ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नदीले भवन बगाएपछि त्रिपालमुनि पठनपाठन


admin

बेनी,५ पुस । नजीकै देखिने धौलागिरि हिमालको चिसो सिरेठो । छेउमै बग्ने रघुगङ्गा नदीको चिसो हावाले विद्यार्थीहरु कठ्याङ्ग्रिने गर्छन् । रमाइरमाई विद्यालय पढ्नुपर्ने समय उनीहरुका लागि भने निकै कष्टकर बन्ने गरेको छ ।

म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुईनेमङ्गलेमा रहेको रितुङ्ग माध्यमिक विद्यालयका विद्यार्थीहरुको भोगाइ हो यो । गत भदौ २७ गते रघुगङ्गा नदीमा आएको भीषण बाढीले विद्यालय भवन बगाएपछि अहिले यस विद्यालयमा त्रिपाल टाँगेर बनाइएका टहरामा विद्यार्थीहरुलाई पठनपाठन गराउने गरिएको छ ।

खोलाले विद्यालय भवन बगाउँदा सात वटा कक्षा कोठा पूर्ण क्षति भएको छ । कक्षा कोठाको अभाव भएकाले अहिले बाल कक्षादेखि ६ कक्षासम्मलाई खुलाचौरमा बनाइएको अस्थायी टहरामा राखेर पठनपाठन गराइँदै आइएको विद्यालयका प्रधानाध्यापक खिम बहादुर छन्त्यालले बताउनुभयो ।

“विद्यालयको छेउबाटै खोला बग्छ, अन्य भवन पनि नदी कटानबाट उच्च जोखिममा छन्, यो स्थानमा अब विद्यालय रहन सक्ने अबस्था छैन, अहिले केही विद्यार्थीलाई बाँकी रहेका भवनमा राखेका छौँ तर, त्रिपालमुनि बसेर अध्ययन गर्नुपर्ने विद्यार्थीहरुलाई निकै कष्टकर भएको छ” – प्रअ छन्त्यालले भन्नुभयो ।

विद्यालय भवन बगाएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको अगुवाइमा विद्यालय परिसरमा त्रिपाल टाँगेर अस्थायी टहरा बनाइएको थियो । अहिले सोही त्रिपालको टहरामा बसेर विद्यार्थीहरुले अध्ययन गर्दैआएका छन् । कक्षा ६ मा अध्ययन गर्दैआएका दिप्शन घर्तिले चिसो मौसममा टहरामुनि बसेर पढ्न निकै गाह्रो हुने गरेको बताउनुभयो ।

त्रिपालले छाएको टहराको दायाँबायाँ खुला छ । हिमालको नजीक र खोलाको किनारमा रहेकाले नियमित जसो चिसो हावा चलिरहँदा विद्यार्थीहरु जाडोले कठ्याङ्ग्रिने समस्या रहेको विद्यालयका शिक्षक याम विश्वकर्माले बताउनुभयो ।

“विद्यालय भताभुङ्ग अवस्थामा छ, बाल कक्षादेखि ६ कक्षासम्मका बालबािलकाहरु टहरामा बसेर पढ्न बाध्य छन्, बालबालिकालाई रमाइलो वातावरणमा पढ्ने बातावरण सिर्जना गर्नुपर्ने हो तर, कक्षा कोठाको अभावले सम्भव हुन सकेको छैन” – शिक्षक विश्वकर्माले भन्नुभयो । टहरामा बसेर अध्ययन गर्दा चिसोले सताउने गरेको कक्षा ४ मा अध्ययनरत छात्रा करुणा घर्तिले बताउनुभयो ।

कक्षा कोठामा अध्ययन गर्दा पढाइतर्फ ध्यान जाने गरे पनि टहरामा अध्ययन गर्दा चिसो र खुला भएकाले पढाइप्रति ध्यान केन्द्रित गर्न कठिनाइ भएको अर्का विद्यार्थी सन्दिप बुढाथोकीले बताउनुभयो ।

त्रिपाल टाँगेर बनाइएको टहरामा पठनपाठन गराउँदा विद्यार्थी र शिक्षकलाई अप्ठ्यारो भए पनि वैकल्पिक व्यवस्था नहुँदा थप समस्या भएको छ । चिसोले गर्दा विद्यार्थीहरु बिरामी पर्ने खतरासमेत बढेको विद्यालयका शिक्षक विकास ढकालले बताउनुभयो ।

