जबजको घाउ चिथोर्ने बेलामा मदनको सम्झना

भएको र हुनसक्ने शक्ति र पद पनि अर्कोलाई श्रीपेचका रुपमा लगाएर मदनले मालेलाई एमाले बनाउनु भएको थियो



ताप्लेजुङको एक सामान्य किसान व्रहामण परिवारमा जन्मेको एकजना बालक यति धेरै चर्चाको शिखरमा पुग्ला भन्ने शायदै कसैलाई अनुमान थिएन । इतिहासमा यस्तै वालकहरुले नै समयको सुईलाई नै बदलेका प्रशस्त उदाहरणको भने कमी छैन । वाल्यकालमै राजनीतिमा आकर्षित भएर पढाईकै सिलसिलामा बनारसपुगेपछि संस्कृत भाषामा पारंगत बनेका मदन भण्डारी कालन्तरमा नेपाली कम्युनिष्ट आन्दोलनकै च्याम्पिएन बन्नुभयो । मदनका समकालीन तथा योद्धाका अनुसार मदनमा आथाह उदारता र सिद्धान्तप्रतिको गतिशीलताको प्रचुर सागर थियो । असहमत र इतर पक्षलाई यथोचित सम्मान र आदरभाव मदनको सर्वथा विशेष गुण थियो । त्यसैले नेपाली कम्युनिस्ट आन्दोलनमा सदाबहार खुला जीवन विताउने सुविधा उपभोग गरिरहेका र अनेक अन्तरविरोधी सम्वन्धका मनमोहन अधिकारी पनि मदन भण्डारीको पार्टीको अध्यक्ष मात्र होइन कि देशकै प्रधानमन्त्री बन्न सफल हुनुभएको थियो । अन्यथा मनमोहन अधिकारीको बाटो पनि झण्डै केशरजंग रायमाझीकै तहमा पुगेर समापन हुने निश्चित थियो ।
मदनको मृदुभाषी वचन र दुनिलाई हायलकायल पार्ने वाककलामा आजपर्यन्त मदनलाई जित्यो भन्ने नेता भेटिन नसक्नु मदनको विशेष महिमा हो । झण्डै ५० वर्षको उमेर पूरा गर्दा नगर्दै मदनको महिमा र विशेषताकै कारण षडयन्त्रकारीहरुको सिकन्जामा परेर अस्ताउनु प¥यो मदनले । तर नेपाली कम्युनिस्ट आन्दोलन र दक्षिण एशियाकै वाम विद्यार्थीहरुका लागि मदन सधैं पढिरहनु पर्ने अनिवार्य विषय जस्तो बनिरहनु भयो ।
नेपालको कम्युनिस्ट आन्दोलन जडसूत्रवाद र कठमुल्लाबादबाट ग्रसित भइरहेको र विश्वव्यापी कम्युनिस्ट आन्दोलनमाथि तीव्र आक्रमण भएका बेला नवीन विचार प्रस्तुत गर्ने युवा हुनुहुन्ग्थ्यो मदन कुमार भण्डारी । बाँकी दुनियाले ती युवालाई नचिन्दै २०४६ सालको जनआन्दोलन शुरु हुनु पूर्वनै पार्टीको प्रमुख बन्न सफल मदनले सन्निकट भविष्यमा कम्युनिस्ट आन्दोलनमा कस्तो खतरा आइलाग्न सक्छ भन्ने पूर्व अनुमान लगाइसक्नु भएको थियो । त्यो बेला पूर्वी जर्मनी र सोभियतसंघ भित्र तीब्र गडबडी चर्केको थियो । यता नेपालको कम्युनिस्ट आन्दोलनमा दर्जन बढी टुक्रामा विभाजित कम्युनिस्टहरु कसरी र कति बढी रुढगत जडसुत्रीय शव्दधारण गरेर कथित क्रान्तिकारी बन्ने भन्ने होडवाजी चलेका बेला मदनले सहजै बुर्जुवाहरुले अभ्यास गरेको प्रतिस्पर्धात्मक बहुदलीय प्रणालीलाई स्वीकार गरेर जनताको पक्षमा प्रयोग गर्नु पर्ने प्रस्तावबाट समयको सूई बदल्ने निर्णय स्थापित गर्न लागि पर्नु भएको थियो । त्यतिबेलाको समयको माग बुज्रुवाहरुलाई उनीहरुकै अस्त्रबाट भुत्ते बनाउनु थियो भने आफ्नै आन्दोलनभित्र परम्परावादी सुईका विरुद्ध खडा हुनु पर्ने चुनौति थियो मदनलाई ।

