
काठमाडौं,२२ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् व्यवस्थापनको पूर्व तयारीमा जुटन् सम्बन्धित सबै निकायलाई निर्देशन दिनु भएको छ ।
जल तथा मौसम विज्ञान विभागले आँधि, हुरी र वर्षाजस्ता प्राकृतिक प्रकोप आईपर्ने चेतावनी दिईरहेका बेला प्रधानमन्त्री ओलीले त्यसको व्यवस्थापन हुने गरी पूर्व तयारी गर्न सम्बन्धित सबै निकायलाई निर्देशन दिनु भएको हो ।
आईतबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दोस्रो बैठकमा बोल्दै उहाँले विपत्तिका बेला राहत तथा उद्धार र त्यसका लागि आवश्यक सबै उपकरणहरुको व्यवस्था गर्न पनि संघ, प्रदेश र स्थानीय सबै तहका सरकारलाई सचेत गराउनु भएको थियो ।
विपद् व्यवस्थापनका लागि आवश्यक सबै खालको पूर्व तयारीमा जुट्न प्रधानमन्त्री ओलीले संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायलाई निर्देशन दिनु भएको गृह सचिव प्रेमकुमार राईले जानकारी दिनु भयो ।
बैठकमा प्रदेश सरकारका मुख्यमन्त्रीहरुले पनि आ– आफ्नो प्रदेशका विपदको सम्भावना र व्यवस्थापनका लागि गरिएको प्रयासहरुका बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विपद्बाट सबैभन्दा बढि प्रभावित प्रदेश २ भएकाले त्यसका लागि विशेष खालको व्यवस्था गरिदिन प्रधानमन्त्री ओलीसँग माग गर्नु भएको थियो । गर्मीमा आगलागी, हावा-हुरी, वर्षामा डुबान र कटान, हिउँमा शीत लहरका कारण मानिसको ज्यानै जाने अवस्था भएकाले त्यसको व्यवस्थापनका लागि प्रदेश २ मा विशेष व्यवस्था गर्न आफूले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको मुख्य मन्त्री राउतले जानकारी दिनु भयो ।
बैठकले विगतमा गरिएका विपद् व्यवस्थापनको समिक्षा गर्दै आगामी दिनमा संघ, प्रदेश र स्थानीय सरकारबीच विपद् व्यवस्थापनका लागि सहकार्यका साथ काम गर्ने सहमति पनि गरिएको छ । प्रधानमन्त्री आफैं अध्यक्ष रहने सो परिषदमा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मुख्यमन्त्रीहरु, सुरक्षा निकायका प्रमुखहरु, गृह सचिव सदस्य रहने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्