
काठमाडौं,२८ मङसिर । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।
राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित समारोहमा संवैधानिक व्यवस्थानुरुप प्रधामन्त्री ओलीले उक्त प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । सो अवसरमा राष्ट्रपति भण्डारीले परम्परागत सुरक्षाका साथै नवीनतम सुरक्षा चुनौतीलाई सामना गर्दै मुलुकको समग्र सुरक्षा व्यवस्था प्रभावकारी बनाउनका लागि नीति निर्माणलगायत सबै व्यवस्थापनका काम गर्न परिषद्का पदाधिकारीलाई सुझाउनुभयो ।
नेपालको संविधानको धारा २६६ मा नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागि मन्त्रिपरिषद्लाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा सुरक्षा परिषद् रहने व्यवस्था छ ।
प्रतिवेदनमा राष्ट्रिय सुरक्षा परिषद्को ऐतिहासिक पृष्ठभूमि, राष्ट्रिय सुरक्षासम्बन्धी व्यवस्था, अन्तरराष्ट्रिय, क्षेत्रीय र आन्तरिक सुरक्षा परिस्थिति र विश्लेषण गरिएको छ । राष्ट्रिय सुरक्षा परिषद्बाट आर्थिक वर्ष २०७४-७५ मा सम्पादन भएका कार्य र सचिवालयको स्तरोन्नतिका लागि गर्ने प्रयास समेत प्रतिवेदनमा उल्लेख छ ।
समारोहमा प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष ओलीले हाल राष्ट्रिय एवं क्षेत्रीय सुरक्षा चुनौतीबाट कुनै खतरा नदेखिएको र राष्ट्रको शान्ति सुरक्षाको अवस्था सामान्य रहेको जानकारी दिनुभयो । मुलुकमा सङ्घ, प्रदेश र स्थानीय तीन वटै तहको निर्वाचन भई कार्यान्वयनमा आएको अवधिका विषयवस्तु प्रतिवेदनमा समेटिएको उल्लेख गर्दै प्रधामन्त्री ओलीले परिषद्को निर्णयबाट परिचालन भएको नेपाली सेनाबाट निर्वाचनलाई भयरहित, स्वच्छ र निष्पक्ष निर्वाचनमा ठूलो योगदान पुगेको बताउनुभयो ।
प्रतिवेदनमा अन्तर्राष्ट्रिय क्षेत्रमा देखापरेका आतङ्कवाद, जलवायु परिवर्तनको असर, क्षेत्रीयलगायत आन्तरिक सुरक्षा चुनौती, विखण्डनकारी एवं सशस्त्र समूहका आपराधिक गतिविधि,शरणार्थी समस्या तथा क्षेत्रीय मुलुककबीचको आपसी सहकार्य समेतका विषयवस्तुका गहन विश्लेषण गरिएको छ ।







प्रतिक्रिया दिनुहोस्