काठमाडौं,२० मङसिर । कञ्चनपुरको भीमदत्तनगर–२ कि १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार–हत्यामा संलग्नताको आरोपमा थप दुईजना पक्राउ परेका छन् । कञ्चनपर प्रहरीले उनीहरु पक्राउ गरेपनि पहिचान भने गोप्य राखेको छ ।
स्रोतका अनुसार उनीहरुलाई थप अनुसन्धानका लागि आज काठमाडौं ल्याइएको छ । उनीहरुमाथि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को काठमाडौंस्थित टोलीले अनुसन्धान थाल्नेछ । यद्यपी कञ्चनपुर प्रहरीले भने कसैलाई पक्राउ नगरेको दाबी गरेको छ ।
“केही शंकास्पद गतिविधिका कारण उनीहरुलाई पक्राउ गरिएको हो । अहिले नै उनीहरुको विषयमा थप अन्य कुरा आएका छैनन्,” यसअघि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले बुधबार काठमाडौंबाटै कञ्चनपुरका २२ वर्षीय प्रदीप रावललाई पक्राउ गरेको थियो ।
रावल लागुऔषध प्रयोगकर्ता र यसअघि पनि अपराधिक पृष्ठभूमिमा संलग्न रहेका युवा भएको बताइएको छ । केही समयसम्म भारतमा बसेका रावल ५ दिनअघि मात्रै काठमाडौं आएको बेला प्रहरीले पक्राउ गरेको हो । उनलाई सीआईबीले आफ्नै हिरासत कक्षमा राखेर अनुसन्धान गरिरहेको छ । रावलको डीएनए परीक्षणका लागि नमुना संकलन गरिएको छ ।
कञ्चनपुर प्रहरीका एसपी कुवेरसिंह कडायतले भने यसबारे आफूलाई कुनै जानकारी नरहेको बताए । ‘‘हामी घटनाको अनुसन्धानमा भने जुटिरहेका छौं, दैनिक रुपमा शंकास्पद व्यक्तिसँग सोधपुछ गरिरहेका छौं । हालसम्म ९ जनाको डीएनए परीक्षण पनि गरेका छौं । अरु केही पनि अनुसन्धानको घेरामा छन्,’’ एसपी कडायतले भने । प्रहरी प्रवक्ता एसएसपी उत्तम सुवेदीले निर्मला हत्याकाण्डको अनुसन्धान साँघुरिँदै गएको बताए । रावलको डीएनए रिपोर्ट शुक्रबारसम्म आउन सक्ने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्