
काठमाडौं, १६ जेठ । हालै भएको १७ औं लोकसभा निर्वाचनमा भाजपाले स्पष्ट बहुमत हासिल गरेपछि नरेन्द्र मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्न लागेका छन् ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज पद तथा गोपनीयताको सपथ ग्रहण गर्दैछन् । उनलाई राष्ट्रपति रामनाथ कोविन्दले साँझ ७ बजे सपथ ग्रहण गराउने छन् ।
मोदीको सपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली पनि दिल्ली जाँदै हुनुहुन्छ । नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिउँसो १ः३५ बजे त्यसतर्फ प्रस्थान गर्ने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार प्रधानमन्त्री ओली भोलि साँझ करिब ५ः३० बजे स्वदेश फर्किने कार्यक्रम तय भएको छ ।
प्रधानमन्त्री ओली बिहीबार साँझ भारतको राष्ट्रपति निवासमा आयोजित शपथ ग्रहण समारोहमा सहभागी हुनुहुने छ । उहाँले भारतीय समकक्षी मोदीसँग शुक्रबार बिहान ब्रेकफास्ट बैठक गर्ने बुझिएको छ । सो बैठक करिब आधा घण्टाको हुने भएकोले त्यसमा एजेण्डागत रुपमा कुरा हुन नसक्ने अवस्था रहेपनि समग्र रुपमा दुई देशबीचको सम्बन्धको समीक्षा हुने बालुवाटार स्रोतले बताएको छ।
सपथग्रहण समारोहमा ८ हजार जनालाई निम्तो दिइएको छ । यो सपथ ग्रहण समारोह हालसम्मकै भव्य हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन्
। सपथ ग्रहण समारोहमा नेपाल, भुटान, मोरिससका प्रधानमन्त्री तथा श्रीलंका, बंगलादेश, म्यानमारका राष्ट्रपति पनि सहभागी हुनेछन् । थाइल्याण्ड र कीर्गिस्तानका सरकार प्रमुखलाई पनि सपथग्रहण समारोहमा बोलाइएको छ ।
तर, यसपटक पाकिस्तानका प्रधानमन्त्रीलाई सपथग्रहण समारोहमा बोलाइएको छैन । अघिल्लो पटक सार्क देशका प्रमुखहरु सहभागी थिए । यस पटक ६५ जना मन्त्री हुनसक्ने अनुमान भारतीय मिडियाहरुले लगाएका छन् । सन् २०१४ मा ३५ मन्त्रीहरुले सपथ ग्रहण गरेका थिए । तर पछि बढेर मन्त्रीहरुको संख्या ७६ पुगेको थियो ।







प्रतिक्रिया दिनुहोस्