमा रहेका हिन्दु, बौद्ध र शिख धार्मिक सम्पदाहरू । कतिपय सम्पदाहरू विभाजन पछि लामो समयसम्म संरक्षणविहीन बनेपनि अहिले पाकिस्तानले सबै पुरातात्विक सम्पदाहरूलाई संरक्षण गरेर राखेको छ । र, ती सम्पदाकै माध्यमबाट देश देशबीच धार्मिक पर्यटनलाई बढाउन चाहेको देखिन्छ ।

पाकिस्तानको रावलपिण्डीमा रहेको तक्षशिलाको साइनो नेपालको लुम्बिनीसँग रहेको छ । इस्लामावाद–लाहोर राजमार्ग आसपासमा रहेको कटासराज क्षेत्र हिन्दु धर्मावलम्वीका लागि अमृत धरोहर रहेको छ । धार्मिक भाइचारासम्बन्ध सुधारकै लागि करतारपुर कोरिडोर खुला गरिएको पाकिस्तान दाबी गर्छ । भारतीय तिर्थयात्रीहरू पाकिस्तानका धार्मिक सम्पदास्थलमा पुग्छन् । दुई मुलुकबीच राजनीतिक स्तरमा सम्बन्ध सुधार हुने हो भने, यी सम्पदाहरूको अझ बढी प्रचारप्रसार हुने देखिन्छ । भारत पाकिस्तान सम्बन्ध सुधारको बाछिटा नेपालमा अवश्य पर्छ नै । दुई देशबीच मैत्रिपूर्ण सम्बन्ध रहे पनि कनेक्टिभिटीका कारण निकै टाढा छन् नेपाल–पाकिस्तान । सीधा हवाई यात्रामा अढाई घण्टामा पुगिने इस्लामावाद यतिबेला कम्तिमा १८ घण्टा टाढा रहेको छ । सिन्धु नदी आसपासदेखि ब्रम्ह्पुत्र आसपाससम्म फैलिएको सभ्यताको विकासले नेपाल भारत पाकिस्तान जस्ता मुलुकको जनस्तरको सम्बन्धलाई राजनीतिक सम्बन्धले अलग गर्न नसक्ने देखिन्छ ।

पाकिस्तानमा संरक्षण गरेर राखिएका दुई पुरातात्विक स्थल कटासराज र तक्षशिलाको सम्बन्ध नेपासँग समेत सिधै जोडिएको छ ।

कटासराज

पाकिस्तानका केही हिन्दु धार्मिकस्थलहरू मध्ये एक स्थल हो कटासराज । इस्लामावाद–लाहोर राजमार्गमा पर्ने साल्ट रेन्जका प्रसिद्ध पहाडी छेडोमा रहेको कटासराज चकवाल शहरबाट ३० किलोमिटरको दुरीमा मात्र पर्दछ ।

पौराणिक मान्यता
कटासराज हिन्दु धर्मावलम्बीका लागि पवित्र धाम हो । कटासराज क्षेत्रबारे शिव पुराणमा उल्लेख गरिएको छ । महाभारत कथामा कटासराजको व्याख्या गरिएको छ । कटासराज शब्दको उत्पत्ति संस्कृतको कटाक्षबाट भएको पनि मानिन्छ । जसको अर्थ हुन्छ, अश्रुधारा । शिव पुराण अनुसार परमप्रिय सती देवीको अग्नी समाधिपछि शिव भावविह्ल हुँदा अश्रुधारा बगेको थियो । शिवको एउटा आँखाबाट बहेको अश्रुधाराबाट कटासराजमा कुण्ड बनेको थियो । अर्को आँखाबाट बहेको आँशुबाट अजमेरमा कुण्ड बनेको थियो भनेर विश्वास गरिन्छ । यो कुण्डलाई आजपर्यन्त हिन्दु समाजले अमृत कुण्डको रुपमा श्रद्धा गर्दछन् ।