“पठनपाठन नै बन्द गरेर बस्ने कुरा भएन, चिसो अत्यधिक बढेको छ, बालबालिकाहरुलाई टहरामा राखेर पढाउँदा निकै सकस भएको छ, कतै बालबालिका विरामी हुने पो हुन् कि भन्ने डर बढेको छ” – शिक्षक ढकालले भन्नुभयो ।

रघुगङ्गा नदीमा आएको भीषण बाढीको कटानले यस विद्यालयको ३ वटा भवनलाई नराम्ररी क्षति पारेको छ भने शौचालयहरु समेत बगाइदिएको छ । कटानले गर्दा अहिले विद्यालयमा अध्यापन गराइरहेकै छेउबाट खोला बग्ने गरेको छ ।

बाँकी रहेका पूर्वाधारसमेत जोखिममा परेको कारण विद्यालय स्थानान्तरणका लागि जग्गाको खोजी भैरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष गमान छन्त्यालले बताउनुभयो ।

उहाँले विद्यार्थीहरुलाई जस्तोसुकै अवस्थामा रहे पनि अध्ययन गर्नबाट वञ्चित हुनुपर्ने अवस्था सिर्जना नहोस् भन्ने उद्देश्यले जग्गा खोजी र पूर्वाधार निर्माणका लागि स्रोत जुटाउने पहल भैरहेको जानकारी दिनुभयो । 
जग्गा प्राप्तिमा समस्या 

रघुगङ्गा नदीमा आएको भीषण बाढीले रितुङ्ग माविमा रु ५ करोड रुपैयाँ भन्दा बढीको भौतिक पूर्वाधार बगाएर क्षतिग्रस्त बनाएपछि अहिले यस विद्यालयको पुनःनिर्माण गर्न अभियान थालिएको छ ।

स्थानीयवासीको पहलमा विद्यालयलाई सुरक्षित स्थानमा सार्ने तयारी गरिए पनि उपयुक्त जग्गा प्राप्ति र पूर्वाधार बनाउन बजेटको अभाव छ । विद्यालय स्थापना भएको २८ वर्षसम्म सरकारी र स्थानीयवासीको पहलमा निर्माण भएका पूर्वाधार बाढीले क्षति पार्दा यस विद्यालयले ठूलो भौतिक सङ्कट व्यहोरेको छ ।

अहिले विद्यालय रहेको ठाउँमा नदी कटानको उच्च जोखिम रहेकाले नजीकै रहेको ठाउँमा जग्गा खोजी गरे पनि कतिपय व्यक्तिहरु जग्गा उपलब्ध गराउन मञ्जुर नभएका र कतिपय ठाउँ सुरक्षित नभएकाले समस्या भएको प्रअ छन्त्यालले बताउनुभयो ।

यस विद्यालयमा अहिले कुईनेखानी, मङ्गलेखानी, पात्लेखर्क, दुवाडी, घ्यासीखर्क, चौरखानी, दुलेखर्क, गौँडामुनी, नामीला, मूलपानी, रायखोरलगायतका ठाउँका १५० भन्दा बढी बालबालिका अध्ययनरत छन् । 
पुनःनिर्माणमा सघाउँदै प्रवासी 

कुईनेमङ्गलेमा बाढीले बगाएको रितुङ्ग माविको पुनःनिर्माणका लागि प्रवासीहरुले सघाउन थालेका छन् । अध्ययन, रोजगार र व्यापार व्यवसायको सिलसिलामा विभिन्न देशमा पुगेका कुईनेमङ्गलेवासीको पहलमा विद्यालयको पुननिर्माणका लागि अर्थ सङ्कलन गर्न थालिएको हो ।

गत भदौ २७ गते रघुगङ्गा नदीमा आएको भीषण बाढी र कटानको चपेटामा परेको विद्यालय र घरबारविहीन बनेका स्थानीय दुई घरपरिवारको लागि अहिलेसम्म करीब रु १८ लाख सहयोग जुटेको छ ।

बेलायत, अमेरिका, अष्टे«लियालगायतका मुलुकमा रहेका कुईनेमङ्गलेवासीले अहिले आफ्नो जन्मथलोमा रहेको एक मात्रै माध्यमिक विद्यालयको पुनःनिर्माणमा आर्थिक सहयोग गर्न अभियान थालेका हुन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गमान छन्त्यालले गाउँपालिका हुँदै सरकारी क्षेत्रबाट समेत विद्यालयको पुनःनिर्माणमा पहल भैरहेको बताउँदै देश विदेशमा रहेका सहयोगदाताहरुलाई समेत सक्दो सहयोग गरी दुर्गम बस्तीका बालबालिकाहरुलाई सहज रुपमा अध्ययन गर्ने वातावरण बनाइदिन आह्वान गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com