सोभियत धुरी र चिनिया शिविरबाट शासित कम्युनिस्ट समूहरुलाई बहुदलीय जनवाद शव्द सुन्दै गम्भीर रुपमा मुर्छित हुने जस्तो स्थिति थियो त्यतिबेला । त्यतिमात्र होइन कि स्वयं मदन भण्डारी महासचिव रहेको दलभित्रबाट समेत मदनको वैचारिक शिरोच्छेदन गर्नुपर्ने भन्ने सम्मका प्रहार शुरु भएका थिए । तर मदनको दूर दृष्टि र त्यसलाई स्थापित गर्ने अलौकिकता, वाककला र व्याख्याले २०४९ सालमा पुग्दा जनताको बहुदलीय जनवाद तत्कालीन नेकपा (एमाले) को राजनीतिक कार्यक्रम बन्न पुग्यो । त्यसयता जबजको सबैभन्दा बढी व्याख्या, विरोध, आलोचना र मन्थन जारी रहेको छ । केही समय जबजको बारेमा एमाले स्कुलिङ्गमा विचित्रखालको महिमामण्डन चल्यो । यतिसम्म कि जबज तत्कालको राजनीतिक कार्यक्रम मात्र नभएर सिद्धान्त हो भन्नेदेखि जबज नेपालमा मात्र होइन ब्रह्माण्डमा समेत लागू हुने भन्ने खालको महिमामण्डनले परलोकमा समेत मदनलाई लज्जित बनाए होला ।
मदनको अवसानपछि उहाँको असली उत्तराधिकारी को बन्ने भन्ने नाममा एकातिर ब्रह्माण्डमा पनि जबज लागू हुने भविष्यवाणी गर्ने अर्कातिर जबजको सारवस्तु वर्गसंघर्षलाई लोकेन्द्रबहादुर देखि ज्ञानेन्द्रका पाउमा समेत लम्पसार पर्ने तमासा समेत मञ्चन हुनु एक विडम्वना थियो ।
त्यसो त जबजको अवधारणाको बीजारोपण हुने बेला चर्को कन्सिटपेशनमा परेको चौथो महाधिवेशन स्कुलिङ्गको मुख्यतः माओवादी धारा विस्तारै २०५७ देखि २०६० सालको बीचमा पुग्दा जनयुद्धको भट्टीमा तड्पीइराखेर जबजको मार्गमा कसरी पुग्ने भन्ने चर्को छटपटीमा परेको थियो । मदनको जबजको अवधारणा र राजनीतिक कार्यक्रम लेनिनकै भाषामा ठोस स्थितिको ठोस विश्लेषणको सही उद्घाटन थियो नेपालमा । त्यसले रक्षात्मक कम्युनिस्ट आन्दोलनलाई आक्रमक बनायो भने जडसुत्रीय चिन्तन प्रणालीमा गम्भीर खैलाबैला मच्चाइदियो । त्यतिमात्र होइन बुर्जुवा क्याम्पमा कम्युनिस्ट समाप्त पार्ने डिजाइनलाई निस्प्रभावी बनाइदिएकै कारण मदनलाई भौतिक रुपमै समाप्त गरियो ।
मदनको अवसानसँगै जबजको बर्कोमा भद्धा संसदीय भासमा कम्युनिस्ट आन्दोलनलाई विर्सजन गर्ने अर्को खेलको प्रशस्त मात्रमा रिहर्सल भयो । त्यहीबेला शास्त्रीय ढङ्गबाटै जनयुद्धको सुुरुवात र फैलावटले बुर्जुवा क्याम्पलाई जबजमाथिको आक्रमणमा विश्राम लिन बाध्य पारेको हुनु पर्दछ । सम्भवत यही स्थितिलाई प्रचण्डले एक सन्दर्भमा भन्नुभएको थियो जनयुद्धकालभरि एमाले र माओवादी एकअर्काका रक्षाकवच जस्ता बनेका थिए अप्रत्यक्ष रुपमा । शायद यही स्थितिको बोधगम्यताले नै प्रचण्डलाई संसारमै कठीन मानिएको र नेपालमा समाप्त भएर सकिने भविष्यावाणी गरिएको जनयुद्धलाई शान्तिप्रत्रिया हुँदै मदनकै बाटोमा ल्याउन किन्चित चिन्ता नभएको हुनु पर्दछ ।
एमाले–माओवादी बीचको एकता मदनको राजनीतिक प्रतिस्पर्धाको आधारमा टेकेर अघि बढ्ने भन्ने दुबै दलको साझा बुझाइको पहिलो द्धार हो । त्यसो त एमालेको आठौं महाधिवेशन र माओवादीको हेटौंडा महाधिवेशनले आधारभूत रुपमा पुँजीवादी क्रान्ति पूरा भएको साझा निश्कर्ष निकालेपछि दुई वाटा शिविर खडा गरिरहनु पर्ने औचित्य समाप्त भएको थियो । एकता हुने बेला जबजको सार बस्तु र एक्काइसौं शाताव्दी जनवादको सारमा समानता रहेको निश्कर्ष सहित समाजवाद उन्मुख जनताको जनवाद तत्कालको राजनीतिक कार्यदिशा हुने सहमति भयो । त्यसमा दुवै दलको कुनै आपत्ति रहेन ।

