
काठमाडौं, ७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले रेशम चौधरीलाई अस्पतालको शैयामा पनि नेल लगाउने कर्मचारीलाई कारबाही गर्न निर्देशन दिनुभएको छ ।
वीर अस्पतालमा उपचार गराइरहेका निलम्बित सांसद चौधरीलाई अस्पतालको ओछ्यानमै फलामे साङ्लोले बाँध्ने कर्मचारीलाई कारबाही गर्न मुख्य सचिव लोकदर्शन रेग्मीलाई प्रधानमन्त्री ओलीले निर्देशन दिनुभएको हो ।
शुक्रबार अस्पतालको ओछ्यानमै साङ्लोले बाँधिएको चौधरीको तस्बिर सार्वजनिक भएलगत्तै प्रधानमन्त्रीको ध्यानाकर्षण भएको र शनिबार मुख्यसचिव लोकदर्शन रेग्मीलाई फोन गरेर त्यो काममा संलग्न सबै कर्मचारीलाई कारबाही गर्न निर्देशन दिनु भएको प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।
प्रधानमन्त्री ओलीले चौधरीलाई अस्पतालमा भर्ना गर्दा लगाइएको नेल तत्काल फुकाउन पनि निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले मुख्यसचिव लोकदर्शन रेग्मीमार्फत् सम्बन्धित निकायलाई नेल फुकाउन निर्देशन दिनुभएको हो । फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि चौधरीलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको थियो । २०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त भन्दै जिल्ला अदालत कैलालीले दोषी ठहर गरेको थियो ।
उहाँ १५ महिनादेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहनु भएको छ । अदालतले चौधरीसहित ११ जनालाई जन्मकैद फैसला सुनाएको थियो । गएको प्रतिनिधिसभा निर्वाचनमा उहाँ कैलाली १ बाट राष्ट्रिय जनता पार्टीको तर्फबाट विजयी हुनुभएको थियो ।







प्रतिक्रिया दिनुहोस्