
काठमाडौं, ११ पुस। कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्त प्रकरणमा थप अनुसन्धानका लागि प्रहरी महानिरीक्षक (आइजिपी) सर्वेन्द्र खनालसहितको एक टोली कञ्चनपुरतर्फ लागेको छ। प्रहरीका ३ विभागका प्रमुखसहितको टोली मंगलबार सडकमार्ग हुँदै कञ्चनपुरका लागि निस्केको हो।
टोली मंगलबार बेलुका बुटवलमा बास बसी बुधबार बिहान कञ्चनपुरका लागि निस्केको स्रोतले बतायो। टोलीमा महानिरीक्षक खनालसहित केन्द्रीय अनुसन्धान व्युरो ( सिआइबी) का प्रमुख निरज शाही, प्रहरी मुख्यालयका एसपी रामदत्त जोशी, महानगरीय अपराध महाशाखाका डिएसपी रुगम कुँवर, प्रहरी नायव निरीक्षक गजेन्द्र रावलको टोली मंगलबार बेलुकी कञ्चनपुतर्फ प्रस्थान गरेको हो ।
टोलीमा गएका अपराध महाशाखाका डिएसपी रुगम कुँवर र प्रहरी नायव निरीक्षक गजेन्द्र रावल टेक्नीकल पाटोको अनुसन्धानमा दखल राख्ने अनुसन्धान अधिकारीका रुपमा चिनिन्छन् ।
केही दिनअघि मात्रै निर्मला हत्या प्रकरणको अनुसन्धानका लागि अपराध महाशाखाका डिएसपी मनोहर भट्ट नेतृत्वको टोली कञ्चनपुर गएको थियो। डिएसपी भट्ट नेतृत्वको उक्त टोलीले शंकास्पद १० जनाको नाम टिपाएको र त्यसमा चारजना सैनिक समेत रहेको श्रोत बताउँछ ।
कञ्चनपुर पुगेर टोलीले निर्मलाको हत्या भएको स्थानको समेत अवलोकन गर्ने बताइएको छ। घटनास्थल, निर्मलाका परिवार तथा स्थानीयसँग छलफल गरी अनुसन्धानका नयाँ पाटाहरुको समेत खोजी हुने बताइएको छ।
निर्मलाको हत्यापछि गठन भएका छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा टोलीले यसअघिको अनुसन्धानमा देखिएका कमजोरीहरुलाई समेत केलाउने तथा तत्कालीन समयमा अनुसन्धानमा खटिएका प्रहरी अधिकारीहरुको कार्यसम्पादनको समेत विश्लेषण हुने स्रोतले बतायो। बालिका पन्तको गएको साउन १० गते बलात्कारपछि हत्या भएको थियो। उनको शव हत्या भएको भोलिपल्ट नजिकैको उखुबारीमा फेला परेको थियो ।







प्रतिक्रिया दिनुहोस्