
काठमाडौं, ४ मंसिर । आज नोभेम्बर २०, अन्तर्राष्ट्रिय बाल अधिकार दिवस । संयुक्त राष्ट्रसंघको महासभाले बाल अधिकारसम्बन्धी महासन्धि पारित गरेको सम्झनामा हरेक वर्ष विश्वभर नोभेम्बर २० मा अन्तर्राष्ट्रिय बाल अधिकार दिवस मनाइन्छ ।
नेपालमा पनि विभिन्न कार्यक्रम गरेर यो दिवस मनाइने गरिन्छ । पहिलो विश्वयुद्धपछि युद्धको कारण अनाथ र घरबारविहिन बनेका बालबालिका सडकमा वेवारिसे अवस्थामा देखिएपछि विश्वभर बालअधिकारको चर्चा सुरु भएको मानिन्छ । निकै लामो संघर्षपछि संयुक्त राष्ट्रसंघबाट १९८९ नोभेम्बर २० मा बालअधिकार सम्बन्धी महासन्धि पारित भएको थियो । १९९० बाट लागू भएको महासन्धिलाई नेपालले पनि सोही वर्ष सेप्टेम्बर १४ मा हस्ताक्षर गरेको थियो । सोही दिनको सम्झनामा नेपालमा हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको छ ।
विकसित देशको तुलनामा विकासशील देशका बालबालिकाले आफ्ना सबै अधिकार प्राप्त गर्न सकेका हुँदैनन् । कुनै पनि देशको विकासमा त्यहाँका बालबालिकाको सर्वाङ्गीण विकास अपरिहार्य हुन्छ । बालबालिकाको चौतर्फी विकास भएन भने देशको भावी पुस्ता सक्षम बन्न सक्दैन । संयुक्त राष्ट्रसंघको बाल अधिकारसम्बन्धी महासन्धि–१९८९ ले बालबालिकाको बाँच्न पाउने, संरक्षण पाउने, विकास गर्न पाउने र सहभागी हुन पाउने गरी मुख्य चार अधिकार सुनिश्चित गरेको छ ।
नेपालले संयुक्त राष्ट्रसंघीय बाल अधिकारसम्बन्धी महासन्धिमा सन् १९९० मा हस्ताक्षर गरेको थियो । बाल अधिकार महासन्धि पारित भएपछि बालबालिकाहरूको अधिकार संरक्षणका लागि विश्वव्यापी सुनिश्चितता प्राप्त भएको थियो । बाल अधिकार महासन्धिमा जम्मा ५२ वटा धारा छन् । जसमध्ये धारा १ देखि ४० सम्म बालबालिकाहरूको कल्याणकारी संरक्षणका प्रावधानहरु उल्लेख गरिएको छ ।
धारा ४० सम्मका सवै प्रावधानलाई बाल बचाऊ, बाल संरक्षण, बाल विकास र बाल सहभागिता गरी चारवटा छुट्टाछुट्टै खण्डमा विभाजन गरिएको छ ।
बाल अधिकार महासन्धिका प्रावधानहरुलाई कार्यन्वयन गर्न हस्ताक्षरकर्ता पक्ष राष्ट्रले आफ्नो देशमा बाल अधिकार संरक्षण सम्बन्धि कानुन बनाई लागू गर्नुपर्ने हुन्छ ।
नेपालले बाल अधिकारसम्बन्धी महासन्धिमा हस्ताक्षर गरेर आफ्नो प्रतिबद्धता पूरा गरेपनि बाल अधिकारको अवस्थामा भने सोचेजस्तो परिवर्तन देखाउन सकेको छैन ।
विद्यालय जाने उमेर पुगेका धेरै बालबालिकाहरु अझै पनि विद्यालयको पहुँचमा छैनन् । गर्भवती महिलाहरुले असुरक्षित रुपमा सुत्केरी हुनु पर्ने बाध्यताका कारण बर्षेनी लाखौं नवजात शिशुले अकालमा ज्यान गुमाइरहेका छन् । विद्यालय शान्ति क्षेत्र हो भने पनि कसैले पनि यस प्रतिवद्धता कार्यन्वयनका आफ्नो जिम्मेवारी र दायित्व पुरा गरेका छैनन् । बाल अधिकार सुनिश्चितताका लागि राज्यलगायत सबै क्षेत्रलाइ गम्भीर बनाउन सकियो भने अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको सान्दर्भिकता हुनेछ







प्रतिक्रिया दिनुहोस्