अघिल्लो वर्ष मदन स्मृतिका दिनमा पार्टी एकता घोषणा भएको थियो भने आज मदन जयन्तीका सन्दर्भमा जबजलाई चिथोर्ने र अनावश्यक सुँड उदाउने प्रवृत्ति देखा पर्नु उदेक लाग्दो विषय हो । ०३५ देखि ०४६ सम्म माओविचारधाराको जुवामा थिचिएको तत्कालीन मालेलाई मदन भण्डारीले जबर्जस्त मुक्त गराएर नयाँ आयाम दिनुभएको थियो । शायद मदन यतिबेला सम्म बाँचेको भए जबजकै सूत्रमा बाँधिइराख्नु हुन्थ्यो होला या यसको विकल्पमा अनेकौं प्रयोगको सिललिला चल्ने थियो होला ? यो अनुमानको विषय भएपनि मदनको स्वभाव र राजनीतिक तथा वैचारिक गतिशिलताको परख हेर्दा मदनले सधैंभर जबजकै खास्टो ओढेर घिउ खाने तरिका अवश्य नै अपनाउनु हुने थिएन भन्न सकिन्छ । यसको अर्थ जबजको आधरभूत अवधारणाको औचित्य समाप्त भएको अर्थमा बुझिनु अर्को मूर्खता र कूतर्क हुन्छ ।
२०४९ को स्थिति र २०७२ मा जनताका प्रतिनिधिले नयाँ संविधान बनाएको सन्दर्भमा आकाश जमिनको फरक आएको छ । अहिले त संविधानमै समाजवाद उन्मुख बाटोमा अघि बढ्ने प्रस्तावना रहेको छ भने राजनीतिक पार्टी त्यो भन्दा पछि फर्कने कि अरु बढी अगाडिको क्षितिज देख्ने ? यो नै मदनप्रतिको सच्चा सम्मान र सम्झनाका लागि सवैभन्दा ठूलो चुनौति हो नेकपाका लागि । राजनीतिमा सत्ता प्रमुख कुरा भएपनि आदर्श, इमान्दारिता, स्वघोषणाप्रतिको निष्ठा त्यसभन्दा अझ बढी माथिल्लो तहको विषय हो । तसर्थ भन्न सकिन्छ एकताको स्थितिलाई भाँड्ने गरी कुनियतका साथ मदन महिमाका नाममा जबजको बर्कोलाई अझा बाक्लो बनाएर ओढेको ढोंग गर्ने वा जबजको सारबस्तुलाई इतिहासको विषय मान्ने दुबै अतिले मदनको आत्मालाई नै चिथोरेको हुनेछ । सम्मान कदापि हुने छैन । राजनीतिक पार्टीले राजनीतिक इमान र निष्ठाका साथ नै गतिशीलताको डोरीमा सिङ्गो पार्टीलाई सुन्दर मालाका रुपमा अघि बढाउन सकेमा मात्र मदनप्रतिको सच्चा सम्झना र सम्मान हुनेछ । सबैभन्दा खट्केको विषय नै यतिबेला मदनजस्तो गतिशील नेताको आवश्यकता पक्कै हो । त्यसो भन्नुको अर्थ छुद्र वा गुटगत स्वार्थबाट माथि उठेको, बृहत्तर हितका सन्दर्भमा आफूलाई जहाँ राख्न र रहन पनि तयार हुने नेता नै हो । भएको र हुनसक्ने शक्ति र पद पनि अर्कोलाई श्रीपेचका रुपमा लगाएर मदनले मालेलाई एमाले बनाउनु भएको थियो । तसर्थ यसबाट गम्भीर रुपमा पाठ सिक्नु पर्ने केपी शर्मा ओली र प्रचण्डले नै हो । आगे बुजु्रगहरुकै मर्जी ।

    Comment Here!


सम्बन्धित समाचार

View All