यस्तै, कटासराजको कथा महाभारतकालमा पनि जोडिन्छ । कौरवहरूले हस्तिनापुरको राज्य हरण गरेपछि पाण्डवहरूले चारवर्ष यही स्थानमा बसेका थिए भन्ने जनविश्वास रहेको छ । एक दिन पाण्डवहरूलाई तिर्खा लागेपछि पानी लिन कुण्डमा जाँदा ऋषि यक्षले सोधेका प्रश्नको उत्तर दिन नसकेर सहदेव, भीम, अर्जुन र नकुल पालैपालो मुर्छित भएका थिए । पानी लिन गएका सबैभाईहरू एकपछि अर्को गरी गायव भएपछि आफै पानी लिन युधिष्ठिर पुगे । तर, यक्षले युधिष्ठिरलाई पनि चारै भाईलाई सोधेका प्रश्नको जवाफ मागे । जवाफ दिन नसके भाइहरू जस्तै बनाइदिने चेतावनी पछि युधिष्ठिरले यक्षका एक एक प्रश्नको उत्तर दिए । हामी आज पनि यक्षले सोधेको प्रश्नलाई यक्षप्रश्न भन्ने गछौं । महाराज युधिष्ठिरले ऋषि यक्षले सोधेका सबै प्रश्नको सरल उत्तर दिएर महान् पदवीको ग्रहण समेत गरे । यक्षले सोधेका प्रश्नको उत्तर दिन नसकेर अचेत अवस्थामा पुगेका चारै भाइलाई यही अमर कुण्डको पवित्र जल खुवाएर युधिष्ठिरले पुनर्जीवित गरेका थिए । यसर्थ, हिन्दु धर्मावलम्बीहरूका लागि यो स्थल आजपर्यन्त पवित्र छ ।

मन्दिरै मन्दिर
यस क्षेत्रमा मन्दिरै मन्दिर छन् । सतघरा मन्दिर समुहमा रहेका सातवटा मन्दिरमध्ये अहिले चारवटा मन्दिरमात्र अस्तित्वमा छन् । हनुमान मन्दिर, रामसिता मरिन्दर, शिव मन्दिरको पुनर्निर्माण भैसकेको छ । बाँकी मन्दिरको पनि उत्खनन र पुनर्निर्माणको काम गर्दैछ पाकिस्तान सरकारले ।

प्राचिन शिव मन्दिरमा आज पनि पुजाआरधना हुन्छ । हिन्दु पुजारीले दैनिक नित्य पूजा आजा गर्नेगर्छन् । कटासराजको दर्शनका लागि भारतबाट समेत हिन्दुधर्मावलम्बीहरू आउने गरेका छन् । पाकिस्तानकै हिन्दु समुदाय पनि यहाँ आउने गर्छन् । विशेषगरी शिवरात्रीका दिन यस क्षेत्रमा ठूलो मेला लाग्ने गर्छ । मेलाको प्रवद्र्धन स्थानीय समितिले गर्छ ।

कटासराज मन्दिर संगीत, कला र विद्याको ठूलो केन्द्र रहेको थियो । आफ्नो उत्कर्ष कालमा मन्दिरमा लगभग १० हजार विद्वान र कलाकार सम्बद्ध थिए । तर ११ औं शताब्दीमा महमुद गजनवीले आक्रमण गरेपछि मन्दिरको वैभव नष्ट भयो ।

कटासराज मन्दिरमा एक विश्वविद्यालय पनि थियो । जहां दर्शनशास्त्र र बौद्ध अध्ययनको ठूलो केन्द्र थियो । नाथ सम्प्रदायका संस्थापक गोरखनाथ एवं चिनिया प्रसिद्ध यात्री ह्वान साङ समेत यो विश्वविद्यालयमा पुगेका थिए । तर, विदेशी आक्रमणकारीले तक्षशिलाको पतन गराए, नजिकै रहेका कारण कटासराजमा सबै विद्धानहरू तक्षसिलाबाट पलायन भएर कटासराजमा आएका थिए । यो क्षेत्रभरि नै विश्वविद्यालय भएको कतिपय इतिहासकारहरू मान्ने गर्छन् ।

