
काठमाडौं,८ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्षद्वयको प्रतिवेदनमाथि सदस्यले धारणा राख्ने क्रम सकिएको छ ।
आजको बैठकमा धारणा राख्न बाँकी प्रदिप ज्ञवालीले आफ्नो धारणा राखेपछि बोल्ने क्रम सकिएको नेकपाले जनाएको छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा बसेको बैठकमा नेताहरुले बोल्ने क्रम सकिएपछि अध्यक्षद्धयले अपरान्ह ४ बजे जवाफ दिने कार्यक्रम छ ।
आज विहानको बैठकमा समय अभावका कारण अध्यक्षद्धयले धारणा राख्न नसकेपछि बैठक आजै दिउँसो ४ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो ।
हिजोको बैठकमा वरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनालले पार्टी र सरकार सञ्चालनको विषयमा प्रश्न उठाउनुभएको थियो । छलफलका क्रममा उठेका प्रश्नको जवाफ अध्यक्षद्वयले अर्को बैठकमा मात्र दिनुहुनेछ ।
नेकपाको स्थायी समिति बैठकमा एसिया प्यासिफिक समिटिमा सरकारको सहभागिताको विषयलाई लिएर नेतृत्वको बढी आलोचना भएको छ ।
यस्तै भ्रष्टाचार नियन्त्रण, जनअपेक्षा अनुसारका काम नभएकोप्रती पनि नेताहरुले नेतृत्वको ध्यानाकर्षण गराएका छन् । अध्यक्षद्वयको प्रतिवेदनमा रहेका कमी कमजोरी सच्याउँदै सदस्यले दिएका सुझाव जोडेर पार्टीलाई गतिशील बनाउनुपर्ने स्थायी समिति सदस्यले बताएका छन् ।
गत शनिबारबाट सुरु भएको स्थायी समिति बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले पेस गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि गत सोमबारबाट छलफल सुरु भएको थियो ।







प्रतिक्रिया दिनुहोस्