ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बलात्कार र हिंसापछि पनि तड्पिनु पर्छ पीडितलाई


एबीसी न्यूज
जेष्ठ ५, २०७६ आईतबार  ४ : ४९ बजे


काठमाडौं, ५ जेठ । सन्दकपुर गाउँपालिकास्थित माईपोखरीकी १७ वर्षीया युवती एक वर्ष अघि आफ्नै छिमेकी समुन राईबाट बलात्कृत भइन् । बिहान घरबाट हिँडेकी ती युवतीलाई सुमनले जङ्गलमा पुर्‍याएर बलात्कार गरे ।

सुमनले आफूसँग यौन सम्पर्क राख्न आग्रह गरे, युवती नमानेपछि ‘मारिदिने’ धम्की दिए । धम्कीपछि युवतीको इच्छाविरुद्ध नै सुमनले जबर्जस्ती गरे । घर गएर भने ‘बाँच्न दिन्न’ समेत भन्न भ्याए । त्यसपछि युवती घर फर्किन् र तत्काल प्रहरी कार्यालयमा फोन गरिन् । अहिले सुमन इलाम कारागारमा कैद जीवन जिइरहेका छन् । तर, कहिलेकाहीँ फोन गरेर युवतीलाई ‘जेलबाट निस्किएको भोलिपल्टै मारिदिन्छु’ भन्ने गरेका छन् । “म त जेल परें परें । म निस्किए भने त पनि बाँच्दिनस् भनेर धम्क्याउँछ, सार्‍है पीर परेको छ,” युवतीले भनिन् – “कति समय जेल बस्छ पनि थाहा छैन । यदि निस्किहाल्यो भने त मार्छ होला ।” युवती यहीँ विषयलाई लिएर पटक–पटक प्रहरी कार्यालयसमेत धाउने गरेकी छिन् ।

पीडकको जेल जीवन धेरै समय रहेकाले डराउनु नपर्ने सन्देश पाएपछि घर फर्किएर जान्छिन् । युवती भन्छिन् – “अहिले पनि धम्की आइरहन्छ । के गर्ने भन्ने नै अन्योलमा छौं ।” यहीँ विषयलाई लिएर युवती चिन्तित हुने गरेको युवतीकी आमाले समेत बताइन् । युवतीकी आमाले भनिन् – “त्यो दिन त्यस्तो घटना घट्यो तर, जेल परेपछि समाधान हुन्छ भन्ने सोचेकी थिएँ । आपत् हटेको छैन ।” यस्तै, सन्दकपुर गाउँपालिकाकै सुलुबुङकी एक बालिकालाई ५० वर्षीय भीमप्रसाद पाठकले दुर्व्यवहार गरे । बेलुकाको समयमा बालिका विद्यालयबाट फर्किएपछि घर बाहिर पेटीमा बसिरहेका बेला ‘मलाई चिन्छेस् छोरी, म ठूलो बुवा हुँ’ भन्दै बालिकाको संवेदनशील अङ्गमा समाएको बालिकाकी आमाले बताइन् । “म घरभित्र थिएँ, उनी (भीमप्रसाद पाठक) घरमा आए र बाख्रा छ भने र बाख्रा पछि लैजाउँला भन्दै बाहिरिए,” १२ वर्षीया बालिकाकी आमाले भनिन् – “म त घरभित्र थिएँ । बाहिर छोरी आत्तिदै कराएको सुनें ।

बाहिर निस्केर हेर्दा त छोरीको गर्धन र छातीमा समाइराखेको देखें ।” बालिकाकी आमाले तत्काल प्रहरीलाई फोन गरिन् । अहिले पाठक ५० हजार रुपैयाँ धरौटीमा तारेखमा रिहा भएका छन् । तर, यता पीडित बालिकालाई भने घरबाट टाढा पुर्‍याइएको छ । पाठकको दुर्व्यवहारपछि समाजले हेर्ने दृष्टि नै फरक भएपछि बालिकालाई घरमा नराखिएको हो । “स्कूल जान समेत मान्दिनन्, सबैले हेरे जस्तो लाग्छ, कुरा गरेजस्तो लाग्छ भन्छे । त्यही भएर घरमा नराखेको,” बालिकाकी आमाले भनिन् – “पीडकका बारेमा त केही थाहा छैन । रिहा भएको खबर आएको छ तर, हामीलाई बोलाएको छैन ।” यी युवती र बालिका मात्र होइन । अहिले पनि समाजमा पीडित महिलालाई हेर्ने दृष्टिकोण फरक छ । घटना घटेपछि पनि पीडित बारम्बार तड्पिने गरेका छन् । पीडक र समाजकै डरले कतिपय महिला घर छाड्न बाध्य छन् भने कतिपय ‘डिप्रेसन’बाट ग्रस्त हुने गरेका छन् । घटना एकचोटि घटे पनि कतिपय घटनाले बालमनोविज्ञानमा सधैं असर गर्ने गरेको मानव अधिकार मञ्च नेपाल इलामका मनोसामाजिक विमर्शकर्ता रुद्र थेवेले बताउनुभयो ।

