ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“हजुर, दिन कसरी कट्ला, यो जाडोमा हाँमी कसरी बाँच्ने”- मुसहर


एबीसी न्यूज
पुस ८, २०७५ आईतबार  ९ : ०० बजे

बर्दिवास, ८ पुस । महोत्तरी जिल्लाका मुसहर जातिको दलित बस्तीमा जाडो बढेसँगै बिरामी हुने क्रम निकै बढेको छ । पौष्टिक आहारको कमी र बस्न शीत छल्ने घर नहुँदा शिक्षा, स्वास्थ्य र अन्य अवसरबाट पछि पर्दै आएका मुसहर जातिको बसोबास रहेको बस्ती पुस लागेसँगै छिप्पिदै गएको जाडोले अत्यधिक प्रभावित भएको हो ।

चरम गरीबीले पौष्टिक आहार जोहो गर्न नसकेका मुसहर बस्न शीत छल्ने घरसमेत नहुँदा कष्टकर जीवन बिताउन बाध्य छन् । सरकारले जिल्लामा मुसहरलक्षित जनता आवास कार्यक्रम सञ्चालन गरे पनि यसअन्तर्गत बन्न थालेका घर अधुरै छोडिँदा जाडोमा आफूहरुको कन्तबिजोग भएको मुसहर समुदायको भनाइ छ ।

“हजुर, दिन केना गुजर्तै, अइ जाडमे केना जियब हमसभ” (हजुर, दिन कसरी कट्ला, यो जाडोमा हाँमी कसरी बाँच्ने) महोत्तरीको भङ्गाहा नगरपालिका–४ रामनगरको मुसहरीटोलकी बुधनी सादा मुसहरले डम्म हुस्सुले ढाकेको बस्तीमा पुगेका सञ्चारकर्मीसँग भन्नुभयो, “एकटा झोपडी छल, सेहो नवका घर बनेवाक बहानामें तोइड् देलक, पालमें बैसल दू साल होव लागल, बुझाइय अइबेरक् जाड हमरा लइए जायत” (एउटा पराले झुप्रो थियो, त्यो पनि नयाँ घर बनाइ दिने निहुँमा भत्काइ दिए, यो पातलो बोराले ओत बनाइएको पालमा बसेको दुई वर्ष हुन लाग्यो, लाग्छ, यसपालिको जाडोले चाहिँ मलाई लिएरै जान्छ क्यार !)

रामनगरको मुसहरीटोलका २६ घरमध्ये आठ घर जनता आवास कार्यक्रमअन्तर्गत पक्की भवन बनाइदिने भन्दै आफ्ना पराले झुप्रा भत्काएर दुईकोठे घरको जग बाँधेर हिँडेका हाकिम फर्केर नआएपछि जाडो–बर्खा यसै पालमा बिताएको बुधनीको भनाइ छ । बुधनीसहित यस बस्तीका आठ मुसहर परिवारका झुप्रा विसं २०७४ को प्रारम्भमै भत्काएर पक्की घरको जग बनाएर हिँडेका शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय जनकपुरका अधिकारी फर्केर नआएपछि आपूmहरुको बिचल्ली भएको यहाँका मुसहर बताउँछन् ।

रामनगरजस्तै भङ्गाहा नगरपालिका–९ हरिनमरी र अजगेवा मुसहरीटोल र वडा नं–३ भङ्गाहा बस्ती र भङ्गाहा–४ बनरा बस्तीको मुसहरीटोलका दलितको पनि यस्तै ब्यथा छ । भङ्गाहा–३ को भङ्गाहा बस्तीभित्रको मुसहरीटोलका ११० घर मुसहरमध्ये २७ घरपरिवारका झुप्रा पनि विसं २०७४ मै भत्काएर पक्की घरको जग बनाइए पनि बाँकी काम अल्झदै आएको छ । “यी हमरासभके घर कहिया बन्तै हजुर ?” (यी हाम्रा घर कहिले बन्छन् हजुर ?) सो बस्तीमा पुगेका सञ्चारकर्मीसँग पानोवती सादाले भन्नुभयो, “नई बुझायल जे कि लिखायल है, हमरासबके भागमे ? झोपडियो टुटल, घर नई बनल” (खै के बुझौं, के लेखिएको छ हाम्रो भाग्यमा ? छँदाखाँदाका झोपडी भत्किए, घर बनेनन्) भङ्गाहा–३ मुसहरीटोलका ७० वर्षीय जुल्मा सादाले त अब नयाँ घर बनेर त्यसमा रात बिताउने कुरा बिर्सन लागेको आफ्नै मैथिली भाषामा बताउनुभयो ।

बस्तीमा अहिले पश्चिमी वायुसँगैको लगातार बहिरहेको चिसो सिरेटोमा पातपतिङ्गर, झुत्रा प्लाष्टिक, सडक छेउमा फ्याँकिएका टायरका टुक्रा र सुत्न ल्याइएको पराल सल्काएर बनाइएको ‘घुर’ (आगो बालिएको ठाउँ) वरिपरि बसेर जाडो छल्ने किस्सा (कथा) भनेर मुसहरले रात कटाउने गरेका छन् ।

शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय जनकपुरले जनता आवास कार्यक्रमअन्तर्गत दलित र अतिविपन्न परिवारका लागि आवासघर बनाउने योजनाअन्तर्गत थालेको यो काममा अहिलेसम्म एक फिट जगको पर्खाल ठडिनुबाहेक काम अघि बढ्न नसकेको भङ्गाहा–३ मुसहरीटोलका ३० वर्षीय युवा दिनेश सादाले बताउनुभयो । बस्तीमा अहिले जाडोकै कारण ५० वर्ष कटेका पुरुष, ससाना नानी र महिलासमेत ३० भन्दा बढी बिरामी परेका दिनेशको भनाइ छ । भङ्गाहा नगरपालिका क्षेत्रभित्र ५० परिवार मुसहरको नयाँ घर बन्ने आश मर्दै गएको छ । आपूmहरुको यो अवस्था हेर्न आफ्ना जनप्रतिनिधि फर्केर नआएका मुसहरहरुको गुनासो छ ।

घरको अभावमा बस्तीका दलित मुसहर शीत छिर्ने पालमा जाडो काट्न बाध्य देखिएका छन् भने बितेको डेढ वर्षभित्र भवन निर्माण डिभिजन कार्यालयबाट कोही फर्केर नआउँदा अब घर बन्छ भन्ने आश मर्न थालेको सो बस्तीका अर्का दलित लक्ष्मण सादा बताउनुहुन्छ । दलित बस्ती नजिकैका सामाजिक कार्यकर्ता जीतेन्द्र चौधरीले त “नाउँ जनता आवास, काम गरीब उठिवास” भने हुने टिप्पणी नै गर्नुभयो ।

यसै सन्दर्भमा भङ्गाहा नगरपालिकाका प्रमुख सञ्जीवकु्मार साहसँग जिज्ञासा राख्दा आपूmले नगर क्षेत्रबाट जाडो छल्न दलितहरुका लागि न्यानो लुगाको व्यवस्था गर्न लागेको जानकारी दिनुभयो ।
यता घर निर्माणकार्यको प्रत्यक्ष रेखदेख र कार्यसम्पादनको जिम्मेवारी पाएको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय जनकपुरले भने मुसहरकै बेवास्ताले काम अघि नबढेको बताएका छन् । जनता आवास कार्यक्रमअन्तर्गत कार्यालयमा आफ्ना लागि भवन बनाउन सम्झौता गरेका मुसहर सम्पर्कमा नआएकाले काम अघि बढ्न नसकेको कार्यालयका एक कर्मचारीको भनाइ छ ।

एउटा दुईकोठे पक्की घर निर्माणका लागि रु दुई लाख ८० हजार विनियोजित भए पनि पहिलो चरणमा भएको कामको प्रगति प्रतिवेदन, प्राविधिक मूल्याङ्कनसहित रकम माग नगरी मुसहर सेवाग्राहीले अपजसजति कार्यालयतिर देखाउने गरेका कार्यालयका कर्मचारीको गुनासो छ । कार्यालयले स्वीकृत रकम क्रमशः काम भएको अवस्थाको प्राविधिक मूल्याङ्कन र कार्यप्रगति प्रतिवेदन पेश गरेपछि चार किस्तामा रकम प्रवाह गर्ने नीति अख्तियार गरेको ती कर्मचारीको भनाइ छ । खासमा कार्यालय प्रदेशअन्तर्गत गाभिएपछि काम व्यवस्थित गर्न समय लागेको कार्यालय परिसरमै भेटिएका अर्का कर्मचारीले बताएका छन् । कार्यालयले कार्यक्रमअन्तर्गत जिल्लाभरिमा बनाउन थालेका एक हजार घर भने सबै अधुरा रहेका छन् ।

यता मुसहर भने यो कानूनी प्रक्रियाबारे पुरै बेखबर देखिएका छन् । “नयाँ घर बनाइदिन्छौँ, तिम्रो झुप्रो भत्काउ भन्नुभयो हाकिमले” भङ्गाहा–४ रामनगरको मुसहरीटोलका अगुवा जुगल सादाले भन्नुभयो, “त्यही आशमा हाम्रा दाजुभाइले झुप्रा भत्काइदिए, अब अहिले हामीलाई दशथरि कुरा बताएर अड्ङ्गा लगाएर के हुन्छ ?” कार्यालय प्रयोजनका कागजात अक्षरका ज्ञान नभएका आपूmहरुबाट बन्न नसक्ने सादाको स्पष्ट भनाइ छ ।

जिल्लामा तीन हजार ३०० जनसङ्ख्या (२०६८ को राष्ट्रिय जनगणना) रहेका मुसहरलक्षित शैक्षिक, स्वास्थ्यसम्बन्धी, आयआर्जन र अन्य सामाजिक सचेतना कार्यक्रम नहुँदा यी जातिको जीवनमा फरक आउन नसकेको सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको ठम्याइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्पले इरानी तेल तथा ऊर्जा सुविधामाथि आक्रमणको धम्की फेरि दोहोर्‍याए

कांग्रेस विभाजनको बाटोमा

सम्बन्धित

बाग्लुङ कालिका मन्दिरमा भक्तजनहरूको उल्लेख्य भीड

टी–२० लिग बेल्जियममा नेपालका ८ जना खेलाडीले खेल्ने

शून्य मतको विरासतः “मतपेटिकामा हराएको आत्म विस्वास र राजनैतिक अस्तित्व”

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com