भाइचारा सेतु
यसर्थ मान्ने गरिन्छ, कटासराज क्षेत्र हिन्दु र मुस्लिम र बौद्ध समुदायको भाइचारा सम्बन्धको सेतु स्थल पनि हो । विदेशी आक्रमणकारीले समाप्त पारेको वैभवलाई कटासराज क्षेत्र आसपास बस्ने हिन्दु समुदायले पुनः सम्हालेर राखेका थिए । अहिले पनि मुस्लिम समुदायले अल्पसंख्यक हिन्दु समुदायको यो पवित्र मन्दिर संरक्षणका लागि भाइचारा सम्बन्ध स्थापित गरेका छन् । भारत र पाकिस्तानबीच विभाजन अघि यस ठाउंमा हिन्दु समुदायको ठूलो बसोबास रहेको थियो । कटासराज हिन्दु समुदायको आस्थाको केन्द्र रहेको थियो । विभाजन पछि हिन्दु समुदाय यहांबाट विस्थापित भए । विभाजनको मार यस क्षेत्रमा पर्यो । हिन्दु समुदाय विस्थापित भएपछि यहांको वैभव पनि नासिंदै गएको बताउंछन् कटासराजका केयरटेकर एवं पन्जाव विश्वविद्यालयमा हिन्दी र पन्जावी गुर्मुखीका लेक्चरर अजहर अब्बास ।

भारतका तत्कालिन प्रधानमन्त्री अटल विहारी बाजपेयीले पाकिस्तानको भ्रमण गर्दा यो ठाउंमा आएका थिए । खण्डहर मात्र देख्दा वाजपेयी दुखित बनेका थिए । पछि पाकिस्तान सरकारले यो ऐतिहासिक धार्मिकस्थललाई संरक्षण गर्न सुरु गर्यो । अहिले कटासराज क्षेत्रमा पर्खाल लगाउने, पुराना ऐतिहासिक सम्पदाको जिर्णोद्वार गर्ने काम दु्रत गतिमा भैरहेको छ । पाकिस्तान सरकारले कटासराजलाई विश्व सम्पदा सूचीमा दर्ताका लागि निवेदन दिएको छ । पाकिस्तान र भारतबीच रहेको तिक्ततापूर्ण सम्बन्धका बीच पनि कटासराज दुई मुलुकका जनताबीच रहेको धार्मिक एकताको सेतु बनिरहेको छ र बनिरहने छ । मन्दिर र आसपासको क्षेत्रको जिर्णोद्वार जति छिटो हुन्छ, त्यति नै आतुर हजारौं हिन्दु तिर्थयात्री यहां आउनका लागि लालायित हुनेछन् । र, यसका लागि पाकिस्तानले कटासराजको धार्मिक महत्वको अन्तराष्ट्रिय स्तरमै प्रचार प्रसार समेत गर्न जरुरी छ ।


तक्षशिला


शान्तिका अग्रदूत गौतम बुद्धको जन्म नेपालको लुम्बिनीमा भयो । बुद्धले भारतमा बुद्धत्व प्राप्त गरे र संसारभर शान्ति एवं अहिंसाको प्रचार गरे । बुद्धको प्रचार सर्वव्यापी फैलियो । बुद्धका अनुयायीहरू संसारभर बढे । भारतीय उपमहाद्विपमा बुद्धको महिमा यसरी फैलियो कि, भारतमा आक्रमण गर्न आएका युनानी, पर्सियनहरूले समेत बुद्धलाई भुल्न सकेनन् । बुद्ध धर्मको महिमालाई इस्लाम धर्मावलम्बीहरूले समेत सम्मान गरे । हिन्दु धर्मले बुद्धलाई सधैं नजिकको मानिरह्यो ।

भारत पाक विभाजनपछि हाल पाकिस्तानको राजधानी इस्लामावाद नजिकै रहेको रावलपिण्डी शहरमा तक्षशिला पर्दछ । र, यो ठाउं बुद्ध दर्शन समृद्ध भएको स्थानमा चिनिन्छ । प्राचीन समयमा यही ठाउं बुद्ध धर्मको उन्नयन भएको थियो । पाकिस्तानको पन्जाव प्रान्तमा पर्ने रावलपिण्डीस्थित तक्षशिलामा भारतका चक्रवर्ती सम्राट अशोक र बुद्ध तथा उनीहरूसँग सम्वन्धित ऐतिहासिक पुरातात्विक महत्वका वस्तुहरू संरक्षण गरेर राखिएको छ ।