“कतिपय बालबालिकाले त यहीँ कारण भविष्यमा दिमागी सन्तुलन समेत गुमाउन सक्छन्,” थेवेले भन्नुभयो – “बालबालिकामा यस्तो समस्याले गर्दा सामान्य जीवन जीउन समेत समस्या हुन सक्छ । विद्यालयमा वा घरमै पनि यस्ता कुरा आए भने आफूलाई भने जस्तो अनुभव गर्न पुग्छन् र उनीहरू बढी सोचमग्न हुन थाल्छन् ।” मनोविमर्शकर्ता थेवेका अनुसार पीडितलाई मात्र नभई पीडितको परिवारलाई समेत यस्ता घटनाले असर गर्ने गरेको छ । “इलाममै पनि यस्तै घटनाका कारण एक जनालाई डिप्रेसन भएको छ, बालिकालाई दुर्व्यवहार भएको खबर आयो, आफन्तबाट बढी दबाब आएपछि बालिकाका बाबु अहिले डिप्रेशनमा छन्,” थेवेले भन्नुभयो । थेवेका अनुसार जिल्लामा आत्महत्याका घटना बढ्नुका कारण पनि बलात्कार र दुर्व्यवहार हुन सक्छ । “कतिपयले त सुसाइड पनि गर्छन् तर, हामीकहाँ के कारणले सुसाइड गरेको हो भन्ने पत्ता लगाउने कोशिश गरिँदैन,” थेवेले भन्नुभयो । यस्ता घटना हुनै नदिन पीडकलाई कारबाहीको दायरा ल्याउनुपर्ने उहाँ ठान्नुहुन्छ ।

कतिपय पीडकले आफू सजाय भोगिरहेको समयमा पनि पटकपटक पीडितलाई धम्क्याइरहेका हुन्छन् । उनीहरूले पीडितलाई धम्क्याउनाका कारण भने आफ्नो कमजोरी समाजले जान्नु हो । भोलिका दिनमा पनि समाजमा जिउन सक्ने सम्भावना नहुने ब्झुेपनि पीडकले समस्यामा पार्ने गरेका छन् । यसका लागि भने सरोकारवाला निकाय र पीडित पक्ष दुवै सतर्क हुनुपर्ने कानूनविद्हरूको भनाइ छ । कैदीको नियत नबलिएसम्म विभिन्न अवसरमा कैद छूट नहुने तर, कैद भुक्तान गरिरहेका बेला अन्य अभियोग दर्ता गर्न नमिल्ने कानूनी प्रावधान छ । “पीडकले यसरी धम्क्याए पनि उसलाई अन्य अभियोगमा मुद्दा हाल्न भने मिल्दैन तर, उ बाहिर निस्केपछि भने उसको व्यवहार नसुध्रिए फेरि कानूनी प्रक्रिया अपनाउन सकिन्छ,” अधिवक्ता वीरबहादुर खड्काले भन्नुभयो – “त्यसमा पनि धम्क्याउने क्रममा पीडकको सम्पर्कमा पीडित आउँदैन । मोबाइल फोन परिवर्तन गर्नाले पनि समस्या कम हुन्छ ।”

उहाँका अनुसार बलात्कार तथा हिंसाका घटनामा बढी पीडकले पीडितलाई प्रताडित गर्ने गरेका छन् । यता, जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख माधवप्रसाद श्रेष्ठले भने पीडकको नियत नसुध्रिए कैद भुक्तान भए पनि ऊ प्रहरीको निगरानीमै रहने बताउनुभयो । “हामी पीडित र पीडक दुबैलाई बुझ्छौं, पीडकले अनावश्यक रूपमा पीडितलाई असर पार्ने गरेको छ भने त्यसलाई कारागारमै पनि त्यही किसिमको कारबाही हुन्छ,” उहाँले थप्नुभयो – “हामीले त्यस्ता पीडकलाई पनि धेरै कारबाहीमा ल्याइसक्यौं । त्यस किसिमको अनावश्यक यातना दिने पीडकलाई थुनामुक्त भएपछि पनि निगरानीमा राख्छौँ ।” श्रेष्ठले आफूहरू पीडितलाई थप समस्यामा पार्ने गतिविधि रोक्न पीडकलाई सकेसम्म आफ्नो सम्पर्कमा रहिरहने वातावरण बनाउने गरेको बताउनुभयो । जिल्लामा यस वर्ष बाल यौन दुर्व्यवहार र जबर्जस्ती करणीका घटनामा पनि वृद्धि आएको छ । गत वर्ष १९ वटा जबर्जस्ती करणीका घटना घटेकामा यस वर्ष २८ घटेका छन् ।

बाल यौन दुर्व्यवहारको घटना गत वर्ष नघटेको देखिएकामा यस वर्ष पाँच वटा घटेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार यस वर्ष जबर्जस्ती करणी उद्योग १०, बहुविवाह १३, मानव बेचबिखन छ, हाड नाता करणी एउटा घटेको देखिएको छ । गत वर्ष जबर्जस्ती करणी उद्योग १०, बहुविवाह सात र मानव बेचबिखनका दुइटा घटना घटेका थिए । सङ्ख्यात्मक रूपमा घटना बढेको देखिए पनि वास्तवमा घटना घटाइ समान रहेको जिप्रका प्रमुख श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार कतिपय पुराना घटनाको पनि दर्ता गर्ने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुशासनको डंका पिट्नेहरू नै सम्पत्ति लुकाउँदैछन्:शंकर पोखरेल

ब्रेकिङ : इस्लामाबादमा इरानी टोली अवतरण, उच्चस्तरीय स्वागत — शान्ति वार्तामा नयाँ मोड

सम्बन्धित

काठमाडौंका सडकमा ढकमक्क फूल फुलाउने महानगरको नयाँ अभियान (तस्बिरसहित)

“१३ दिनको हिरासतपछि ओली–लेखक रिहा: कानुनी प्रक्रिया कि राजनीतिक स्टन्ट?” — वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसँग विशेष अन्तर्वार्ता

उपसभामुख रुबीकुमारी ठाकुरले लिइन् सपथ

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

विद्यार्थी संगठन खारेज गर्ने सरकारको तयारीविरुद्ध आन्दोलन घोषणा

हर्क साङपाङको मार्मिक प्रश्न : दार्चुलाको पीडा सिंहदरबारले कहिले सुन्छ ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com