
काठमाडौं, ५ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत भएको छ ।
नेकपा केन्द्रीय सचिवालयको सोमबार बसेको बैठकले प्रवक्ताबाट श्रेष्ठले पदबाट दिएको राजीनामा अस्विकृत गरेको हो ।
डा. गोविन्द केसीको अनसन प्रकरण र त्यसपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गरेका कतिपय निर्णयमा नीतिगत असहमति जनाउँदै श्रेष्ठले यसअघि सचिवालय समक्ष राजीनामा दिएका थिए ।
प्रदेश इञ्चार्ज तोक्ने निर्णय सदर
अघिल्लो सचिवालय बैठकले सात प्रदेशका इञ्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको निर्णयमा माधव नेपालले लिखित असहमति जनाएका थिए । उनले सो निर्णय फिर्ता लिनुपर्ने र मापदण्ड बनाएर सच्याउनुपर्ने प्रस्ताव राखेका थिए । तर, आइतबार र सोमबार बसेको बैठकले प्रदेश कमिटी गठनसम्बन्धी निर्णयलाई भने उल्ट्याएन ।
माधव नेपालले राखेको लिखित प्रस्तावमा गम्भीर छलफल भएको र आगामी दिनहरुमा कमजोरी सच्याउने प्रतिबद्धता आएको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
पार्टीका विभिन्न कमिटीहरुको एकीकरण र जनवर्गीय संगठनहरुको एकताबारे छलफल गर्न बुधबार सचिवालयको बैठक पुनः बस्ने भएको छ ।







प्रतिक्रिया दिनुहोस्