पाकिस्तानीहरू तक्षशिलालाई टक्सिला भन्छन् । यहाँ बुद्ध दर्शनसँग जोडिएका सामाग्रीहरू छन् । कुनै समयको समुन्नत सभ्यता बोकेको तक्षशिला संसारभरका कैयौं साम्राज्यको आँखा लाग्दा ध्वस्त भयो । पर्सियन र युनानीले तक्षशिलामाथि बारम्बार नियन्त्रण गरे । भारतकै उज्ज्यैनीहरूले समेत तक्षशिलाको नियन्त्रणको प्रयास गरे । भारतीय उपमहाद्वीपमा वर्चस्व जमाएको तत्कालिन मगध शासकको मौर्य साम्राज्य विस्तार तक्षशिलासम्म पुग्यो । तर, रोचक पक्ष यो छ कि, तक्षशिलामा जति पनि शासकहरूले शासन गरे, उनीहरूले बुद्धसँग जोडिएका कलाकृति, धर्मसंस्कृति र परम्परालाई मास्न सकेनन् । त्यसभन्दा अघि बढेर आ–आफ्नै सभ्यताअनुसार बुद्ध दर्शनलाई स्वीकार गर्न बाध्य भए । पर्सियन र युनानी र मौर्य साम्राज्यले बनाएका बुद्ध दर्शन सम्वद्ध वस्तु एवं मुर्तिहरू उनीहरूकै सभ्यता अनुरुपका पाइएका छन् ।

तत्कालीन भारतीय उपमहाद्धिपको पिप्लीवनका राजकुमार चन्द्र गुप्त मौर्यले प्राचीन रणनीतिकार विष्णुगुप्त चाणक्यको निर्देशनमा विशाल मौर्य साम्राज्य कायम गरेका थिए । यसलाई अखण्ड भारतको सुरुवाती काल मानिन्छ । त्यतिबेला रहेको अशोक र बुद्ध सम्वन्धी सामग्री हाल तक्षशिला म्युजिएममा रहेको छ । तर, आचार्य चाणक्यको गुरुकुलको भने कुनै निशानी छैन ।

समुन्नत तक्षशिला
तक्षशिला मानव विकास सुचकांकमा संसारभरकै उन्नत स्थलमध्ये एक मानिन्थो । तक्षशिलामा रहेका विश्वविद्यालयमा अध्ययन गर्नका लागि संसारभरबाट विद्यार्थीहरू पुग्थे भन्ने विश्वास गरिन्छ । तक्षशिला नगर विद्या र शिक्षाको महान केन्द्रको रुपमा प्रसिद्ध थियो । वैदिक कालको अन्तिम शताब्दीपूर्व यसको ख्याति त्यति धेरै थिएन । तर बौद्ध युगमा यो क्षेत्र विद्याको सर्वमान्य स्थान बन्यो । बनारस, राजगृह, मिथिला एवं उज्ज्येन जस्ता स्थानबाट विद्यार्थीहरू पढ्न आउंथे । विश्वप्रसिद्ध गुरुहरूबाट अध्यययन गर्न पाउंदा विद्यार्थीहरू पुलकित हुन्थे ।

तक्षशिला राजनीति र शस्त्रविद्याको शिक्षाको केन्द्र थियो । यहाँको शस्त्रविद्यालयमा विभिन्न राज्यका राजकुमारहरू राजनीतिक ज्ञान र शस्त्रविद्या सिक्थे । यहाँका विश्वविद्यालयहरूमा आयुर्वेद र कानुनको पनि विशिष्ठ अध्यापन गराइन्थ्यो । विश्वविद्यालयको पाठयक्रममा आयुर्वेद, धनुर्वेद, हस्तिविद्या, व्याकरण, दर्शनशास्त्र, गणित, ज्योतिष, गणना, वाणिज्य, सर्पविद्या, तन्त्रशास्त्र, संगीत, नृत्य एवं चित्रकला आदिको मुख्य स्थान थियो । गौतम बुद्धका समकालीन केही प्रसिद्ध व्यक्तिहरू तक्षशिला विश्वविद्यालयका विद्यार्थी रहेको इतिहासकारहरू दाबी गर्छन् ।

विष्णु गुप्त आचार्य चाणक्यले तक्षशिला विश्वविद्यालयमा स्नातकसम्म अध्ययन गरे । सम्राट चन्द्रगुप्त मौर्यलाई चारक्यले अध्यापन गराए सोही विश्वविद्यालयमा । पछि, चाणक्य र चन्द्रगुप्त मिलेर विशाल मौर्य साम्राज्यको सुरुवात गरे । सम्राट अशोकको वाल्यकालसम्म चाणक्य मौर्य शासनका मुख्य राजनीतिक सल्लाहकारका रुपमा रहेका थिए । दरबारभित्रको षड्यन्त्रमा चाणक्यको बनबास गए । उहीं नै उनले देह त्याग गरे । २३ सय वर्ष पुरानो र सबैभन्दा प्राचीन माणिक राजनीति शास्त्र नै चाणक्य लिखित चाणक्यको अर्थशास्त्र हो । आजपर्यन्त राजनीतिशास्त्रमा चाणक्य नीति उत्तिकै महत्वपूर्ण मानिन्छ ।

तक्षशिला आज
इस्लामिक गणतन्त्र पाकिस्तानले तक्षशिलाको संरक्षण गरी यस क्षेत्रलाई मुख्य पर्यटकीय गन्तव्यको रुपमा विकास गरेको छ ।

प्राचिन तक्षशिलाको खण्डहरको खोजी गर्ने काम बृटिश जनरल कनिङ्घमले सुरु गरेका थिए । तर ठोस काम भने सन् १९२१ पछि हुन थालेको थियो । सर जनरल मार्शलको नेतृत्वमा भएको उत्खनन कार्य पाकिस्तानले आज पनि जारी राखेको छ । तक्षशिक्षाका कैयौं स्थानको अवशेष निकालिएको छ । भिन्न भिन्न युगमा तक्षशिला नगरमा विदेशी आक्रमणबाट ध्वस्त भएका वस्ती र सभ्यताको खोजी गर्ने क्रममा फेला परेका पुरातात्विक वस्तुहरूलाई तक्षशिला संग्राहलयमा संरक्षित गरेर राखिएको छ । चीनको ग्लोबल टेलिभिजन नेटवर्क सीजीटीएनले तक्षसीलाबारे वृत्तचित्र बनाएको छ ।

राष्ट्रसंघीय आयोग युनेस्कोले तक्षशिलालाई स्न १९८० मा विश्व सम्पदा सुचीमा सुचिकृत गरेको थियो । सन् २०१० मा तक्षशिलालाई विश्वका त्यस्ता प्राचिनतम् शहरको सुचीमा सुचिकृत गरियो, जुन शहरहरूमा शासकहरूले नृशंश आक्रमण गरेर सभ्यताकै नाश गरिदिए ।

तक्षशिला–लुम्बिनी सम्बन्ध
तक्षशिलाको सम्बन्ध नेपालसँग जोडिएको छ । लुम्बिनी र तक्षशिलाको सम्बन्ध रहेको छ । यसैले अनुसन्धानकर्ताहरूले यी दुई महत्वपूर्ण पुरातात्विक स्थलको सम्बन्धको खोजी गर्न थालेका छन् । काठमाडौंस्थित पाकिस्तानी दूताबासले सेन्टर फर एडभान्स स्टडिज इन साउथ एशियासंगको सहकार्यमा लुम्बिनी र तक्षशिलासम्बन्धबारे हालै काठमाडौंमा सेमिनार गरिएको छ । नेपालका लागि पाकिस्तानी राजदूत मजहर जावेदले दुई ऐतिहासिक स्थलको सम्बन्धमा थप खोजी हुनुपर्ने बताएका छन् । नेपाली अनुसन्धानकर्ता प्रा.डा. अरुण गुप्तो र प्रा.डा. संगीता रायमाझीले पुरातात्विक महत्वको लुम्बिनी र तक्षशिलाबीच गहिरो ऐतिहासिक सम्बन्ध भएको बताएका छन् ।

नेपालको लुम्बिनीको चर्चा सवत्र्र फैलिएको छ । लुम्बिनीबारे विगतमा फैलाइएको भ्रमपूर्ण प्रचार समाप्त भएका छन् । यद्यपी अझै पनि विश्व समुदायलाई लुम्बिनीबारे नेपालले सही ढंगले मार्केटिङ गर्न सकेको छैन । यसैगरी, तक्षशिलालाई पाकिस्तानले भरपुर मार्केटिङ गर्न सकेको छैन । इस्लामिक गणतन्त्रभित्र संरक्षित गरेर राखिएको बौद्ध र हिन्दु दर्शनसम्वद्ध यो ऐतिहासिक स्थलको संरक्षण, थप उत्खनन थप अध्ययन अनुसन्धान र प्रचार अझ बढी आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com